सभाहरूले जवान मानिसहरूलाई फाइदा पुऱ्याउँछन्
१ एउटी किशोरीले यसो भनिन्: “मलाई लाग्छ, कहिलेकाहीं जवान मानिसहरूको जीवन निकै कठिन हुन्छ। हामी यस्तो मानिसहरूका बीचमा बाँचिरहेका छौं, जसले व्यभिचार गर्छन्, लागूऔषध सेवन गर्छन् र अत्याधिक मद्यपान गर्छन्।” के तपाईंले पनि त्यस्तै महसुस गर्नु भएको छ? यदि गर्नुभएको छ भने, तपाईंलाई यस्ता खराब प्रभावहरू विरुद्ध लड्न केले मदत दिन्छजस्तो लाग्छ? सर्वप्रथम त, तपाईंसँग विश्वास हुनुपर्छ, यहोवाको मार्ग सही छ भन्ने बलियो विश्वास। किनकि बिना विश्वास “उहाँलाई रिझाउन असम्भव छ।” (हिब्रू ११:६) सभाहरूमा उपस्थित हुनुभयो भने, त्यसले तपाईंको मसीही अडान बलियो बनाउनुका साथसाथै खराब कुराबाट टाढा रहने तपाईंको संकल्पलाई अझ सुदृढ बनाउनेछ।
२ सभाहरूले तपाईंलाई धेरै कुरा दिन्छन्: मिल्ने साथीहरू सँगै बसेर स्वादिष्ट भोजन खाँदा कुन कुराले त्यस अवसरलाई रमाइलो बनाउँछ? के त्यो तनाउमुक्त वातावरणमा तपाईंले पाइरहनुभएको स्वस्थकर भोजन र आनन्ददायी संगति होइन र? हाम्रा सभाहरूले पनि त्यस्तै आनन्द दिन्छ तर आध्यात्मिक तवरमा।
३ सभाहरूमा, दिनहुँ सामना गर्नु पर्ने समस्याहरूदेखि लिएर बाइबलका रोमाञ्चक भविष्यवाणीहरूसम्मका विभिन्न उत्थानदायी विषयहरूबारे छलफल गरिन्छन्। सभामा, उत्कृष्ट जीवन यापन गर्ने तरिका र जीवनमा आइपर्ने चुनौतीहरू सामना गर्न सिकाउने व्यावहारिक निर्देशनहरू प्रस्तुत गरिन्छ। सभाहरूमा पाइने संगति सबैभन्दा उत्तम हुनुका साथै त्यहाँको आध्यात्मिक वातावरण रमाइलो अनि सुरक्षित हुन्छ। (भज. १३३:१) त्यसैकारण, एक किशोरीले यसो भनिन्: “म दिनभरि स्कूलमा हुन्छु र त्यसले मलाई थकाउँछ। तर सभाहरू मलाई उजाड मरुभूमी बीचको मरुउद्यानझैं लाग्छ जहाँबाट म अर्को दिन स्कूल जाने फेरि नयाँ जोस पाउँछु।” अर्की किशोरीले यसो भनिन्: “मैले यहोवालाई प्रेम गर्ने व्यक्तिहरूको घनिष्ठ संगति पाएको छु। यसले मलाई उहाँसँग अझै घनिष्ठ हुन मदत गर्छ।”
४ ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भर्ना भएर तपाईंले बाइबलसम्बन्धी जानकारीहरू जम्मा गर्न, ती जानकारीहरूलाई भाषणमा समेट्न अनि राज्य भवनका दर्शकहरूसामु त्यसलाई कुराकानीको शैलीमा प्रस्तुत गर्न सक्नुहुन्छ। कल्पना गर्नुहोस्, परमेश्वरको वचनमा निहित जीवन बचाउने सच्चाइ कौशलतापूर्वक अरूलाई सिकाउने तरिकाबारे प्रशिक्षण पाउँदा तपाईंले कत्ति फाइदा उठाउन सक्नुहुनेछ! जवान मानिसहरूले त्यस्तो बहुमूल्य प्रशिक्षण पाउन सक्ने अरू कुनै स्रोत छ र?
५ सभाहरूबाट कसरी अझ धेरै लाभ उठाउने: सभाहरूबाट अझ लाभ उठाउनुमा तीनवटा महत्त्वपूर्ण कुराहरू बिथोलित छन्। ती हुन्, तयारी गर्नु, भाग लिनु र त्यसलाई व्यवहारमा उतार्नु।
६ तयारी गर्नुहोस्: नियमित तवरमा सभाहरूको तयारी गर्न तालिका बनाउनुहोस्। स्कूलको काम, सानोतिनो जागिर र आफ्ना व्यक्तिगत रुचिका क्रियाकलापले प्रत्येक सभाहरूमा गरिने छलफलहरूको अग्रिम पुनरावृत्ति गर्ने तपाईंको समय कहिल्यै नचोरोस्। यस सन्दर्भमा तपाईंले राम्रो तालिका बनाउनुभए मदतकारी साबित हुनेछ। सर्वप्रथम त, ईश्वरतान्त्रिक सेवकाई स्कूलको हप्तावारी बाइबल पढाइको तालिकालाई कायम राख्नुहोस्। जिम्मा दिइएको बाइबलका अध्यायहरू हरेक दिन पढ्न र मनन गर्न केही मिनेट मात्र लाग्छ। मण्डली पुस्तक अध्ययन र प्रहरीधरहरा अध्ययनको तयारीका लागि पनि केही समय छुट्याउनुहोस्। कसैले सभाहरू हुने दिनभन्दा एक वा दुई दिनअगाडि नै तयारी गर्ने गर्छन्। सम्भव भएसम्म, सेवा सभाको लागि पनि हरेक हप्ता त्यसरी नै तयारी गर्नुहोस्।
७ भाग लिनुहोस्: १२ वर्षको उमेरमा येशूलाई मन्दिरमा सुन्दै, सोद्धै र जवाफ दिइरहनुभएको भेट्टाइयो भनी बाइबल बताउँछ। (लूका २:४६, ४७) अर्को शब्दमा भन्ने हो भने, उहाँ त्यसमा पूर्णतया व्यस्त हुनुहुन्थ्यो। यदि तपाईंले पनि सभाहरूमा भाग लिन मेहनत गर्नु भयो भने, धेरै लाभ उठाउन सक्नुहुनेछ।—हितो. १५:२३.
८ सभामा सिकाइँदै गरेको विषयवस्तु एकाग्रचित्त भएर सुन्नुपर्छ। कहिलेकाहीं, भाषण सुन्नु, भाषण दिनुभन्दा पनि गाह्रो लाग्नसक्छ। किन? किनकि तपाईंको मन यताउति डुल्नसक्छ। तपाईं यसको विरुद्ध कसरी लड्न सक्नुहुन्छ? टिपोट लिएर। महत्त्वपूर्ण बुँदाहरूलाई पछिसम्म सम्झन चाहनुहुन्छ भने, ती बुँदाहरू टिप्नुहोस्। टिपोट लिनाले तपाईंलाई कार्यक्रममा ध्यान केन्द्रित गर्न मदत गर्छ। बाइबलका पदहरू पनि पल्टाउनुहोस् र वक्ताले पद पढ्ने बेलामा संगै पछ्याउनुहोस्।
९ यसको अतिरिक्त, सभाहरूमा छलफल गरिने प्रत्येक प्रश्नउत्तरमा भाग लिने लक्ष्य बनाउनुहोस्। यदि व्यक्त गर्न लाग्नुभएको भनाइलाई पहिल्यै राम्ररी विचार गर्नुभएमा तपाईंले धेरै लाभ उठाउन सक्नुहुन्छ। हितोपदेश १५:२८ ले यसो भन्छ: “जवाफ दिनअघि धर्मीहरू सोच्दछन्, तर दुष्टले दिएको तत्काल जवाफमा दुष्ट्याइँ भरिएको हुन्छ।”
१० सिकेका कुरालाई व्यवहारमा उतार्नुहोस्: सिकेका कुरा, “काम[मा] पनि” प्रयोग गर्नुपर्छ जुन तपाईंले चाल्नुपर्ने अन्तिम कदम हो। (१ थिस्स. २:१३) सभामा सिक्नुभएका हरेक असल कुराहरू व्यवहारमा उतार्नुभएको खण्डमा तपाईं यहोवासँग घनिष्ठ हुन सक्नुहुनेछ। तपाईंको लागि उहाँ अझ वास्तविक हुनुहुनेछ। “सत्यमा चल्दा” र यसलाई आफ्नो बनाउँदा, तपाईंले धेरै आनन्द र सफलता अनुभव गर्नुहुनेछ।—३ यूह. ४.
११ जवान भाइबहिनीहरू हो, तपाईंहरूले लगातार सभाहरूको तयारी गर्नुभएमा, सभाहरूमा भाग लिनुभएमा र सिकेका कुरा व्यवहारमा उतार्नुभएमा, सभाहरूबाट पूर्ण आनन्द उठाउन सक्नुहुनेछ साथै सभाबाट उठाउन सक्ने जति सबै लाभ उठाउन सक्नुहुन्छ। स्वर्गका परमेश्वर यहोवाप्रति सधैं वफादार हुने पक्का निर्णय गर्नुभयो भने, तपाईंको विश्वास अझै बलियो हुनेछ।—भज. १४५:१८.