बोलीवचन र आचरणमा उदाहरणीय हुनुहोस्
१ प्रेरित पावलले तिमोथीलाई बोलीवचन र आचरणमा उदाहरणीय हुन आग्रह गरे। (१ तिमो. ४:१२) हामीले विशेषगरि सेवकाईमा उदाहरणीय बोलीवचन र आचरण देखाउनुपर्छ किनभने हामीले भेट्ने व्यक्तिहरूको हृदयमा पुग्नसक्नु वा नसक्नु, त्यसमै निर्भर हुन्छ।
२ हामीले असल आनीबानीका सबै पक्षहरू झल्काउनुपर्छ। त्यसमा शिष्टता, अरूप्रति समझदारी, दया, भलादमीपन र कौशलता समावेश छन्। यी गुनहरू झल्काएर हामी के देखाउँछौं भने, हाम्रा कार्यहरूले अरूका भावनाहरूमाथि असर गर्छ भनेर हामी सजग छौं। सेवकाईमा असल आनीबानीलाई भोजन स्वादिलो बनाउन प्रयोग गरिने मसालाहरूसित तुलना गर्न सकिन्छ। ती भएनन् भने स्वास्थ्यकर भोजन पनि खल्लो र नमीठो हुनसक्छ। अरूसित व्यवहार गर्दा असल आनीबानी देखाउन सकेनौं भने त्यस्तै नकारात्मक असर पर्नसक्छ।—कल. ४:६.
३ बोलीवचनमा उदाहरणीय हुनुहोस्: सुसमाचार प्रस्तुत गर्ने सन्दर्भमा मित्रैलो मुस्कान र न्यानो अभिवादन हाम्रो प्रस्तुतिका अभिन्न भागहरू हुन्। हामीले आफ्नो परिचयलाई न्यानो तथा निष्कपटताले स्वादिलो बनायौं भने हामी घरधनीप्रति साँच्चै चासो राख्छौं भनी तिनले थाह पाउनेछन्। तिनको कुरालाई ध्यान दिएर सुन्नुहोस् अनि तिनको धारणाप्रति उचित आदर देखाउनुहोस्। आफूले बोल्नुहुँदा पनि कुशल तथा भलादमी हुनुहोस्।—प्रेरित ६:८ तुलना गर्नुहोस्।
४ कहिलेकाहीं हामी अमित्रैलो र झगडालु व्यक्तिहरू पनि भेट्छौं। हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? पत्रुसले हामीलाई ‘नम्र तथा गहिरो आदर’ झल्किने बोलीवचन राख्न आग्रह गरे। (१ पत्रु. ३:१५; रोमी १२:१७, १८) कुनै घरधनीले परमेश्वरको राज्य सन्देशलाई रुष्ट भएर अस्वीकार गर्छन् भने येशूले हामीलाई केवल ‘खुट्टाको धूलो टकटक्याऊ’ भन्नुभयो। (मत्ती १०:१४) ती परिस्थितिहरूमा पनि अनुकरणीय आनीबानी देखायौं भने अन्ततः विरोधीको मन पग्लनसक्छ।
५ आचरणमा उदाहरणीय हुनुहोस्: व्यस्त सडक वा सार्वजनिक स्थानहरूमा सुसमाचार प्रचार गर्दा अरूप्रति समझदार हुनुपर्छ, ठूलो स्वरले बोल्नु वा जिद्दीवाल हुनु हुँदैन र साथै यात्रुहरूको आवतजावतलाई रोक्नु हुँदैन। जिज्ञासुहरूको घरमा हुँदा उचित शिष्टता देखाउनुपर्छ र तिनीहरूको अतिथि-सत्कारप्रति मूल्यांकन देखाउँदै हामीले भलादमी पाहुनाहरूजस्तो व्यवहार गर्नुपर्छ। हामीसित सेवकाईमा सँगै जाने केटाकेटीहरूले पनि घरधनीको धनजनप्रति आदर देखाउनैपर्छ र हामी कुराकानी गरूञ्जेल तिनीहरूले शिष्टतापूर्वक ध्यान दिएर सुन्नुपर्छ। केटाकेटीहरू हुल्याहा छन् भने यसले नराम्रो असर पार्नसक्छ।—हितो. २९:१५.
६ हाम्रो बाहिरी रूपरंगले हामी परमेश्वरको वचनका सेवकहरू हौं भनी अरूलाई स्पष्ट पार्नुपर्छ। हाम्रो लुगाफाटा र कोरीबाटी फ्याङलाङ, झुत्रो हुनु हुँदैन भने असाध्यै भड्किलो वा उत्ताउलो किसिमको पनि हुनु हुँदैन। हाम्रो बाहिरी रूपरंग सधैं सुसमाचारको योग्य हुनुपर्छ। (फिलिप्पी १:२७ तुलना गर्नुहोस्।) हाम्रो बाहिरी रूपरंग तथा मालतालबारे राम्रो ध्यान दियौं भने अरूको लागि ठक्करको कारण हुनेछैनौं र हाम्रो सेवकाईमा कसैले दोष लगाउन पाउनेछैन। (२ कोरि. ६:३, ४) परमेश्वरको राज्य सन्देश सुन्नेहरूका लागि हाम्रो उदाहरणीय बोलीवचन र आचरण आकर्षक गुन हुनुका साथै यसले यहोवाको आदर गर्नेछ।—१ पत्रु. २:१२.