तपाईंका नातेदारहरू नि?
१ हामीमध्ये धेरैजसोका नातेदारहरू सच्चाइमा छैनन्। जीवनको बाटोमा तिनीहरू पनि हामीसँगै यात्रा गरून् भनी हामी कत्ति इच्छा गर्छौं! अझ ती नातेदारहरू आफ्नै परिवारका सदस्यहरू हुन् भने हामीलाई तिनीहरूको चिरकालीन भविष्यको बढ्तै चिन्ता लाग्नसक्छ। हामीले सत्यप्रति तिनीहरूको चासो जगाउने कोसिस गरेको निकै वर्ष भइसकेको छ भने पनि हार मानिहाल्नु चाहिं हुँदैन।
२ वास्तवमा, येशूले प्रचार गर्न थाल्नुहुँदा “उहाँका भाइहरूले पनि उहाँलाई विश्वास गर्दैन थिए।” (यूह. ७:५) एक पटक त उहाँका नातेदारहरूले उहाँलाई बौलाहसमेत भन्ठाने। (मर्कू. ३:२१) तैपनि, येशूले कहिल्यै हार मान्नुभएन। समयमा उहाँका भाइहरूले सत्य स्वीकारे। (प्रेरि. १:१४) उहाँको सौतेनी भाइ याकूब मसीही मण्डलीका खामो भए। (गला. १:१८, १९; २:९) तपाईं पनि आफ्ना नातेदारहरूले सत्य स्वीकारेको हेर्न चाहनुहुन्छ भने, तिनीहरूलाई राज्यको सुसमाचार बताउन कहिल्यै नछाड्नुहोस्।
३ नातेदारहरूलाई दिक्क नपार्नुहोस् बरु स्फूर्ति दिनुहोस्: येशूले प्रचार गर्नुहुँदा उहाँको कुरा सुन्नेहरूले आफूलाई धम्काइएको होइन तर स्फूर्ति पाएको महसुस गर्थे। (मत्ती ११:२८, २९) येशूले तिनीहरूलाई बुझ्नै नसक्ने कुराहरू सिकाउनुभएर दिक्क पार्नुभएन। तपाईं आफ्ना नातेदारहरूलाई सत्यको पानी दिएर स्फूर्ति दिन चाहनुहुन्छ भने, एकै चोटि एक बाल्टिन होइन तर एक-एक कप गरी दिनुहोस्। यस सम्बन्धमा एक परिभ्रमण निरीक्षकले यसो भने: “थोरै तर अटुट रूपले साक्षी दिएर नातेदारहरूको चासो जगाउने व्यक्तिहरूले राम्रो नतिजा पाउँछन्।” यसरी साक्षी दिंदा विरोधीहरूले समेत चासो देखाउन थाल्नसक्छन् र पछि गएर तिनीहरू सत्यको निम्ति तिर्खाउन पनि सक्छन्।—१ पत्रु. २:२; तुलना गर्नुहोस् १ कोरि. ३:१, २.
४ थुप्रै विवाहित मसीहीहरूले भिन्नै विश्वास भएको पति वा पत्नीलाई चासो लाग्ने लेख पल्टाएर तिनले देख्ने ठाउँमा साहित्यहरू खुलै राखेका छन् र प्रभावकारी साक्षी दिएका छन्। यहाँ भनेजस्तै गरेकी एउटी बहिनी आफ्नो पतिले सुन्ने गरी छोराछोरीहरूसित अध्ययन गर्छिन् र पतिलाई लागू हुने कुराहरू व्याख्या गरेर सुनाउँछिन्। कहिलेकाहीं त तिनले आफ्नो पतिलाई यस्तो प्रश्न पनि सोधिन्: “आज अध्ययन गर्दा मैले यस्तो यस्तो कुरा सिकें। तपाईंलाई कस्तो लाग्छ?” पछि गएर तिनको पतिले सत्य स्वीकारे।
५ धैर्य नगुमाउनुहोस् बरु आदर देखाउनुहोस्: एक जना प्रकाशकले यसो भने: “नातेदारहरूको पनि आफ्नै दृष्टिकोण वा विचारधारा राख्ने अधिकार हुन्छ।” त्यसकारण, तिनीहरूले आफ्नो विचार सुनाउँदा वा सच्चाइका कुनै खास कुराबारे केही नबोल्न बिन्ती गर्दा हामीले आदर देखाउनुपर्छ। (उप. ३:७; १ पत्रु. ३:१५) आफ्नो धैर्य नगुमाएर, मायालु व्यवहार गरेर अनि नातेदारहरूको कुरा राम्ररी सुनेर हामी तिनीहरूले चालै नपाउनेगरि साक्षी दिने उपयुक्त मौकाहरू खोज्नसक्छौं। त्यस्तो धैर्यको नतिजा राम्रो हुन्छ। एक जना मसीही पतिले भिन्नै विश्वास भएकी आफ्नी पत्नीको दुर्व्यवहार २० वर्षसम्म धैर्यपूर्वक सहँदा त्यस्तै राम्रो नतिजा पाए। पत्नीको व्यवहारमा हेरफेर आउने बित्तिकै तिनले यसो भने: “सहनशीलता खेती गर्न मलाई मदत दिनुभएकोमा म यहोवाको असाध्यै ऋणी छु। किनभने त्यही गुनले गर्दा आज मैले त्यसको नतिजा देख्न पाएको छु। अहिले मेरी पत्नी पनि जीवनको बाटोमा हिंड्न थालेकी छिन्!”
६ तपाईंका नातेदारहरू नि? तपाईंको मसीही असल आचरण अनि तिनीहरूका निम्ति गर्नुभएका प्रार्थनाले शायद “तिनीहरू पनि यहोवाको पक्षमा आउन सक्छन् कि।”—१ पत्रु. ३:१, २, पादटिप्पणी, NW.