मण्डलीका सभाहरूका लागि तयारी गर्नुहोस् र त्यसबाट आनन्द उठाउनुहोस्
१ भाइहरूसित संगतिमा रहन हामी बुद्धिमानीपूर्वक नियमित तवरले साप्ताहिक सभाहरूमा भेला हुन्छौं। (१ तिमो. ४:१५, १६) हामीले यी सभाहरूबाट आनन्द र भरपूर लाभ कसरी उठाउनसक्छौं?
२ सभाहरूका लागि तयारी गर्न नियमित तवरमा समय छुटाउनुपर्छ। केहीले तयारी गर्न अरूले भन्दा धेरै समय खर्च गर्नसक्छन्। तथापि, हामी जतिसुकै व्यस्त भए तापनि सभाहरूका लागि तयारी गर्न समय मिलाउनु बुद्धिमानी हो। पारिवारिक रूपमा एकसाथ तयारी गर्नु विशेषगरि लाभदायक हुन्छ।—एफि. ५:१५, १६.
३ ईश्वरतान्त्रिक सेवकाई पाठशालाको लागि: साप्ताहिक बाइबल अध्ययन तालिकाअनुसार पढ्ने यत्न गर्नुहोस्। (यहो. १:८) सभामा छलफल गरिने विषयवस्तु पुनरावलोकन गर्नुहोस् र वक्ताहरूले भन्ने कुरा पछ्याउन आवश्यक प्रकाशनहरू पनि ल्याउनुहोस्। प्राप्त जानकारीलाई सेवकाईमा कसरी प्रयोग गर्न सकिन्छ, त्यसबारे विचार गर्नुहोस्।
४ सेवा सभाको लागि: हाम्रो राज्य सेवकाई-मा दिइएको कार्यक्रम हेर्नुहोस्। छलफल गरिने लेखहरू पढ्नुहोस्। प्रहरीधरहरा-को कुनै लेख वा अन्य प्रकाशनहरू विचारविमर्श गरिनेछन् भने त्यसलाई पनि खोजेर पढ्नुहोस्। क्षेत्र सेवकाईमा प्रयोग हुने प्रस्तुतिहरू प्रदर्शन गरिनेछन् भने अग्रिम पुनरावलोकन गर्नुहोस्। यसो गर्दा ती प्रस्तुतिहरूलाई आफ्नो सेवकाईमा प्रयोग गर्न तपाईं तयार हुनुहुनेछ।
५ प्रहरीधरहरा अध्ययनको लागि: प्रश्नको उत्तरमा चिन्ह लाउँदै पाठ पहिले नै पढ्नुहोस्। उद्धरित शास्त्रपदहरू हेर्नुभयो भने राम्ररी बुझ्नुहुनेछ। तपाईंले पहिल्यै थाह पाइसक्नुभएको कुराहरूसित यो पाठ कसरी मेल खान्छ, मनन गर्नुभएमा तपाईंको ज्ञान अझ बढ्नेछ। कम्तीमा एक दुइटा अनुच्छेदहरूको छोटो टिप्पणीहरू तयारी गरेर अध्ययनमा भाग लिने योजना गर्नुहोस्। “हाम्रो आशाको आमघोषणा” गर्ने यो एउटा महत्त्वपूर्ण तरिका हो।—हिब्रू १०:२३, न्युव.
६ मण्डली पुस्तक अध्ययनको लागि: सर्वप्रथम विषयवस्तु सरसरती हेर्नुहोस्। अध्यायको शीर्षक र उपशीर्षकहरूलाई विचार गर्नुहोस्। अनि पढ्दै जाँदा मुख्य बुँदाहरू खोज्नुहोस्। बाइबलका सहायक पदहरू पुनरावलोकन गर्नुहोस्। प्रश्नको जवाफ आफ्नै शब्दमा दिने प्रयास गर्नुहोस्। पाठ तयार गरिसक्नुभएपछि मनमनै सम्झनुहोस्। मुख्य बुँदा तथा तर्क गर्न सकिने कुराहरू सम्झने कोसिस गर्नुहोस्।—२ तिमो. २:१५.
७ सभाहरूबाट आनन्द उठाउनुहोस्: सभाहरूबाट पूर्णतया आनन्द उठाउन सभा सुरु हुनुअगावै आइपुगेर यहोवाको आत्मा माग्न प्रारम्भिक प्रार्थनामा भाग लिनु महत्त्वपूर्ण छ। तपाईंले स्फूर्तिदायी राज्य भजनहरूबाट पनि लाभ उठाउन सक्नुहुन्छ। तपाईंका स-साना बच्चाहरू छैनन् वा अन्य केही कारणले गर्दा भवनको पछाडि बस्नु पर्दैन भने अघिल्तिर बस्नु बेस हुनेछ। त्यसो गर्दा शान्तपूर्वक कार्यक्रमबाट भरपूर लाभ उठाउन सक्नुहुनेछ। स-साना बच्चाहरूलाई सभा भइरहेको बेला बाहिर लानुपर्ने भएकोले अरूको ध्यान भंग नगर्न आमाबाबुहरू भवनको पछिल्तिर वा बाटो छेउका कुर्सीहरूमा बस्नसक्छन्।
८ सभाको दौडान पढिने शास्त्रपदहरू पल्टाएर हेर्ने प्रयास गर्नुहोस्। यसो गर्नुभयो भने सुन्नुहुने कुराहरू सम्झन तपाईंलाई मदत पुग्नेछ। तपाईंले सिक्नुभएका कुराहरू आफ्नो परिवार र साथीहरूलाई सुनाउने गर्नुभयो भने त्यो जानकारीले तपाईंको मनमा अमेट छाप पार्नेछ। यी सुझावहरूलाई प्रयोग गरेको खण्डमा सभाहरू अझै अर्थपूर्ण तथा रमाइलो हुनेछन् र ती सभाहरूले हामीलाई “प्रेम र सुकर्ममा उत्तेजित गर्नेछ।”—हिब्रू १०:२४, २५.