“तिमीहरूको ज्योति चम्कोस्”
१. अरूसित बाँड्ने कस्तो वरदान हामीसित छ?
१ घाम झुल्केदेखि नअस्ताएसम्म देखिने मनमोहक ज्योतिले यहोवा परमेश्वरको महिमा गर्छ। तर येशूले आफ्ना चेलाहरूलाई भिन्नै प्रकारको ज्योति अर्थात् “जीवनको ज्योति” पाउन निम्तो दिनुभयो। (यूह. ८:१२) यस्तो आध्यात्मिक ज्योति यहोवाले दिनुभएको एउटा विशेष वरदान हो। तर यो सँगै गम्भीर जिम्मेवारीहरू पनि आउँछन्। येशूले चेलाहरूलाई ‘मानिसहरूसामु ज्योति चम्काउन’ निर्देशन दिनुभयो र यसबाट अरूले पनि लाभ उठाउने थिए। (मत्ती ५:१६) आध्यात्मिक अन्धकार छाएको आजको संसारमा यो ज्योति चम्काउनै पर्छ र यसको यत्ति धेरै आवश्यकता पहिला कहिल्यै परेको थिएन! ख्रीष्टले जस्तै हामी पनि कसरी ज्योति चम्काउन सक्छौं?
२. आध्यात्मिक ज्योति चम्काउनुको महत्त्व येशूले कसरी देखाउनुभयो?
२ प्रचार गरेर: मानिसहरूको घरमा, चोकहरूमा र डाँडाहरूमा अर्थात् मानिसहरू भेटिने सबै ठाउँमा सत्यको ज्योति चम्काउन येशूले आफ्नो समय, शक्ति र स्रोत-साधन प्रयोग गर्नुभयो। सत्यको ज्योति मानिसहरूलाई सधैंको लागि उपयोगी हुन्छ भनेर उहाँलाई थाह थियो। (यूह. १२:४६) सत्यको ज्योति अझ धेरै फैलाउन येशूले चेलाहरूलाई “संसारका ज्योति” हुन तयार पार्नुभयो। (मत्ती ५:१४) आफ्ना छिमेकीहरूको लागि असल कामहरू गरेर अनि परमेश्वरसित सम्बन्धित सत्य कुराहरू बाँडेर तिनीहरूले सत्यको ज्योति चम्काए।
३. सत्यको ज्योतिलाई साँच्चै मोल गरेको कुरा हामी कसरी देखाउन सक्छौं?
३ “ज्योतिका सन्तानहरूझैं चल” भन्ने जिम्मेवारीलाई परमेश्वरका जनहरू गम्भीरतासाथ लिन्छन्। (एफि. ५:८) त्यसैले जहाँ-जहाँ मानिसहरू भेटिन्छन्, त्यहाँ-त्यहाँ तिनीहरू प्रचार गर्छन्। काम गर्ने ठाउँमा वा स्कूलमा खाजा खाने बेला बाइबल वा हाम्रा प्रकाशनहरू अरूले देख्ने गरी पढ्दा मात्र पनि बाइबलबारे कुराकानी सुरु गर्ने बाटो खुल्न सक्छ। यस्तै तरिका अपनाउँदा एउटी जवान बहिनीले बाइबल अध्ययन सुरु गर्न सकिन् र आफ्ना १२ जना सहपाठीलाई किताबहरू दिन सफल भइन्!
४. ‘ज्योति चम्काउनुमा’ असल आनीबानी देखाउनु पनि समावेश छ, किन?
४ असल कामहरू गरेर: हाम्रो आनीबानीबाट पनि सत्यको ज्योति चम्काउन सक्छौं। (एफि. ५:९) काम गर्ने ठाउँ, स्कूल र अन्य सार्वजनिक स्थानहरूमा अक्सर मानिसहरूले हाम्रो आचरण फरक भएको याद गर्छन्, जसले गर्दा बाइबलबारे कुराकानी सुरु गर्ने मौका मिल्न सक्छ। (१ पत्रु. २:१२) उदाहरणको लागि, एक पाँच वर्षीय केटाको असल बानी-बेहोराबाट तिनकी शिक्षिका यत्ति प्रभावित भइन् कि उनले ती केटाका आमाबाबुलाई बोलाइन् र यसो भनिन्: “असल र खराब छुट्ट्याउन सक्ने यस्तो बच्चा मैले अहिलेसम्म देखेको छैन!” हो, हाम्रो प्रचारकार्य र असल आनीबानीले मानिसहरूलाई “जीवनको ज्योति”-तर्फ खिच्छ र यसले परमेश्वरको पनि महिमा गर्छ।