आध्यात्मिक तवरमा अहिलेजति राम्रो पहिले कहिल्यै थिएन!
१ अधिकांश मानिसहरू त्यो दिनको तिर्सना गर्छन् जब तिनीहरूले यसो भन्न सक्नेछन्, “अहिलेजति राम्रो पहिले कहिल्यै थिएन!” तिनीहरूको विचारमा त्यो दिन तब आउनेछ जब तिनीहरूसित प्रचुर मात्रामा भौतिक कुराहरू हुनेछन् र तिनीहरू ‘आरामसित बस्न, खानपिन र आनन्द गर्नसक्नेछन्।’ (लूका १२:१९) त्यसको विपरीत, हामीसित आध्यात्मिक तवरमा राम्रो कुराको अभाव छैन भन्नसक्छौं। (भज. ३४:१०) त्यो कसरी सम्भव छ?
२ हितोपदेश १०:२२ ले घोषणा गरेअनुसार “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ।” त्यस्तो ईश्वरीय अनुग्रह पाएकोले हामी साँच्चै यसो भन्नसक्छौं, परमेश्वरले “हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न” दिनुभएको छ। (१ तिमो. ६:१७) यसले हामीलाई संसारका सबैभन्दा धनी मानिसहरू तुल्याउँछ!
३ हाम्रा आशिष्हरूको मूल्यांकन गर्ने: हामीमध्ये थोरै मात्र भौतिक तवरमा सम्पन्न छौं। यद्यपि, हामीले आशिष् पाएका छौं किनभने दैनिक आवश्यकताहरूबारे हामी अचाक्ली चिन्तित छैनौं। यहोवाले हाम्रा खाँचोहरू जान्नुहुन्छ र ती प्रदान गर्ने प्रतिज्ञा गर्नुहुन्छ। (मत्ती ६:३१-३३) उहाँको आश्वासनले हामीलाई साँच्चै अनमोल मनोशान्ति दिन्छ।
४ तथापि, हाम्रा आध्यात्मिक आशिष्हरू अझ बढी छन्। हाम्रो जीवन, यहोवाबाट प्राप्त हुने आध्यात्मिक भोजनमा निर्भर छ। (मत्ती ४:४) आध्यात्मिक पोषणको लागि सांसारिक स्रोतहरूमा भर पर्ने व्यक्तिहरू भोका छन् जबकि हामी आध्यात्मिक भोजनबाट तृप्त र सन्तुष्ट छौं। (यशै. ६५:१३) ‘विश्वासी दासले’ हामीलाई कहिल्यै नरित्तिने ज्ञान उपलब्ध गराउँछ र त्यसले अनन्त जीवनतर्फ डोऱ्याउँछ।—मत्ती २४:४५; यूह. १७:३.
५ हाम्रो अमूल्य विश्वव्यापी भ्रातृत्वले पृथ्वीको चारै कुनामा बस्ने मायालु भाइबहिनीहरूको न्यानो संगति प्रदान गर्छ। (यूह. १३:३५) स्थानीय मण्डली, शान्तिको आश्रय हो। त्यहाँ हामी सान्त्वना र स्फूर्ति पाउनसक्छौं। प्राचीनहरूले हाम्रो प्राणको हेरचाह गर्छन् र थुप्रै प्रकारका समस्याहरू सामना गर्न मदत दिन्छन्। (हिब्रू १३:१७) हामी आफ्ना भाइहरूसित घनिष्ठ हुँदा प्रोत्साहनको आदानप्रदान हुन्छ र हामी दृढ भइरहन बल पाउँछौं।—रोमी १:११, १२.
६ हाम्रो काम नै एउटा आशिष् हो। धेरैजसो सांसारिक कार्यहरू पट्टाइलाग्दो र असन्तोषजनक हुन्छन्। सुसमाचार सुनेर अरू मानिसहरू आनन्दित हुँदा हामी पनि खुशी हुन्छौं। (प्रे. २०:३५) हामी साँच्चै आफ्नो कडा मेहनतको असल परिणाम देख्नसक्छौं।—उप. २:२४.
७ सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीसित भविष्यको अद्भुत आशा छ। (रोमी १२:१२) हामी सिद्ध, धार्मिक नयाँ संसारको प्रतीक्षा गर्छौं र त्यहाँ आफ्ना प्रिय जनहरूसित आनन्दसाथ शान्तिपूर्वक सधैंभरि बाँच्नेछौं! संसारले प्रदान गर्ने जस्तोसुकै धनसम्पत्तिभन्दा यो आशा मूल्यवान् छ।—१ तिमो. ६:१९.
८ हामीले कसरी मूल्यांकन देखाउनसक्छौं? यहोवाले हाम्रोनिम्ति जे जति गर्नुभएको छ, त्यो हामी कहिल्यै तिर्न सक्दैनौं। हामी केवल निम्न तरिकाद्वारा मूल्यांकन व्यक्त गर्नसक्छौं (१) उहाँको करूणाप्रति दिनहुँ धन्यवाद चढाएर (एफि. ५:२०), (२) आज्ञाकारी भई हाम्रो प्रेम प्रकट गरेर (१ यूह. ५:३), (३) सुसमाचारको प्रचारद्वारा उहाँको नाउँ पवित्र पारेर (भज. ८३:१८) र (४) सम्पूर्ण हृदयले मसीही मण्डलीको समर्थन गरेर।—१ तिमो. ३:१५.
९ हामीसित पृथ्वीका सबैभन्दा खुशी मानिसहरू हुने हर कारण छ। (भज. १४४:१५ख) हामीले आध्यात्मिक प्रमोदवनमा महसुस गर्ने आनन्द हाम्रो मनोवृत्ति, आचरण र क्षेत्र सेवामा झल्कोस्। अहिलेजति राम्रो पहिले कहिल्यै थिएन!