प्रश्न पेटी
▪ अन्त्येष्टि कार्यक्रममा सहयोग गर्न मण्डलीलाई आग्रह गर्दा निम्न प्रश्नहरू उठ्नसक्छन्:
अन्त्येष्टि भाषण कसले दिने? यो निर्णय मृतकका परिवारका सदस्यहरूले गर्नुपर्छ। राम्रो आचरण भएको बप्तिस्माप्राप्त भाइले यो भाषण दिनसक्छन्। यदि प्राचीनहरूको निकायलाई नै कार्यक्रम सञ्चालन गर्न आग्रह गरियो भने तिनीहरूले प्रायजसो योग्य वक्तालाई सोसाइटीले प्रबन्ध गरेको रूपरेखामा आधारित भाषण दिन छान्नेछन्। मृतकले प्रदर्शित गरेका उदाहरणीय गुनहरूतर्फ ध्यानाकर्षण गर्नु उचित होला तर तिनको धुमधामै प्रशंसा गर्नदेखि भने हामी सतर्क हुनेछौं।
राज्यभवन प्रयोग गर्नु हुन्छ? यदि नियमित सभाहरूमा बाधा पुग्दैन भने प्राचीनहरूको निकायले अनुमति दिएमा प्रयोग गर्न सकिन्छ। यदि मृतक असल नाउँ चलेको र मण्डलीको सदस्य थिए अथवा नाबालिग भए पनि राज्यभवन चलाउन सकिन्छ। यदि उक्त व्यक्ति गैरमसीही आचरण भएर समाजमा कुख्यात थिए अथवा मण्डलीलाई समर्थन नगर्ने अन्य कुराहरूमा मुछिएका थिए भने प्राचीनहरूले भवन चलाउन नदिने निर्णय गर्नसक्छन्।—हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ६२-३ हेर्नुहोस्।
सामान्यतया बेग्लै विश्वास भएकाहरूको अन्त्येष्टि कार्यक्रमको लागि राज्यभवन चलाइँदैन। मृतकका परिवारका सदस्यहरू सक्रिय रूपमा मण्डलीका बप्तिस्मा प्राप्त प्रकाशक हुन्, मृतकलाई मण्डलीका प्रायजसो प्रकाशकहरूले सत्यप्रति सकारात्मक मनोवृत्ति राख्ने व्यक्ति थिए र सांसारिक क्रियाकलापमा संलग्न थिएनन् भनेर चिन्थे भने त्यस्तो अवस्थामा कहिलेकाहीं चलाइन्छ।
राज्यभवन प्रयोग गर्ने अनुमति दिंदा स्थानीय चलनअनुसार अन्त्येष्टि कार्यक्रम भएको ठाउँमा लास राख्ने चलन छ भने, प्राचीनहरूले अनुमति देलान्।
सांसारिक मानिसहरूको अन्त्येष्टि नि? यदि मृतकको समाजमा राम्रो आचरण थियो भने कुनै भाइले घरमा अथवा चिहानमा सान्त्वनादायी बाइबल आधारित भाषण दिन सक्नेछन्। कुनै व्यक्ति अनैतिक आचरणको भनेर चिनिने, गैरकानुनी व्यवहार गर्ने अथवा उसको जीवनपद्धति बाइबल सिद्धान्तसँग पटक्कै मेल नखाने थियो भने, त्यस्तो व्यक्तिको अन्त्येष्टिमा भाषण दिंदा मण्डलीको बदनाम हुनसक्छ। भिन्नै विश्वास भएको व्यक्तिको अन्त्येष्टि कार्यक्रम सञ्चालन गर्दा कुनै हालतमा पनि भाइले धर्मगुरुसँग मिलेर गर्नेछैनन् न ता अन्त्येष्टि भाषण महान् बेबिलोनको चर्चमा नै दिनेछन्।
यदि मृतक बहिष्कृत थिए भने नि? साधारणतया त्यसमा मण्डलीले भाग लिनेछैन न ता राज्यभवन नै प्रयोग गरिनेछ। यदि उक्त व्यक्तिमा पश्चात्तापको मनोवृत्ति देखिन्थ्यो र पुनर्स्थापित हुने इच्छा देखाउँदै थिए भनेर कुनै भाइलाई उचित लाग्यो भने मृतकको घरमा वा चिहानमा बाइबल आधारित भाषण दिएर भिन्नै विश्वास भएकालाई साक्षी दिन र मृतकका आफन्तलाई सान्त्वना दिनसक्छन्। यो निर्णय लिनुभन्दा पहिले उक्त भाइले प्राचीनहरूको निकायसँग राय लिनु र तिनीहरूले कस्तो सिफारिस दिन्छन्, त्यसमा ध्यान दिनु बुद्धिमानी हुनेछ। उक्त भाइले त्यसमा भाग लिनु बुद्धिमानी नहुने परिस्थिति देखियो भने मृतकको परिवारकै सदस्य भएको भाइले नै उक्त भाषण दिनु र आफन्तहरूलाई ढाडस दिनु उपयुक्त हुनेछ।
थप निर्देशन प्रहरीधरहरा (अंग्रेजी), अक्टोबर १५, १९९० पृष्ठ ३०-१; सेप्टेम्बर १५, १९८१, पृष्ठ ३१; मार्च १५, १९८० पृष्ठ ५-७; जून १, १९७८, पृष्ठ ५-८, जून १, १९७७, पृष्ठ ३४७-८; मार्च १५, १९७०, पृष्ठ १९१-२ र ब्यूँझनुहोस्! (अंग्रेजी) सेप्टेम्बर ८, १९९०, पृष्ठ २२-३ अनि मार्च २२, १९७७, पृष्ठ १२-१५ मा पाउन सकिन्छ।