मित्रैलो वार्तालापले हृदय छुनसक्छ
१ वार्तालापलाई “विचारहरूको मौखिक आदान-प्रदान” भनेर परिभाषित गर्न सकिन्छ। अरूलाई चासो लाग्ने विषयबारे मित्रैलो ढंगमा वार्तालाप थाल्दा तिनीहरूको चासो जाग्नसक्छ र हामी तिनीहरूको हृदयमा राज्य सन्देशको बीजारोपण गर्नसक्छौं। उपदेश दिनुभन्दा मानिसहरूसित मित्रैलो ढंगमा घुलमिल हुनु र सान्त्वनादायी वार्तालाप गर्नु धेरै प्रभावशाली हुन्छ भनेर अनुभवले देखाएको छ।
२ मित्रैलो वार्तालाप कसरी थाल्ने: अरूसित वार्तालाप गर्न योग्य हुनुको अर्थ, प्रभावकारी विचार तथा शास्त्रपदहरू प्रस्तुत गर्नुपर्छ भनेको होइन। यसको अर्थ, कुराकानीमा अर्को व्यक्तिलाई सम्मिलित गराउनु मात्र हो। उदाहरणका लागि, हामीले पल्लो घरको छिमेकीसित मित्रैलो वार्तालाप गर्दा त्यो वार्तालाप रूखो होइन सान्त्वनादायी हुन्छ। हामी आफूले भन्न चाहेको कुराहरूबारे मात्र सोच्दैनौं तर तिनले व्यक्त गरेका विचारहरूको जवाफ दिइरहेका हुन्छौं। हामीले तिनको कुराप्रति साँचो चासो देखायौं भने, तिनी हामीसित कुराकानी गर्न प्रोत्साहित हुनसक्छन्। त्यस्तै प्रकारले अरूलाई साक्षी दिंदा फलदायी साबित हुनुपर्ने हो।
३ मित्रैलो वार्तालाप थाल्न अपराध, जवानहरूको समस्या, स्थानीय घटनाहरू, संसारको परिस्थिति वा मौसमजस्ता विषयहरू लिन सकिन्छ। मानिसहरूको जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने विषयहरूले एकदमै प्रभावशाली ढंगमा तिनीहरूको चासोलाई बढाउनसक्छन्। वार्तालाप सुरु भएपछि बिस्तारै कुरालाई राज्य सन्देशमा मोड्नसक्छौं।
४ सान्त्वनादायी वार्तालाप गर्नुको अर्थ, अग्रिम तयारी गर्नुपर्दैन भनेको होइन। अग्रिम तयारी गर्नुपर्छ। तथापि, वार्तालापको निचोड अर्थात् वर्तमान परिस्थितिसित नसुहाउँदो र अनुकूल नहुने अप्ठ्यारो रूपरेखालाई स्पष्टसित व्यक्त गर्न वा प्रस्तुतिलाई कण्ठस्थ गर्न आवश्यकता छैन। (१ कोरि. ९:२०-२३ तुलना गर्नुहोस्।) तयारी गर्ने उत्कृष्ट तरिका हो, वार्तालापलाई ध्यानमा राख्दै एक वा दुइ धर्मशास्त्रीय विषयहरू छनौट गर्नु। यसको लागि तर्क (अंग्रेजी) पुस्तकमा पाइने विषयहरूलाई पुनरावलोकन गर्नु मदतकारी साबित हुनेछ।
५ मित्रैलो वार्तालापका लागि अत्यावश्यक गुनहरू: अरूसित वार्तालाप गर्दा हामी न्यानो र इमानदार हुनुपर्छ। मुस्कान र हँसिलोपनले यी गुनहरू झल्काउन मदत दिन्छ। हामीसित यस संसारको सर्वोत्कृष्ट सन्देश छ। इमानदार व्यक्तिहरूका लागि यो एकदमै घतलाग्दो छ। सुसमाचार बाँड्ने साँचो इच्छाले हामी तिनीहरूप्रति चासो देखाउन उत्प्रेरित भएका हौं भनेर तिनीहरूले महसुस गरेमा तिनीहरू हाम्रो कुरा सुन्न प्रेरित हुनसक्छन्।—२ कोरि. २:१७.
६ वार्तालाप रमाइलो हुनुपर्छ। तसर्थ, हामी परमेश्वरको राज्य सन्देश प्रस्तुत गर्नमा दयालु र सिपालु हुनुपर्छ। (गला. ५:२२; कल. ४:६) अरूलाई राम्रो प्रभाव पार्ने कोसिस गर्नुहोस्। यसो गर्दा हामीले प्रारम्भिक भेटमा तिनको हृदय छुन सफल भएनौं भने पनि कुनै साक्षीले अर्को भेटको वार्तालापमा तिनी निकै ग्रहणयोग्य भएको भेटाउनसक्छन्।
७ गाह्रो प्रस्तुति गर्न सिपालु हुँदैमा मित्रैलो वार्तालाप सुरु हुँदैन। यो त व्यक्तिलाई चासो लागेको विषयप्रति चासो जगाउनु मात्र हो। हामीले एक पटक अग्रिम तयारी गरेपछि मानिसहरूसित मित्रैलो वार्तालाप गर्न तयार हुनेछौं। आउनुहोस्, अनन्त राज्य आशिष्हरूको सर्वोत्कृष्ट समाचार बाँड्दा भेट्ने व्यक्तिहरूको हृदय छुने प्रयत्न गरौं।—२ पत्रु. ३:१३.