सभाहरूले असल काम गर्न उक्साउँछन्
१ मण्डलीका सभाहरू धाउनु र क्षेत्र सेवकाईमा भाग लिनु हाम्रो उपासनाका दुइ महत्त्वपूर्ण पक्षहरू हुन्। यी दुवै पक्ष समान रूपमा अघि बढ्छन् र एउटा पक्षले अर्को पक्षलाई प्रेरणा दिन्छ। मसीही सभाहरूले असल काम गर्न उक्साउँछन्। त्यसमध्ये उत्तम काम चाहिं राज्य-प्रचार र चेला बनाउने काम हो। (हिब्रू १०:२४) यदि हामी सभाहरूमा आउन छाड्यौं भने, हाम्रो प्रचारको काम पनि शून्य हुनसक्छ। किनभने हामीलाई प्रचार गर्न उक्साउने कुरा केही हुँदैन।
२ साप्ताहिक सभाहरूमा प्रचार गर्न हामीलाई झकझकाउने किसिमले तयार पारिएका आध्यात्मिक निर्देशनहरू पाउँछौं। यी सभाहरूले समय सकिनै लागेको तथ्यमा जोड दिंदै बाइबलको जीवनदायी समाचार अरूलाई बाँड्न हामीलाई उत्प्रेरित गर्छन्। सभाले प्रचारको काममा हरेश नखान प्रोत्साहन र बल पनि दिन्छ। (मत्ती २४:१३, १४) सभाहरूमा टिप्पणी गर्दा, आफ्नो विश्वास अरूको अगाडि बताउने बानी पर्दै जान्छ। (हिब्रू १०:२३) हामी ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भर्ती भएर अझ प्रभावकारी सेवक हुने र सिकाउन सिपालु हुने तालिम पाउँछौं।—२ तिमो. ४:२.
३ सेवा सभाले प्रचार गर्न हामीलाई कसरी उक्साउँछ: हम्रो राज्य सेवकाई-मा भएका विषयवस्तुहरू पहिले नै पढ्न हामीलाई प्रोत्साहन दिइएको छ। त्यसो गरेमा, पछि सेवा सभामा उपस्थित हुँदा अनि मञ्चबाट देखाइएको प्रस्तुतिहरू हेर्दा ती जानकारीहरू हाम्रो दिमागमा ठप्प बस्छन्। फलतः क्षेत्र सेवकाईमा जाँदा हाम्रो राज्य सेवकाई-मा भएका कुराहरू, देखाइएका प्रस्तुतिहरू सम्झनसक्छौं र ती सबै कुराहरू मिलाएर अझ प्रभावकारी साक्षी दिनसक्छौं। धेरै प्रकाशकहरूले यसो गर्न सकेको अनुभव छ।
४ सेवा सभाले सिकाएअनुसार सेवकाईमा भाग लिन केहीले अरूसँग समय मिलाउँछन्। सेवा सभाले गर्दा प्रकाशकहरूले क्षेत्र सेवकाईमा प्रयोग गर्न मिल्ने बुँदाहरू दिमागमा ताजै राखेका हुन्छन्। परिणामस्वरूप, त्यसलाई व्यवहारमा उतार्ने भरमग्दुर प्रयास गर्न तिनीहरू उत्प्रेरित हुन्छन्। किनभने सभाहरूले गर्दा तिनीहरू प्रत्येक हप्ता प्रचारको काममा भाग लिन प्रोत्साहित हुन्छन्।
५ मसीही सभाहरू सँगी उपासकहरूलाई एकै ठाउँमा भेला गराउने र असल काम गर्नलाई उक्साउने एक मात्र उपाय हो। हाम्रो सेवकाई सपार्नु छ भने, हामी मण्डलीका सभाहरूमा नियमित रूपमा उपस्थित हुनैपर्छ। त्यसकारण, “एक ठाउँमा भेला हुन” नछोडेर यहोवाबाट पाएको यो गजबको प्रबन्धको हामी मूल्यांकन गरौं।—हिब्रू १०:२५.