क्षेत्र सेवाको सभा
१. हामी किन क्षेत्र सेवामा व्यवस्थित तरिकाले भाग लिन चाहन्छौं?
१ राज्य-प्रचारकार्यलाई व्यवस्थित र सिपालु ढङ्गमा अगाडि बढाउने सम्बन्धमा येशूले उदाहरण बसाल्नुभयो। त्यसैगरि विश्वव्यापी राज्य-प्रचारकार्य अभियानको जिम्मेवारी पाएकाहरू पनि यस्तै तरिकाले यस कामको रेखदेख गरिएको चाहन्छन्। त्यसकारण विश्वभरिका मण्डलीहरूले प्रचारकार्यमा राज्य प्रचारकहरूको समूह व्यवस्थित गर्न क्षेत्र सेवाको सभालाई एउटा माध्यमको रूपमा प्रयोग गर्छन्।—मत्ती २४:४५-४७; २५:२१; लूका १०:१-७.
२. क्षेत्र सेवाको सभाबाट के आशा गरिन्छ?
२ गजबको प्रबन्ध: प्रचारकार्यमा जान लागेकाहरूलाई प्रोत्साहन, व्यावहारिक सर-सल्लाह तथा निर्देशन दिन क्षेत्र सेवाको सभा तयार गरिएको हो। प्रचारकार्यमा सीधै लागू हुन्छ भने छोटकरीमा दैनिक पद छलफल गर्न सकिन्छ। त्यस दिनको प्रचारकार्यको लागि उपस्थित सबैलाई तयार पार्न कहिलेकाहीं हाम्रो राज्य सेवकाई र छलफल सुरु गर्ने पुस्तिकामा दिइएका सम्झौटाहरू छलफल गर्न सकिन्छ। प्रस्तुत गरिने प्रकाशनको छोटो प्रदर्शन पनि देखाउन सकिन्छ। प्रचारमा आफू कोसँग र कुन इलाकामा जाने हो, समापन प्रार्थना गर्नुअघि सबैलाई थाह भएको हुनुपर्छ। यो सभाको लागि १५ मिनेटभन्दा धेरै समय लिनुहुँदैन र सभा सिद्धिनेबित्तिकै सबै जना इलाकातर्फ लाग्नुपर्छ।
३. क्षेत्र सेवाको सभा प्रबन्ध गर्ने जिम्मेवारी क-कसको हो?
३ यो सभालाई कसरी व्यवस्थित गर्न सकिन्छ? क्षेत्र सेवाको सभा प्रबन्ध गर्ने जिम्मेवारी नेतृत्व लिइरहेका सेवा निरीक्षकको हो। सप्ताहन्तमा समूह निरीक्षकहरू वा तिनीहरूका सहायकहरूले आ-आफ्नो समूहमा सँगै भाग लिनुपर्छ। केही निरीक्षक वा सेवकाई सेवकले मध्य-हप्तामा पनि क्षेत्र सेवा समूहमा भाग लिन सक्लान्। सप्ताहन्तमा घर-घरको प्रचार गर्न आफ्नो समूहको लागि पर्याप्त इलाका होस् भनेर समूह निरीक्षकहरू सेवा निरीक्षकसँग एकदमै नजिक भएर काम गर्छन्। हप्ताभरि समूहलाई क-कसले डोऱ्याउने हो, त्यसको रेखदेख सेवा निरीक्षकले गर्नेछन्।
४-६. (क) मण्डलीको इलाकाको सम्बन्धमा क्षेत्र सेवाको सभाको उद्देश्य के हो? (ख) क्षेत्र सेवाको सभा कहाँ र कहिले गर्ने भनेर निर्धारण गर्न के-के विचार गर्न सकिन्छ?
४ यो सभा कहाँ र कहिले हुनुपर्छ? पूरै मण्डली एकै ठाउँमा भेला हुनुको सट्टा मण्डलीको इलाकालाई राम्रोसँग ढाक्न विभिन्न उपयुक्त ठाउँमा—साधारणतया निजी घरहरूमा यी सभाहरू सञ्चालन गर्ने प्रबन्ध मिलाउनु राम्रो हुन्छ। यसको लागि राज्यभवन पनि प्रयोग गर्न सकिन्छ। थुप्रै मण्डलीले शनिबारको जनभाषण र प्रहरीधरहरा अध्ययनलगत्तै राज्यभवनमै क्षेत्र सेवाको सभा गर्छन्। इलाकामा पुग्न लाग्ने समयलाई सकेसम्म कम गर्ने कोसिस गर्नुपर्छ। त्यसकारण भेलाको लागि प्रबन्ध भइरहेको ठाउँ इलाका प्रभावकारी रूपमा र राम्रोसँग ढाक्न उपयुक्त छ कि छैन, बेला-बेलामा पक्का गर्न सकिन्छ।
५ क्षेत्र सेवाको सभा कहिले गर्ने र हप्तामा कति पटक गर्ने भन्ने कुरा इलाकाको किसिममा भर पर्छ। क्षेत्र सेवाको सभा कहाँ र कहिले गर्नु उपयुक्त हुन्छ भनेर निर्धारण गर्न निम्न प्रश्नहरू मदतकारी हुन सक्छन्।
६ कुन इलाकालाई अझ धेरै ध्यान दिनुपर्छ? घर-घरको प्रचार गर्ने सबैभन्दा उपयुक्त समय कुन हो? के साँझपखको समयलाई घर-घरको प्रचार वा पुनःभेटको लागि मिलाउन सकिन्छ? क्षेत्र सेवाको सम्पूर्ण प्रबन्ध मण्डलीको सूचना पाटीमा टाँस्नुपर्छ। सम्पूर्ण राज्य प्रकाशकहरूको चाहना आफूलाई सुम्पिएको इलाका यत्ति विस्तृत रूपमा ढाक्ने हुनुपर्छ कि हामी पनि प्रेरित पावलले झैं यसो भन्न सक्नेछौं: ‘मेरो निम्ति काम गर्ने अरू ठाउँ छैन।’—रोमी १५:२३, NRV.
७. क्षेत्र सेवा समूह डोऱ्याउने व्यक्तिको जिम्मेवारी के हो?
७ क्षेत्र सेवाको सभा सञ्चालन: राम्रो तयारी गरेर यो सभा सञ्चालन गर्ने जिम्मेवारी पाएको व्यक्तिले यस ईश्वरतान्त्रिक प्रबन्धप्रति गहिरो आदर देखाउँछन्। यो सभा समयमै सुरु गर्नुपर्छ र शिक्षाप्रद तथा छोटो हुनुपर्छ। यो सभाको जम्मा समय १० देखि १५ मिनेट हो। सञ्चालकसँग सभा सुरु हुनुअगाडि नै समूहको लागि इलाका हुनुपर्छ। क्षेत्र सेवाको सभा सिद्धिएपछि ढिलो आउनेहरूलाई कुर्नु आवश्यक नपरे तापनि समूहले कहाँ काम गर्नेछ भन्ने खबर छोडिदिनु मदतकारी हुन सक्छ। सभा सिद्धिनेबित्तिकै सबै जना आफूलाई खटाइएको इलाकातर्फ लागिहाल्नुपर्छ। क्षेत्र सेवाको व्यवस्थित र शिक्षाप्रद सभाले उपस्थित सबैलाई त्यस दिनको प्रचारकार्य पूरा गर्न निश्चय नै आवश्यक निर्देशन दिनेछ।—हितो. ११:१४.
८. क्षेत्र सेवाको सभामा उपस्थित भएकाहरूले नेतृत्व लिइरहेकाहरूलाई कुन-कुन तरिकामा सहयोग गर्न सक्छन्?
८ क्षेत्र सेवाको सभामा उपस्थिति: आपसी सहयोग चाहिन्छ। (हिब्रू १३:१७) कसैलाई मदत चाहिएको छ भने सम्भव भएसम्म समूहलाई डोऱ्याइरहेका व्यक्तिले मदत गर्नेछन्। नयाँ र कम अनुभवी प्रकाशकहरूलाई मदत गर्न अनुभवी प्रकाशकहरू क्षेत्र सेवाको सभामा उपस्थित हुनु राम्रो हो। बेलाबेलामा भिन्नाभिन्नै प्रकाशकसँग काम गर्न इच्छुक व्यक्तिले राम्रो नतिजा प्राप्त गर्न सक्छन्। (हितो. २७:१७; रोमी १५:१, २) समयमै उपस्थित हुन सबैले सक्दो प्रयास गर्नुपर्छ। यस ईश्वरीय प्रबन्धप्रतिको आदर र हाम्रा ख्रीष्टियान भाइबहिनीप्रतिको चासोले हामीलाई यस सम्बन्धमा आवश्यक छाँटकाँट गर्न प्रेरित गर्नेछ।—२ कोरि. ६:३, ४; फिलि. २:४.
९. के-कस्ता बहुमूल्य तरिकामा अग्रगामीहरूले यस प्रबन्धलाई समर्थन गर्न सक्छन्?
९ अग्रगामीहरूको समर्थन: क्षेत्र सेवाको सभामा अग्रगामीहरूको समर्थन सबैको लागि बहुमूल्य र प्रोत्साहनदायी हुन्छ। हो, अग्रगामीहरूका थुप्रै जिम्मेवारी हुन्छन्। बाइबल अध्ययन सञ्चालन गर्नु र पुनःभेट गर्नुको अलावा उनीहरूको दैनिक तालिकामा पारिवारिक जिम्मेवारीहरू वहन गर्नु र जागिर खानु पनि पर्न सक्छ। त्यसैले मण्डलीले आयोजना गरेको क्षेत्र सेवाको प्रत्येक सभामा—अझ विशेषगरि हरेक दिन छ भने ती सबैमा भाग लिनुपर्ने बाध्यता अग्रगामीले महसुस गर्नुपर्दैन। तथापि, कम से कम हरेक हप्ताको केही सभामा भने अग्रगामीहरू उपस्थित हुन सम्भव हुन सक्छ। क्षेत्र सेवाको सभाले केही हदसम्म मण्डलीका सदस्यहरूलाई प्रशिक्षण दिन्छ अनि अग्रगामीहरूसित भएको बाइबलसम्बन्धी ज्ञान र प्रचारकार्यको अनुभवले अरूलाई धेरै मदत पुऱ्याउन सक्छ। प्रचारकार्यमा गइरहने भएकोले अग्रगामीहरूले प्रचारकार्यबाट धेरै अनुभव बटुलेका छन्। यसलाई बाँड्न सकिन्छ। प्रचारमा र क्षेत्र सेवाको सभामा जोसिलो भएर भाग लिएकोले उनीहरू अनुकरण गर्नुपर्ने उदाहरण भएका छन्। अनि क्षेत्र सेवाको सभामा उनीहरूको सहभागिताको असाध्यै कदर गरिन्छ।
१०. सम्पूर्ण राज्य प्रकाशकहरूले यस प्रबन्धलाई पूरापूर समर्थन गर्नु किन उपयुक्त छ?
१० येशू र उहाँका चेलाहरूले जस्तै अहिले हामी पनि राज्यको सुसमाचार प्रचार गर्दा मुख्यतः घरघरमा प्रचार गर्छौं किनकि राज्य-प्रचारको मुख्य भाग घर-घरको साक्षीकार्य हो। आपसमा प्रोत्साहन मिलोस् र प्रचारकार्यमा प्रभावकारी तरिकामा भाग लिन सकियोस् भनेर क्षेत्र सेवाको सभा आयोजना गरिन्छ। सुसमाचारका सम्पूर्ण प्रकाशकहरूले यस्ता ईश्वरतान्त्रिक प्रबन्धलाई सकेजति समर्थन गर्नुपर्छ। (प्रेरि. ५:४२; २०:२०, NRV) क्षेत्र सेवाको सभालाई समर्थन गर्न हामीले जे-जस्तो छाँटकाँट गर्नुपर्छ, सबै गरौं। यसो गरेमा यहोवाबाट प्रशस्त आशिष् पाउने कुरामा ढुक्क हुन सक्छौं र परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दा हाम्रा नेता येशू ख्रीष्टको हृदय आनन्दित तुल्याउन सक्छौं।—मत्ती २५:३४-४०; २८:१९, २०.