हाम्रो ज्योति लगातार चम्काइरहने
१ ज्योति के हो? शब्दकोशले त्यसलाई “कुनै पनि वस्तु आँखाले देख्न सम्भव गराउने” भनेर परिभाषित गर्छ। तर उच्च प्रविधिको बावजूद अझै पनि अय्यूब ३८:२४ मा यहोवाले सोध्नुभएका प्रश्नहरूको जवाफ मानिसले राम्ररी थाह पाएको छैन। के हामी ज्योतिबिना चल्नसक्छौं? ज्योतिबिना हामी बाँच्नसक्दैनौं। शारीरिक आँखाले देख्न ज्योति आवश्यक छ र बाइबलले आध्यात्मिक अर्थमा “परमेश्वर ज्योति हुनुहुन्छ” भनेर बताउँछ। (१ यूह. १:५) हामी उहाँमा पूर्णतया निर्भर छौं, जसले “ज्योति दिनुभएको छ।”—भज. ११८:२७.
२ शारीरिक अर्थमा र अझ त्योभन्दा आध्यात्मिक अर्थमा यो कुरा साँचो हो। झूटो धर्मले थुप्रै मानिसहरूलाई गलत बाटोतर्फ डोऱ्याएर आध्यात्मिक अन्धकारतर्फ धकेलेको छ। जहाँ तिनीहरू ‘अन्धा मानिसझैं भित्ता छाम्दैछन्।’ (यशै. ५९:९, १०) आफ्नो अपार प्रेम अनि अनुकम्पाले गर्दा यहोवाले ‘आफ्नो ज्योति र सत्यता पठाउनुहुन्छ।’ (भज. ४३:३) फलस्वरूप त्यसको मूल्याकंन गर्ने लाखौं मानिसहरूले त्यस ज्योति र सत्यतालाई स्वीकारेर “अन्धकारबाट उहाँको गजबको ज्योतिमा” आएका छन्।—१ पत्रु. २:९.
३ यो ज्योतिलाई संसारमा ल्याउन येशू ख्रीष्टले निर्णायक भूमिका निर्वाह गर्नुहुन्छ। उहाँले भन्नुभयो: “म संसारमा ज्योति भएर आएको छु, कि मलाई विश्वास गर्ने जोसुकैले अँध्यारोमा रहन नपरोस्।” (यूहन्ना १२:४६) उहाँले आफ्नो सम्पूर्ण समय, शक्ति र स्रोत सत्यको ज्योति फैलाउन लगाउनुभयो। आफ्नो जन्मस्थलको कुना काप्चासम्म यात्रा गरेर उहाँले प्रत्येक शहर तथा गाउँहरूमा प्रचार गर्दै शिक्षा दिनुभयो। उहाँले हर तवरबाट कठोर सतावट सहनुभयो। तर सत्यको ज्योति फैलाउने काममा भने कहिल्यै डग्नुभएन।
४ येशूले विशेष लक्ष्यलाई ध्यानमा राखेर चेलाहरूलाई छान्ने, प्रशिक्षण दिने र संगठित पार्ने काममा ध्यान दिनुभयो। मत्ती ५:१४-१६ मा उहाँले चेलाहरूलाई दिनुभएको यस्तो निर्देशन हामी पाउँछौं: “तिमीहरू जगत्का ज्योति हौ। . . . तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” येशूले जस्तै तिनीहरूले पनि “संसारमा ज्योति” भएर टाढा टाढासम्म सत्यको ज्योतिलाई फैलाउनुपर्थ्यो। (फिलि. २:१५) तिनीहरूले खुशीसाथ त्यो जिम्मेवारी स्वीकारे र त्यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो उद्देश्य ठाने। त्यसैकारण केही समयभित्रै सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनेर पावलले भन्नसके। (कल. १:२३) यो महान् कार्य पूरा गर्न त्यतिबेला पूरै मसीही मण्डली एक भएको थियो।
५ आज “अन्धकारका काम छोड़ेर” आउनेहरूमध्ये हामी पनि हुन पाएकोमा कृतज्ञ हुनुपर्ने हो। (रोमी १३:१२, १३) येशू तथा पुरातन विश्वासी मसीहीहरूको नमुना अनुकरण गरेर हामी आफ्नो मूल्यांकन जाहेर गर्नसक्छौं। मानव इतिहासभरि अहिले जति सत्यलाई सुन्नु अत्यावश्यक र अपरिहार्य पहिले कहिल्यै भएको थिएन। अरू कुनै पनि काम यो जति जरुरी छैन र यसले जति चिरकालीन फाइदाहरू ल्याउनसक्दैन।
६ हामी कसरी ज्योति भएर चम्कनसक्छौं? हामीले ज्योति चम्काउने मुख्य तरिका राज्य प्रचार कार्यमा भाग लिनु हो। आ-आफ्नो निर्धारित क्षेत्रमा प्रचार गर्न हरेक मण्डलीमा नियमित र व्यवस्थित प्रबन्ध मिलाइएको हुन्छ। थुप्रै भाषाहरूमा विभिन्न प्रकारका साहित्यहरू प्रचुर मात्रामा हामीसित उपलब्ध छ। सभाहरूद्वारा विस्तृत शिक्षा दिइन्छ। त्यसबाहेक अनुभवी व्यक्तिहरूद्वारा व्यक्तिगत तवरमा प्रशिक्षण दिइन्छ। पुरुष, स्त्री, वृद्ध र केटाकेटीहरूलाई समेत प्रचार कार्यमा भाग लिने मौका खुला छ। आफ्नो क्षमता र परिस्थितिले भ्याएसम्म भाग लिन मण्डलीका प्रत्येक व्यक्तिलाई आमन्त्रित गरिन्छ। मण्डलीका सबै क्रियाकलापहरू प्रचारकार्यमा केन्द्रित हुन्छ। साथै हरेक सदस्यले कुनै न कुनै तरिकामा भाग लिन सकोस् भनेर मदतको प्रबन्ध पनि गरिएको हुन्छ। अतः हाम्रो ज्योति चम्काइरहने सर्वोत्तम तरिका मण्डलीसँग नियमित तवरमा घनिष्ठ सम्बन्ध राख्नु हो।
७ मौखिक साक्षी नदिइकन पनि हामी चम्कनसक्छौं। हाम्रो चालचलनले मात्रै पनि अरूको ध्यानाकर्षण गर्नसक्छौं। यही कुरालाई मनमा राख्दै पत्रुसले यस्तो आग्रह गरे: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, . . . [ताकि] तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरुन्।” (१ पत्रु. २:१२) कुनै पनि काम वा संगठनलाई जाँच्नु पर्दा धेरैले त्यसका सदस्यहरूको चालचलनलाई पहिला विचार गर्छन्। नैतिक तवरमा स्वच्छ, इमानदार, शान्तिप्रिय र कानुनपालक मानिसहरू देख्दा अरूले तिनीहरूलाई भिन्न सम्झिनुको साथै तिनीहरूको नैतिक स्तर अधिकांश मानिसहरूको भन्दा भिन्न छ भन्ने निष्कर्षमा पुग्छन्। अतः मायालु ढंगमा पत्नीको आदर र कदर गर्ने पतिले आफ्नो ज्योति चम्काइरहेको हुन्छ। पत्नीले पनि पतिको शिरत्व आदर गरेर त्यस्तै गर्छ। त्यस्तैगरि आमाबाबुको आज्ञा पालन गर्ने र लैंगिक अनैतिकता तथा लागू पदार्थदेखि अलग बस्ने छोराछोरी अरूभन्दा भिन्न देखिन्छन्। कर्तव्यनिष्ठ, इमानदार र अरूको ख्याल राख्ने कर्मचारीहरूको ठूलो मोल हुन्छ। यस्ता मसीही गुनहरू देखाएर हामी आफ्नो ज्योति चम्काउँछौं र अरूलाई पनि त्यस्तै जीवनपद्धति अपनाउने सुझाव दिन्छौं।
८ प्रचार गर्नु भनेको परमेश्वरको वचनबाट आफूले सिकेको कुरा अरूलाई बताउनु हो। यो काम जनमञ्चबाट वा ढोका ढोकामा गरिन्छ। तर कदापि त्यो त्यत्तिमै सीमित छैन। हाम्रो दैनिक क्रियाकलापहरूले गर्दा हामी थुप्रै मानिसहरूको सम्पर्कमा आइरहन्छौं। नजीकैको छिमेकीसित तपाईं दिनमा कति चोटि कुरा गर्नुहुन्छ? मानिसहरूले कति चोटि तपाईंको ढोका ढकढकाउँछन्? पसल जाँदा, बस चढ्दा वा काममा जाँदा तपाईं कति जना मानिसहरूलाई भेट्नुहुन्छ? यदि तपाईं स्कूलमा पढ्नुहुन्छ भने दिनमा कति जनासित कुरा गर्नुहुन्छ, के तपाईं बताउन सक्नुहुन्छ? भनौं भने, अरूसँग कुरा गर्ने मौका असीमित छ। तपाईंले केवल आफ्नो मनमा केही शास्त्रीय विचार, बाइबल र सानो पर्चा बोकेर मौका पाउनेबित्तिकै बोले पुग्छ।
९ अनौपचारिक साक्षी दिनु सजिलो भए तापनि केही व्यक्तिहरू हिचकिचाउँछन्। शायद तिनीहरू संकोच मान्दा हुन्। अपरिचित मानिसहरूसित कुरा गर्न लाज वा डर लाग्छ भनेर तिनीहरू पछि सरेका हुनसक्छन्। आफूतर्फ अरूको ध्यानाकर्षण होला वा अरूले कटु प्रतिक्रिया देखाउलान् भनेर तिनीहरूलाई डर लागेको हुनसक्छ। त्यसो हो भने, अनौपचारिक साक्षी दिन खप्पिस भइसकेकाहरूलाई सोध्नुहोस्। तिनीहरूले तपाईंलाई विचलित हुनुपर्ने घटना कमै हुन्छन् भनेर बताउनसक्छन्। अरू मानिसहरू पनि हामीजस्तै हुन्। तिनीहरूको पनि हाम्रैजस्ता आवश्यकता तथा चिन्ताहरू हुन्छन् अनि आफू र आफ्नो परिवारबाट हामी जे चाहन्छौं, तिनीहरूले पनि त्यस्तै चाह गरिरहेका हुन्छन्। अतः हँसिलो मुहार लिएर मित्रैलो अभिवादन गर्दा धेरैले हाम्रो कुरा सुन्नेछन्। यद्यपि, सुरुआत गर्न तपाईं ‘निर्भयी हुनु’ पर्नसक्छ। (१ थिस्स. २:२) तथापि, सुरु गरेर हेर्नुहोस्। त्यसपछिका नतिजाहरू देखेर शायद तपाईं छक्क अनि मख्ख पर्नुहुनेछ।
१० हाम्रो ज्योति चम्काउँदा आशिषित् हुन्छौं: अनौपचारिक साक्षी दिंदा प्राप्त भएका केही स्फूर्तिदायी अनुभवहरू यसप्रकार छन्। एउटी ५५ वर्षिया महिला बाटो काट्ने कोसिस गर्दै थिइन्। तिनलाई गाडीले किच्नै लागेको बेला एउटी मसीही बहिनीले तिनलाई तानेर बचाइन्। त्यसपछि तिनले भनिन्: “होशियार भएर हिंड्नुहोस्। समय राम्रो छैन!” त्यसपछि तिनले समय किन खराब छ भनेर बताइन्। तिनको कुरा सुनेर त्यस महिलाले सोधिन्, “के तपाईं यहोवाको साक्षी हुनुहुन्छ?” तिनले पहिल्यै एउटी पाको बहिनीसित पुस्तक लिएकी हुनाले यहोवाका साक्षीहरूलाई भेट्न चाहेकी रहेछिन् र यो घटनाले गर्दा त्यस्तो मौका पाइन्।
११ एउटी बहिनीले चिकित्सकको प्रतीक्षालयमा बसिरहेकी महिलासित कुरा गरिन्। तिनले साक्षी बहिनीको कुरा ध्यान दिएर सुनिन् र भनिन्: “केही समयदेखि यहोवाका साक्षीहरूलाई मैले निकै चोटि भेटिसकें। तर भविष्यमा म यहोवाको साक्षी भइहालें भने त्यसको कारण तपाईंले अहिले भन्नुभएका कुराहरू नै हुनेछ। तपाईंको कुरा सुनेर मलाई अँध्यारो ठाउँमा ज्योति पाएजस्तो महसुस भयो।”
१२ अरूलाई सहयोग गर्दा त्यो तिनीहरूको लागि सच्चाइ सिक्ने खुड्किलो बन्नसक्छ। एक पटक क्षेत्र सेवकाईबाट फर्कंदा दुइ मसीही बहिनीहरूले बिरामीजस्तो देखिने एउटी पाको महिलालाई बसबाट ओर्लंदै गरेको देखे। अनि यी दुइ मसीही बहिनीहरूले त्यो महिलालाई मदत चाहिन्छ कि भनेर सोधे। अपरिचित मानिसले यसरी चासो देखाउँदा तिनी छक्कै परिन् र त्यस्तो दयालु भाव देखाउनुको कारण के हो भनेर बताउन कर गरिन्। यो घटनाले गर्दा साक्षी दिने मौका खुल्यो। त्यो पाको महिलाले सहर्ष आफ्नो ठेगाना बताइन् र तिनलाई भेट्ने निमन्त्रणा दिइन्। बाइबल अध्ययन सुरु भयो। छिट्टै त्यो महिलाले सभाहरू पनि धाउन थालिन् र अहिले तिनी अरूसित सच्चाइ बाँड्दैछिन्।
१३ एक जना पाको बहिनी बिहान सबेरै समुद्र किनार टहल्न जाँदा साक्षी दिन्छिन्। बिहान त्यहाँ टहल्न आउनेहरूमा घरधन्धा गर्ने, धाइ आमा, बैंकको कर्मचारी तथा अरूलाई तिनी भेट्छिन्। र त्यहीं किनारकै बेन्चमा बसेर बाइबल अध्ययन पनि सञ्चालन गर्छिन्। यसरी निकै व्यक्तिहरूले तिनीसित सच्चाइ सिकेका छन् र अहिले यहोवाका साक्षी पनि भएका छन्।
१४ त्यस्तैगरि काम गर्ने ठाउँमा एकपल्ट सहकर्मीले एउटा राजनैतिक पार्टीबारे कुरा गरिरहेकी एउटी मसीही बहिनीले सुनिन्। त्यस पार्टीले संसारकै समस्याहरू समाधान गर्नसक्छ भनेर तिनले विश्वास गर्दा रहेछिन्। अतः सहकर्मीको कुरा सुनेपछि त्यस मसीही बहिनीले परमेश्वरको राज्यको प्रतिज्ञा सुनाइन्। त्यस छलफलबाट तिनकै घरमा नियमित बाइबल अध्ययन सुरु भयो र अन्ततः तिनी र तिनको पति यहोवाका साक्षीहरू भए।
१५ तपाईं साक्षी हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्! येशूले आफ्ना चेलाहरूलाई “जगत्का ज्योति” भनी वर्णन गर्नुहुँदा तिनीहरूले अरूलाई परमेश्वरको वचनको आध्यात्मिक ज्योतिबाट लाभ उठाउन मदत गर्नुपर्छ भनेर तर्क गर्नुभयो। येशूको सल्लाह पालन गर्छौं भने हामीले आफ्नो सेवकाईलाई कुन दृष्टिले हेर्नेछौं?
१६ केही व्यक्तिहरू आंशिक जागिर खोज्छन्। जागिरमा कति समय र मेहनत लगाउने त्यो पनि तिनीहरू निर्धारण गर्छन्। किनभने तिनीहरू आफ्नो अधिकांश समय अझ इनामदायी लाग्ने गतिविधिहरूमा लगाउन चाहन्छन्। के हामी आफ्नो सेवकाईप्रति त्यस्तै दृष्टिकोण राख्छौं? सेवकाईको लागि केही समय छुट्याउन हामीले बाध्य महसुस गरेका अथवा इच्छुकै भएका हौंला तर के हाम्रो मुख्य चासो त्यसमा नभएर अरू नै कुरामा पो छ कि?
१७ हामीले आंशिक मसीही हुनसक्दैनौं भनेर बुझेका छौं, त्यसैकारण हामी ‘आफैलाई इन्कार गरेर’ “सधैं” येशूको पछि लाग्न राजी भयौं र यी कुरालाई ध्यानमा राखेर समपर्ण पनि गऱ्यौं। (मत्ती १६:२४, न्युव) मानिसहरू जहाँसुकै भए तापनि तिनीहरूकहाँ पुग्न आफ्नो ज्योति चम्काउने हरेक सुअवसरको फाइदा उठाउँदै हामी “मनतनले” सेवा गरिरहन चाहन्छौं। (कल. ३:२३, २४) सांसारिक मनोवृत्तिको प्रतिरोध गरेर हामीले आफ्नो पहिलेको जोशलाई कायम राख्नैपर्छ र साथै आफ्नो ज्योतिलाई ज्वाजल्यमान हुने गरी चम्काइरहेका छौं वा छैनौं, त्यो पनि निश्चित गर्नुपर्छ। कसै कसैले आफ्नो जोशलाई कम हुन दिएर आफूसित भएको ज्योतिलाई मधुरो बनाएका हुनसक्छन्। यस्ता व्यक्तिहरूलाई आफूले सेवकाईमा हराएको जोश पुनः प्राप्त गर्न मदत चाहिनसक्छ।
१८ धेरैले हाम्रो समाचार नरुचाउने भएकोले केही व्यक्तिहरूमा पछि हट्ने प्रवृत्ति हुनसक्छ। पावलको भनाइअनुसार ख्रीष्टको समाचार “नष्ट हुनेहरूको निम्ति मूर्खता हो।” (१ कोरि. १:१८) तथापि, अरूले जेसुकै भने तापनि पावलले चाहिं दृढपूर्वक यसो भनेर घोषणा गरे: “सुसमाचारसँग म शर्माउँदिनँ।” (रोमी १:१६) सुसमाचारसित शर्माउने व्यक्तिले आफैलाई तुच्छ वा अयोग्य सम्झन्छ। ब्रम्हाण्डको सर्वसत्ताधारी र उहाँले हाम्रो चिरकालीन आनन्दको लागि गर्नुभएका अद्भुत प्रबन्धहरूबारे कुरा गर्दा हामी शर्माउनुपर्ने त्यस्तो के छ र? अरूसित सत्य बोल्दा तुच्छ वा अयोग्य सम्झनु कल्पनै गर्न नसकिने कुरा हो। बरु हामी त यथाशक्य गर्न बाध्य हुनुपर्ने हो। हामी ‘शर्माउनुपर्ने कुनै कुरा छैन’ भनेर पो हामीले आफ्नो विश्वास देखाउनुपर्ने हो।—२ तिमो. २:१५.
१९ अहिले पृथ्वीका सारा देशहरूमा चम्किरहेको सत्यको ज्योतिले प्रमोदवनरूपी नयाँ संसारमा अनन्त जीवन बिताउने न्यानो आशा प्रदान गर्छ। आउनुहोस्, हाम्रो ज्योति लगातार चम्काइरहने सल्लाहलाई हामीले हृदयंगम गरेका छौं भनेर देखाऔं! त्यसो गऱ्यौं भने हामी पनि ती चेलाहरूजस्तै खुशी हुनसक्छौं जसले “दिनदिनै . . . येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।”—प्रे. ५:४२.