अनन्त भविष्यबारे ढुक्क हुन परिवारहरूलाई मदत गर्ने
१ कलेजका स्नातक श्रेणीको एउटा कक्षालाई एक जना अर्थशास्त्रीले यसो भने: “लोभ स्वास्थ्यकर हो। तपाईं लोभी हुनु भए तापनि आफ्नोबारे राम्रो धारणा राख्न सक्नुहुन्छ।” आफ्नो भविष्य सुरक्षित राख्न संसारले स्वार्थी हुन सिकाउँछ। माथि उल्लेख गरिएको उदाहरण पनि त्यस्तै एउटा हो। स्वार्थी भावनाहरूको यो उदाहरण विपरीत येशूले मसीही हुनेहरूलाई भन्नुभयो, त्यसले “आफूलाई इन्कार गरोस् . . . किनकि सिंगै पृथ्वी प्राप्त गरेर आफ्नो प्राण चाहिं गुमाउँछ भने, मानिसलाई के लाभ हुनेछ र?” (मत्ती १६:२४-२६) अनन्त भविष्यबारे ढुक्क हुन आफ्नो पूरा जीवन नै परमेश्वरको चाहना अनुरूपको क्रियाकलाप गर्नमा केन्द्रित हुनैपर्छ। यो नै आजको परिवारको लागि सर्वमहत्त्वपूर्ण लक्ष्य हो। (भज. १४३:१०; १ तिमो. ४:८) उक्त जानकारी पारिवारिक आनन्दको रहस्य पुस्तकको अन्तिम अध्यायमा दिइएको छ। यस नयाँ प्रकाशनले मानिसहरूलाई जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो अनि आफ्नो परिवारसँग लाभदायी ढंगमा कसरी व्यवहार गर्ने भन्ने कुरा बुझ्न मदत गर्छ। जहिंतहीं सुसमाचार प्रचार गर्न हामी लगातार लागीपर्दा मानिसहरूलाई पारिवारिक आनन्द पुस्तक पढ्ने प्रोत्साहन दिन हामी के के भन्नसक्छौं? केही सुझाउहरू तल दिइएका छन्:
२ ढोका-ढोका र सडकमा कुराकानी सुरु गर्न “पारिवारिक जीवनको आनन्द उठाउनुहोस्” पर्चा चलाउन सक्नुहुन्छ। तपाईं यसरी सोध्न सक्नुहुन्छ:
▪ “आधुनिक जीवनपद्धतिले उत्पन्न गरेका विभिन्न चिन्ताहरूको वावजूद के हाम्रो परिवार साँच्चै आनन्दित हुनसक्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पर्चाले हामीलाई यस्तो हुनसक्छ भनेर विश्वास दिलाउँछ। तपाईं पढ्न चाहनुहुन्छ कि?” त्यो पर्चा लिएको खण्डमा यसो भन्दै कुरा अघि बढाउन सक्नुहुन्छ: “तपाईंले यस विषयमा चासो देखाउनुभएकोले परिवारमा कसरी आनन्द पाउन सकिन्छ भन्ने विषयबारे पूर्ण जानकारी दिने यो पुस्तक पनि तपाईंलाई पढ्न मन पर्छ होला।” पारिवारिक आनन्द पुस्तकको विषयसूची देखाउनुहोस्। एक दुइटा अध्यायका आकर्षक शीर्षकहरू देखाउनुहोस्। पृष्ठ १० पल्टाउनुहोस् र अनुच्छेद १७ को अन्तिम वाक्यदेखि अनुच्छेद १८ को अन्तसम्म पढ्नुहोस्। पुस्तक प्रस्तुत गर्नुहोस्। अझ बढी कुरा उनलाई बताउन बाँकी छ भनेर राम्ररी बुझाउनुहोस् अनि उनलाई कहिले सम्पर्क राख्न सकिन्छ भनी सोध्नुहोस्।
३ आनन्दित पारिवारिक जीवनसम्बन्धी तपाईंको सुरुको कुराकानी यसो भन्दै फेरि कायम राख्न सक्नुहुन्छ:
◼ “तपाईंले लिनुभएको पुस्तकबाट म तपाईंलाई एउटा कुरा बताउन चाहन्छु। शायद तपाईंले त्यसको मूल्यांकन गर्नुहुन्छ होला। पारिवारिक आनन्दको सही रहस्यबारे अन्तिम अध्यायले बताउँछ। [पृष्ठ १८३ को अनुच्छेद २ पढ्नुहोस्।] पुस्तकको कुञ्जी नै परमेश्वरको इच्छा पूरा गर्न सबै मिलेर काम गर्नु हो भनेर नबिर्सनुहोस्। आपसमा मिलेर बाइबल अध्ययन गर्ने परिवारहरूले परमेश्वरको इच्छा जानून् अनि आफ्नो घरपरिवारमा ती कुराहरू अपनाउन सिकून् भनेर हामी सल्लाह दिन्छौं। हामी तपाईंलाई निश्शुल्क गृह बाइबल अध्ययन गर्न आग्रह गर्छौं। यो अध्ययन केही महिनामै पूरा हुन्छ। तपाईंलाई मन पर्छ भने म यो सञ्चालन गर्ने तरिका देखाउँछु।” फेरि भेट्न जानुहुँदा, परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका अथवा ज्ञान पुस्तकमध्ये जुन त्यस व्यक्तिको लागि बढी उपयुक्त होला जस्तो लाग्छ, त्यही लिएर जानुहोस्।
४ स्कूलमा सहपाठी अथवा प्रचार क्षेत्रमा जवानहरूसँग कुरा गर्दा यस्तो प्रश्न गरे शायद राम्रो प्रतिक्रिया पाउनुहोला:
◼ “आमाबाबु र छोराछोरीबीच खुलस्त कुराकानी हुनु कत्तिको महत्त्वपूर्ण छ? [जवाफ दिने मौका दिनुहोस्।] पारिवारिक जीवनसम्बन्धी यो सानो पुस्तकले ‘विचारहरूको खुलस्त आदानप्रदान’ भन्ने विषयमा के भन्छ, ध्यान दिनुहोस् त। [ पारिवारिक आनन्द पुस्तकको पृष्ठ ६५ बाट अनुच्छेद ४ पूरै र अनुच्छेद ५ को पहिलो वाक्य पढ्नुहोस्।] यसपछिका अनुच्छेदहरूले परिवारमा कसरी कुराकानी राम्ररी गर्न सकिन्छ भनेर व्यवहारिक सल्लाह दिन्छन्। यो पुस्तकको शीर्षक पारिवारिक आनन्दको रहस्य हो। म तपाईंलाई यसको एक प्रति राखेर पढ्न प्रोत्साहन दिन्छु।” उनले पढेका कुराहरूबारे टिप्पणी सुन्न तपाईं फेरि फर्कनुहुनेछ भनेर बताउनुहोस्।
५ आमाबाबु तथा छोराछोरीबीच हुनुपर्ने कुराकानी विषयमा जवानसँग भएको वार्तालाप अगाडि बढाउन तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “तपाईंको परिवारमा खुलस्त कुराकानी हुनु महत्त्वपूर्ण छ भन्ने कुरामा तपाईंले देखाउनुभएको चासोको म मूल्यांकन गर्छु। आमाबाबु र छोराछोरीले छलफल गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण विषय तपाईंलाई कुन हो जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि पारिवारिक आनन्द पुस्तकको पृष्ठ ६८ पल्टाएर अनुच्छेद ११ को सुरुका वाक्यहरूमा पाइने जवाफ पढ्नुहोस्। “हप्तावारी बाइबल अध्ययन गर्नु परमेश्वरको ज्ञान प्राप्त गर्ने उत्तम तरिका हो।” परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका दिनुहोस्। यसका १६ वटा अध्यायहरूमा बाइबलका आधारभूत जानकारी उपलब्ध छन् भनी बताउनुहोस्। पृष्ठ २ मा भएको परिचय पढ्नुहोस् अनि पहिलो अध्याय सँगै मिलेर छलफल गर्नुहोस्।
६ चाहे घर-घरको प्रचारमा होस् या पार्कमा अथवा खेल मैदानमा, बालबच्चा भएको व्यक्ति भेट्नुभयो भने यसो भन्दै तिनको चासो जगाउन सक्नुहुन्छ:
◼ “आजकल छोराछोरी हुर्काउन साँच्चै गाह्रो छ भन्ने कुरामा तपाईं अवश्य सहमत हुनुहुनेछ। यस्ता कुप्रभावहरूबाट तपाईंको परिवारलाई कुन कुराले जोगाउनसक्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यहाँ मलाई एकदमै चित्त बुझेको सल्लाह छ।” पारिवारिक आनन्द पुस्तकको पृष्ठ ९०, अनुच्छेद १ को उदाहरणसँग कुरा जोड्नुहोस् अनि अनुच्छेद २ पढ्नुहोस्। परिवारलाई भताभुंग पार्ने कुप्रभावहरूबाट जोगाउन व्यवहारिक अनि सन्तुलित निर्देशन यसले कसरी दिन्छ, बताउनुहोस्। पुस्तक दिनुहोस् अनि कुनै प्रश्न उठेमा जवाफ दिन उत्सुक हुनुहोस्।
७ “पारिवारिक आनन्द” पुस्तक लिने आमाबाबुलाई दोस्रो पटक भेट्दा तपाईं यसो भन्दै कुराकानी अघि बढाउन सक्नुहुन्छ:
◼ “हाम्रो पहिलो भेटघाट हुँदा तपाईं आफ्ना छोराछोरीलाई राम्ररी हेरविचार गर्नुहुन्छ र खराब प्रभावहरूबाट जोगाउन चाहनुहुन्छ भन्ने कुरा मैले बुझें। हुन त मैले छोडेको पुस्तक तपाईंले पढिसक्नुभएको छैन होला, तर त्यस पुस्तकमा एकदम महत्त्वपूर्ण विचार व्यक्त गरिएको छ। त्यो तपाईंले छुटाउन हुँदैन है। [पृष्ठ ५९ को अनुच्छेद १९ पढ्नुहोस्।] परमेश्वरसँग नजीक हुन उहाँको वचन, बाइबलमा लेखिएका कुराहरू मार्फत उहाँलाई चिन्नु जरुरी छ। हामी पारिवारिक रूपमा कसरी बाइबल अध्ययन गर्छौं, देखाऊँ?”
८ संसारका सल्लाहकारहरूले परिवारलाई आनन्दित हुने तरिका सिकाउन सक्दैनन् बरु तिनीहरूले निराश भने पक्कै पार्छन्। त्यसकारण, पारिवारिक आनन्द पुस्तकको व्यापक वितरण गरौं, ताकि सबै ठाउँका मानिसहरू परमेश्वरको वचनबाट मदत पाएर अनन्त भविष्यबारे ढुक्क हुन सकून्।—१ तिमो. ६:१९.