प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अगस्त pp. ३-६
  • तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं अनौपचारिक साक्षी दिन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • अनौपचारिक साक्षी दिएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
  • हामी हर समय साक्षी हौं
    हाम्रो राज्य सेवकाई—२०१०
  • “विस्तृत साक्षी दिन” लगनशील हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 अगस्त pp. ३-६

तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!

१. (क) अनौपचारिक साक्षी भनेको के हो? (ख) यहाँ उपस्थितहरूमध्ये कति जनाले अनौपचारिक साक्षीद्वारा सबैभन्दा पहिला सच्चाइबारे सुने?

१ तपाईंको मण्डलीका कति जनाले सुरुमा सच्चाइबारे अनौपचारिक साक्षीद्वारा सुने? यसको जवाफ सुनेर तपाईं छक्कै पर्नुहोला। अनौपचारिक साक्षी दिनुमा हामीले आफ्नो दिनचर्यामा भेट्‌ने मानिसहरूलाई सुसमाचार सुनाउनु समावेश छ। जस्तै: यात्रा गर्दा, नातेदार वा छिमेकीहरूलाई भेट्‌न जाँदा वा किनमेल गर्न जाँदा साथै स्कूलमा वा काममा जाँदा आदि। दुई सयभन्दा धेरै बप्तिस्माप्राप्त साक्षीहरू भएको एउटा समूहमा ४० प्रतिशतले अनौपचारिक साक्षीद्वारा सबैभन्दा पहिला सच्चाइबारे सुनेका थिए! त्यसैकारण प्रचार गर्ने यो तरिका एकदमै प्रभावकारी छ।

२. बाइबलमा अनौपचारिक साक्षी दिएका कस्ता उदाहरणहरू पाइन्छन्‌?

२ प्रथम शताब्दीका प्रचारकहरूले अक्सर अनौपचारिक साक्षी दिने गर्थे। उदाहरणका लागि, सामरिया हुँदै यात्रा गर्दा येशूले याकूबको इनारमा पानी भर्दै गरेकी एउटी आइमाईलाई साक्षी दिनुभयो। (यूह. ४:६-२६) फिलिपले यशैयाको पुस्तक पढिरहेका एथियोपियाका एक नपुंसकलाई “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?” भन्‍ने प्रश्‍न गरेर कुराकानी सुरु गरे। (प्रेरि. ८:२६-३८) फिलिप्पीमा कैदी बनाइँदा प्रेरित पावलले त्यस झ्यालखानाका हाकिमलाई साक्षी दिए। (प्रेरि. १६:२३-३४) पछि आफ्नै डेरामा नजरबन्दमा राखिंदा पावल “आफूकहाँ आउनेजति सबैलाई न्यानो स्वागत गर्थे अनि उनीहरूलाई परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्थे र . . . प्रभु येशू ख्रीष्टको विषयमा . . . सिकाउँथे।” (प्रेरि. २८:३०, ३१) तपाईं पनि अनौपचारिक साक्षी दिन सक्नुहुन्छ, चाहे तपाईं लजालु स्वभावको नै किन नहोस्‌। कसरी?

३. लजालुपन हटाउन हामीलाई केले मदत गर्न सक्छ?

३ सुरु गर्नुहोस्‌: हामीमध्ये धेरैलाई नचिनेका व्यक्‍तिहरूसित कुराकानी सुरु गर्न गाह्रो लाग्छ। आफूले चिनेजानेका व्यक्‍तिहरूसित समेत सच्चाइको कुरा गर्न अलि अप्ठ्‌यारो हुन सक्छ। तर यहोवाको भलाइ, उहाँले आफ्ना सेवकहरूलाई दिनुभएको अनमोल सत्य र संसारका मानिसहरूको दुर्गति विचार गऱ्‍यौं भने बोल्न उत्प्रेरित हुनेछौं। (योना ४:११; भज. ४०:५; मत्ती १३:५२) यसबाहेक ‘निर्भयी’ हुन यहोवालाई पुकार्न सक्छौं। (१ थिस्स. २:२) गिलियड स्कूल गएका एक विद्यार्थीले भने: “मानिसहरूसित कुरा गर्न गाह्रो हुँदा अक्सर प्रार्थना गर्नु मदतकारी भएको मैले पाएको छु।” कुरा गर्न हिचकिचाउनुहुन्छ भने मनमनै छोटो प्रार्थना गर्नुहोस्‌।—नहे. २:४.

४. सुरुमा हामी आफ्नो लागि कस्तो लक्ष्य राख्न सक्छौं र किन?

४ अनौपचारिक साक्षी भन्‍ने पदावलीबाटै कुराकानी औपचारिक परिचय वा शास्त्रपदबाट सुरु गर्नुपर्दैन भनेर बुझ्न सक्छौं। सोझै साक्षी दिनुपर्छ भन्‍ने महसुस नगरीकनै कुराकानी सुरु गर्ने लक्ष्य राख्नु मदतकारी हुन सक्छ। यसो गर्दा अन्ततः सुसमाचार सुनाउन आफू विश्‍वस्त हुन सकेको थुप्रै प्रकाशकहरूले बताएका छन्‌। आफूले कुरा गरेको व्यक्‍ति थप कुराकानी गर्न इच्छुक छैनन्‌ भने जबरजस्ती गर्नु आवश्‍यक छैन। शिष्टतासाथ कुराकानी टुङ्‌ग्याउनुहोस्‌ र आफ्नो बाटो लाग्नुहोस्‌।

५. एक लजालु बहिनीले कसरी अनौपचारिक साक्षी दिन सकेकी छिन्‌?

५ बजारमा किनमेल गर्न जाँदा एक लजालु बहिनी सुरुमा अरूको आँखामा हेर्छिन्‌ र मित्रैलो तरिकामा मुसुक्क हाँस्छिन्‌। ती व्यक्‍ति पनि हाँसेको खण्डमा तिनले छोटो टिप्पणी गर्छिन्‌। ती व्यक्‍तिको प्रतिक्रिया सकारात्मक भएमा तिनी कुराकानीलाई अगाडि बढाउन विश्‍वस्त हुन्छिन्‌। तिनी ध्यान दिएर सुन्छिन्‌ र उक्‍त व्यक्‍तिलाई सुसमाचारको कुनचाहिं पक्ष आकर्षक लाग्नेछ पत्ता लगाउने कोसिस गर्छिन्‌। यो तरिका अपनाएर तिनले थुप्रै साहित्य वितरण गरेकी छिन्‌। साथै एउटा बाइबल अध्ययनसमेत सुरु गरेकी छिन्‌।

६. अनौपचारिक अवस्थामा हामी कसरी कुराकानी सुरु गर्न सक्छौं?

६ कुराकानी सुरु गर्नुहोस्‌: हामी कसरी कुराकानी सुरुआत गर्न सक्छौं? येशूले इनारमा ती आइमाईसित मलाई पानी पिउन देऊ भन्‍ने आग्रह गरेर कुराकानी सुरु गर्नुभयो। (यूह. ४:७) त्यसैगरि सायद हामीले पनि मित्रैलो अभिवादन वा प्रश्‍न गरेर कुराकानी सुरु गर्न सक्छौं। कुराकानीको क्रममा तपाईंले बाइबलको कुनै एउटा कुरा निकाल्ने र सायद सत्यको बीउ छर्ने मौका पाउन सक्नुहुन्छ। (उप. ११:६) के-कस्तो भनी बुझ्न चाहने कौतूहल जाग्नेगरि कुनै एउटा चाखलाग्दो कुरा निकाल्दा कसै-कसैले सफलता हासिल गरेका छन्‌। उदाहरणका लागि, डाक्टरकहाँ पालो पर्खंदै गर्दा “कहिल्यै बिरामी नपर्ने समय आउँदा म दंग पर्नेछु” भनेर तपाईं कुरा सुरु गर्न सक्नुहुन्छ।

७. आफू वरपरको परिस्थितिलाई याद गर्दा कसरी अनौपचारिक साक्षी दिन सकिन्छ?

७ आफू वरपरको परिस्थितिलाई याद गर्दा पनि कुराकानी सुरु गर्न मदत पाउनेछौं। आफ्नो साथमा ल्याएका छोराछोरीको आनीबानी राम्रो भएको याद गऱ्‍यौं भने ती आमाबाबुको प्रशंसा गर्दै हामी यस्तो सोध्न सक्छौं, “तपाईं कसरी सफल आमाबाबु बन्‍न सक्नुभयो?” एक बहिनी आफ्ना सहकर्मीहरूले के-कस्तो विषयमा कुरा गर्छन्‌, त्यो याद गर्छिन्‌ र तिनीहरूलाई जुन विषयमा चासो लाग्छ त्यसै विषयमा कुरा गर्छिन्‌। आफ्नो एक सहकर्मीको विवाह हुन लागेको कुरा थाह पाएपछि तिनले विवाह समारोहको योजना कसरी बनाउने भन्‍नेबारे चर्चा गरिएको अवेक! उनलाई दिइन्‌। यसले गर्दा थप बाइबल छलफल गर्न सकियो।

८. कुराकानी सुरु गर्न हामी कसरी हाम्रा साहित्यहरू प्रयोग गर्न सक्छौं?

८ कुराकानी सुरु गर्ने अर्को तरिका हो, अरूले देख्नेगरि हाम्रा साहित्यहरू पढ्‌नु। एक जना भाइ प्रहरीधरहरा वा अवेक!-मा चासो जगाउने शीर्षक भएको लेख पल्टाएर पढ्‌छन्‌। कसैले आफूले पढिरहेको पत्रिकामा हेरेको याद भएमा लेखबारे तिनी एउटा प्रश्‍न वा छोटो टिप्पणी गर्छन्‌। यसो गर्दा अक्सर कुराकानी सुरु गर्न र साक्षी दिन बाटो खुल्छ। अरूले देख्न सक्ने ठाउँमा हाम्रा प्रकाशनहरू छोड्‌दा पनि सहकर्मी वा सहपाठीहरूको चासो जाग्न सक्छ र उनीहरूलाई प्रश्‍न सोध्न लगाउन सक्छ।

९, १०. (क) अनौपचारिक साक्षी दिन हामी कसरी मौका निकाल्न सक्छौं? (ख) तपाईंले यो कसरी गर्न सक्नुभएको छ?

९ अनौपचारिक साक्षी दिन मौका निकाल्नुहोस्‌: प्रचारकार्य अहिल्यै गरिहाल्नुपर्ने काम हो। त्यसैले मौका आएमा अनौपचारिक साक्षी देऔंला नि भन्‍ने सोचाइ राख्नुहुन्‍न। बरु आफ्नो दिनचर्यामा लाग्दा साक्षी दिन हामीले मौका निकाल्ने प्रयास गर्नुपर्छ। आफूले भेट्‌न सक्ने मानिसहरूबारे पहिल्यै सोच्नुका साथै तिनीहरूसँग कसरी मित्रैलो कुराकानी गर्न सकिन्छ विचार गर्नुहोस्‌। बाइबलका साथसाथै चासो देखाउनेहरूलाई दिन सक्ने प्रकाशनहरू आफ्नो साथमा राख्नुहोस्‌।—१ पत्रु. ३:१५.

१० चतुरता अपनाएर थुप्रै प्रकाशकले विभिन्‍न तरिकामा अनौपचारिक साक्षी दिन मौका निकाल्न सकेका छन्‌। कडा सुरक्षा व्यवस्था भएको अपार्टमेन्ट भवनमा बस्ने एउटी बहिनी टुक्रा-टुक्रा मिलाएर खेल्ने एकप्रकारको खेल अर्थात्‌ जिग्सः पजल त्यस भवनको मनोरञ्जन केन्द्रमा बसेर खेल्छिन्‌ र तिनी सुन्दर प्राकृतिक दृश्‍य भएका पजल मिलाउने गर्छिन्‌। मानिसहरूले त्यो देखेर कति राम्रो दृश्‍य भनेर टिप्पणी गर्दा तिनी मौकाको सदुपयोग गर्दै कुराकानी सुरु गर्छिन्‌ अनि “नयाँ आकाश र नयाँ पृथ्वी”-को बाइबलको प्रतिज्ञाबारे तिनीहरूलाई बताउँछिन्‌। (प्रका. २१:१-४) अनौपचारिक साक्षी दिन तपाईं के-कस्ता मौका निकाल्न सक्नुहुन्छ?

११. अनौपचारिक साक्षी दिंदा चासो देखाएकाहरूलाई हामी फेरि कसरी भेट्‌न सक्छौं?

११ चासो देखाउनेहरूलाई फेरि भेट्‌नुहोस्‌: चासो देखाएका मानिसलाई फेरि भेट्‌ने प्रयास गर्नुहोस्‌। उपयुक्‍त छ भने तपाईं ती व्यक्‍तिलाई यसो भन्‍न सक्नुहुन्छ: “तपाईंसँग कुरा गर्न पाउँदा मलाई एकदमै खुसी लागेको छ। फेरि कुरा गर्न तपाईंलाई कहाँ भेट्‌न सकिएला?” केही प्रकाशकहरू आफ्नो ठेगाना र फोन नम्बर दिंदै यसो भन्छन्‌: “तपाईंसित कुरा गर्दा रमाइलो लाग्यो। हामीले छलफल गरेको कुराबारे तपाईं थप जान्‍न चाहनुहुन्छ भने मलाई यहाँ सम्पर्क गर्न सक्नुहुन्छ।” चासो देखाएका व्यक्‍तिलाई तपाईं आफैले भेट्‌न सक्नुहुन्‍न भने आफ्नो मण्डलीको सचिवलाई प्लिज फलो अप (S-43) फाराम भरेर तुरुन्तै बुझाउनुहोस्‌। यसो गर्दा ती व्यक्‍ति बस्ने इलाका नजिकको मण्डलीले तिनलाई भेट्‌न जान सक्नेछन्‌।

१२. (क) अनौपचारिक साक्षी दिएको समयको रेकर्ड राखेर त्यसको रिपोर्ट दिनुपर्छ, किन? (ख) अनौपचारिक साक्षी दिंदा कस्ता नतिजाहरू प्राप्त भएका छन्‌? (“अनौपचारिक साक्षी दिंदा नतिजा प्राप्त हुन्छन्‌!” भन्‍ने पेटी हेर्नुहोस्‌)

१२ अनौपचारिक साक्षी दिएको समय पनि हामीले आफ्नो रिपोर्टमा समावेश गर्नुपर्छ। त्यसैले दिनमा केही मिनेट मात्र कुरा गरेको भए तापनि रेकर्ड राख्न बिर्सनुहुँदैन। यो कुरा विचार गर्नुहोस्‌: प्रत्येक प्रकाशकले हरेक दिन पाँच मिनेट अनौपचारिक साक्षी दिएको खण्डमा त्यो समयलाई जोड्‌दा प्रत्येक महिना एक करोड सत्तरी लाखभन्दा धेरै घण्टा हुन आउँछ!

१३. अनौपचारिक साक्षी दिन हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ?

१३ अनौपचारिक साक्षी दिन हामीसित सबैभन्दा असल कारणहरू छन्‌—परमेश्‍वर र छिमेकीप्रतिको प्रेम। (मत्ती २२:३७-३९) यहोवाका गुणहरू र उदेश्‍यहरूप्रति कृतज्ञताले ओतप्रोत भएको हृदयले हामीलाई “उहाँका राज्यको शाही महिमा”-बारे बोल्न उत्प्रेरित गर्छ। (भज. १४५:७, १०-१२) छिमेकीप्रतिको साँचो चासोले हामीलाई समय छँदै सुसमाचार सुनाउने हर अवसरको फाइदा उठाउन उत्प्रेरित गर्छ। (रोमी १०:१३, १४) अलिकति सोचविचार र तयारी गर्दा हामी प्रत्येकले अनौपचारिक साक्षी दिन सक्छौं र सायद इमानदार हृदय भएकाहरूलाई सच्चाइसित परिचित गराउने आनन्दको अनुभव गर्न सक्छौं।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

मानिसहरूलाई भेटेर कुराकानी सुरु गर्ने लक्ष्य राख्नु मदतकारी हुन सक्छ

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

चतुरता अपनाएर थुप्रै प्रकाशकले विभिन्‍न तरिकामा अनौपचारिक साक्षी दिन मौका निकाल्न सकेका छन्‌

[पृष्ठ ५-मा भएको पेटी]

कुराकानी सुरु गर्नका लागि सुझावहरू

◼ सुरु गर्नका लागि प्रार्थनामा मदत माग्नुहोस्‌

◼ मित्रैलो र हतारमा नभएजस्तो देखिने व्यक्‍तिहरूलाई छान्‍नुहोस्‌

◼ आँखामा हेर्नुहोस्‌, मुसुक्क हाँस्नुहोस्‌ र दुवैलाई चासो लाग्ने कुनै विषयमा टिप्पणी गर्नुहोस्‌

◼ राम्रोसित सुन्‍ने गर्नुहोस्‌

[पृष्ठ ६-मा भएको पेटी]

अनौपचारिक साक्षी दिंदा नतिजा प्राप्त हुन्छन्‌!

• गाडी मर्मत गर्ने ठाउँमा आफ्नो पालो कुरिरहँदा एक जना भाइले आफूसँगै भएका मानिसहरूलाई प्रचार गरे र अधिवेशनमा दिइने जनभाषणको लागि निम्तो दिंदै तिनीहरूलाई हातेपर्ची दिए। त्यसको एक वर्षपछि भएको अधिवेशनमा तिनलाई एक जना नचिनेको भाइले न्यानो अभिवादन गरे। ती व्यक्‍ति तिनले एक वर्षअगाडि गाडी मर्मत गर्ने ठाउँमा हातेपर्ची दिएकाहरूमध्ये थिए! ती व्यक्‍ति जनभाषण सुन्‍न गएछन्‌ र बाइबल अध्ययनको लागि आफ्नो नाम दिएछन्‌। तिनी तथा तिनकी श्रीमतीले अहिले बप्तिस्मा लिइसकेका रहेछन्‌।

• अनौपचारिक साक्षीद्वारा सच्चाइ सिकेकी एक बहिनी आफ्ना तीन छोराछोरीमार्फत भेट्‌ने मानिसहरूलाई आफ्नो विशेष इलाकाको रूपमा लिन्छिन्‌। तिनको इलाकामा स्कूलमा र आमाबाबुसँगको भेटघाट कार्यक्रममा आउने छिमेकीहरू र आमाबाबुहरू पर्छन्‌। आफ्नो परिचय दिंदा सधैं तिनी आफ्नो छोराछोरी हुर्काउन बाइबल एउटा अनमोल मदत साबित भएको छ भनेर सरल तर मन छुने कुरा बताउँछिन्‌। अनि त्यसपछि अरू कुनै विषयमा कुराकानी सुरु गर्छिन्‌। कुराकानी सुरु गरिसकेकोले अन्ततः बाइबलको कुरा निकाल्न तिनलाई धेरै सजिलो लाग्छ। यो तरिका अपनाएर तिनले १२ जनालाई बप्तिस्मासम्म पुग्न मदत गरेकी छिन्‌।

• एक जना बहिनीलाई बिमा कम्पनीको एक प्रतिनिधिले भेट्‌न आउँदा तिनले साक्षी दिने मौका छोपिन्‌। सुस्वास्थ्य, आनन्द र अनन्त जीवनको ग्यारेन्टी दिएको के उनी चाहन्छन्‌ भनेर ती बहिनीले सोधिन्‌। चाहन्छु भनेर जवाफ दिंदै कुन प्रकारको बिमाबारे ती बहिनीले कुरा गरिरहेकी छिन्‌ भनेर उनले सोधे। त्यसपछि बहिनीले बाइबलको प्रतिज्ञा देखाइन्‌ र हाम्रो एउटा प्रकाशन प्रस्तुत गरिन्‌ जुन ती व्यक्‍तिले एकै साँझमा पढिसिध्याए। बाइबल अध्ययनको लागि प्रबन्ध मिलाइयो। उनले सभाहरू धाउन थाले र पछि बप्तिस्मा लिए।

• हवाईजहाजमा यात्रा गर्दा एक बहिनी आफूसँगै बसेका एक स्त्रीसित कुरा गर्न थालिन्‌ र तिनलाई साक्षी दिन पनि सफल भइन्‌। आफ्नो उडानको अन्ततिर उक्‍त बहिनीले ती स्त्रीलाई आफ्नो ठेगाना र फोन नम्बर दिइन्‌ अनि अर्कोचोटि यहोवाका साक्षीहरू तिनलाई भेट्‌न आउँदा बाइबल अध्ययनको लागि भन्‍न प्रोत्साहन दिइन्‌। त्यसको भोलिपल्टै ती स्त्रीको घरमा दुई साक्षीहरू प्रचार गर्न आए। ती स्त्रीले बाइबल अध्ययन गर्न थालिन्‌, छिटोछिटो प्रगति गरिन्‌, बप्तिस्मा लिइन्‌ र चाँडै आफैले तीनवटा बाइबल अध्ययन सञ्चालन गर्न थालिन्‌।

• वृद्धहरूको हेरचाह गर्ने नर्सिङ होममा बस्ने १०० वर्षका एक दृष्टिविहीन भाइ अक्सर यसो भन्‍ने गर्छन्‌, “हामीलाई परमेश्‍वरको राज्य चाहिन्छ।” तिनको यो कुरा सुनेर त्यहाँका नर्स र अन्य बिरामीहरूले प्रश्‍न सोध्ने गर्छन्‌ जसले गर्दा परमेश्‍वरको राज्य के हो भनेर बुझाउने मौका तिनले पाउँछन्‌। त्यहाँ काम गर्ने एउटी स्त्रीले प्रमोदवनमा तिनी के गर्नेछन्‌ भनेर तिनी सोधिन्‌। तिनले यस्तो जवाफ दिए, “म फेरि देख्न र हिंड्‌न सक्नेछु र म मेरो ह्वीलचेयर जलाइदिनेछु।” आफूले देख्न नसक्ने भएकोले तिनी उक्‍त स्त्रीलाई हाम्रा पत्रिकाहरू पढेर सुनाइदिन आग्रह गर्छन्‌। यी भाइकी छोरी तिनलाई भेट्‌न आउँदा ती स्त्रीले पत्रिकाहरू घर लगेर पढ्‌न अनुमति मागिन्‌। एक जना नर्सले उक्‍त छोरीलाई यसो भनिन्‌, “हाम्रो नर्सिङ होमको एउटा नयाँ विषय छ: ‘हामीलाई परमेश्‍वरको राज्य चाहिन्छ।’”

• रेस्टुराँमा लाइनमा कुरिरहेकी एक बहिनीले सँगै बसिरहेका वृद्ध पुरुषहरूको एउटा समूहले राजनीतिबारे कुरा गरिरहेको सुनिन्‌। तीमध्ये एक जनाले हाम्रा समस्याहरू सरकारले समाधान गर्नै सक्दैन भनेर बताए। ती बहिनीले मनमनै ‘मौका यही हो’ भनिन्‌। तिनले छोटो प्रार्थना गरिन्‌ र तिनीहरू भएको ठाउँमा गइन्‌। आफ्नो परिचय दिइसकेपछि तिनले मानिसजातिका समस्याहरूको समाधान गर्ने एउटा सरकार अर्थात्‌ परमेश्‍वरको राज्यबारे बताइन्‌ र आफूसँग भएको एउटा पुस्तिका दिइन्‌। त्यति नै बेला रेस्टुराँका म्यानेजर त्यहाँ आइपुगे। ती बहिनीले भन्ठानिन्‌, तिनलाई त्यहाँबाट जान भन्‍न आएका होलान्‌। त्यसको सट्टा तिनले हाम्रो कुराकानी सुनेको बताए र आफ्नो लागि पनि एउटा पुस्तिका मागे। त्यहाँ काम गर्ने एक व्यक्‍ति जसले कुराकानी सुनिरहेकी थिइन्‌, तिनी आँसु बगाउँदै आइन्‌। ती स्त्रीले पहिला बाइबल अध्ययन गरेकी थिइन्‌ र फेरि सुरु गर्न चाहन्थिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने