बाइबल—परमेश्वरले सबैका लागि दिनुभएको निर्देशन पुस्तक
१ सालाखाला चार अरब प्रति बाइबल २,१०० भन्दा धेरै भाषामा छापिसकिएका छन्। यसको मतलब पृथ्वीका ९० प्रतिशत जनताले परमेश्वरको वचन पढ्नसक्छन्। तथापि, वर्तमान संसारमा अझै पनि “परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल” चलिरहेको छ। (आमो. ८:११) थुप्रै मानिसहरू या त बाइबल भएर पनि पढ्दैनन् वा पढेर पनि बुझ्दैनन्। तिनीहरूलाई जीवन व्यतीत गर्ने व्यवहारिक निर्देशन पुस्तकको रूपमा बाइबल प्रयोग गर्न हामी कसरी उत्प्रेरित गर्नसक्छौं?
२ हामी यो डिसेम्बर महिनामा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ, बाइबलका कथाहरू भएको मेरो पुस्तक, आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् पुरुष वा जुलाई महिनाको हाम्रो राज्य सेवकाई-अनुसार विशेष मूल्यमा दिन सकिने कुनै पनि किताब टक्राउनेछौं। यो किताब लिने व्यक्तिले चासो देखाएमा, नयाँ विश्व अनुवाद बाइबल पनि दिनसक्छौं, जसले बितेका ४७ वर्षदेखि हामीलाई लाभ पुऱ्याइरहेको छ। बाइबल टक्राउनुपर्दा त्यसको स्पष्ट अनि आधुनिक भाषालाई आधार बनाइ टक्राउनसक्छौं। (“हरेक धर्मशास्त्र” [अंग्रेजी] भन्ने किताबको पृष्ठ ३२८ अनुच्छेद ६ हेर्नुहोस्।) बाइबललाई परमेश्वरले दिनुभएको निर्देशन पुस्तकको रूपमा स्वीकार्न मानिसहरूलाई सकभर मदत गरेर हामी यहोवाले दिनुभएको अमूल्य वरदान अर्थात् बाइबलप्रति गहिरो मूल्यांकन प्रदर्शित गर्नेछौं।
३ “तपाईं किन बाइबलमा विश्वास गर्न सकनु हुन्छ” भन्ने पर्चा चलाएर तपाईंले कुरा सुरु गर्न सक्नुहुन्छ। तपाईं भन्न सक्नुहुन्छ:
▪ “विश्वको ९० प्रतिशतभन्दा धेरै जनताले बाइबल पढ्नसक्ने भए तापनि नियमित तवरमा बाइबल पढ्नेहरू कमै छन्। तपाईंलाई यसको कारण के होला जस्तो लाग्छ?” पर्चाको पहिलो दुइ अनुच्छेद अनि त्यसपछि २ तिमोथी ३:१६ पढ्नुहोस्। घरधनीको रुचि हेरी माथि उल्लेख गरिएका पुस्तकहरूमध्ये कुनै एउटाको विशेषता बताउनुहोस् र किताब टक्राउनुहोस्। घरधनीले लिन इन्कार गरेमा पर्चाका बाँकी अनुच्छेदहरू पढ्न आग्रह गर्नुहोस्। “भविष्यको बारेमा पूर्व बताउँनु” भन्ने उपशीर्षक बुझाउनुहोस्।
४ “तपाई किन बाइबलमा विश्वास गर्न सकनु हुन्छ” भन्ने पर्चा जसकहाँ छाड्नुभएको थियो, त्यहाँ जानुहुँदा तपाईं यसो गर्न सक्नुहुन्छ:
▪ पुनः चिनापर्ची गरिसकेपछि पर्चाका अन्तिम दुइ अनुच्छेदहरू पढ्नुहोस्। पृथ्वीमा सधैंभरि बाँच्न सकिन्छ कि भनेर कहिल्यै कल्पना गर्नुभएको छ भनेर घरधनीलाई सोध्नुहोस्। घरधनीले जवाफ दिएपछि, यसो भन्नुहोस्: “परमेश्वरले चाहनुभएबमोजिम गर्नेजति सबैले उज्ज्वल भविष्य पाउनेछन् भनेर बाइबलले गरेको भविष्यवाणीलगायत अरू सबै भविष्यवाणी पूरा हुनेछन् भन्ने कुरामा यहोवाका साक्षीहरू पूरा विश्वास गर्छन्।” चाहनुहुन्छ पुस्तिकाको १३ औं पृष्ठको चित्र देखाउनुहोस्। त्यसपछि अध्याय ५ पल्टाएर त्यहाँ दिइएका प्रश्नहरू छलफल गरौं न भनेर आग्रह गर्नुहोस् र अध्ययन सुरु गर्नुहोस्।
५ धर्ममा विश्वास गर्ने मानिसहरू भएको इलाकामा तपाईंले यसो भनेर कुरा सुरु गर्ने कोसिस गर्न सक्नुहुन्छ:
▪ “हामी मानिसहरूलाई बाइबलको अझ कदर गर्न प्रोत्साहन दिइरहेका छौं। थुप्रै परिवारसित बाइबल भए तापनि गम्भीर समस्याहरू आइपर्दा कमैले बाइबल पल्टाएर हेर्छन्। के तपाईंलाई पनि यस्तै लागेको थियो? [जवाफ दिने मौका दिनुहोस्।] सायद बाइबल उहिले जमानाको किताब हो भन्ने तिनीहरूलाई लागेको होला। तर बाइबल वैज्ञानिक तवरमा सही छ र यसले वर्तमान समयका ठूलठूला समस्याहरूको व्यवहारिक जवाफ दिन्छ भनेर यो किताबले (यो महिनामा टक्राइने कुनै पनि किताब) चित्तबुझ्दो प्रमाण दिन्छ।” किताबको दुइचारटा विशेषता बताएपछि घरधनीको हातमा थमाइदिनुहोस्।
६ किताब लिने व्यक्तिकहाँ फर्केर जाँदा तपाईं यसो पनि भन्न सक्नुहुन्छ:
▪ “मानिसहरूले हाल भोगिरहेका जटिल समस्याहरूको समाधान बाइबलले कसरी दिन्छ भनेर अस्ति आउँदा छलफल गरेका थियौं। बाइबललाई परमेश्वरको वचनको रूपमा स्वीकार्ने मानिसहरूले सुखी अनि सन्तोषप्रद जीवन बिताउने मदत पाएका छन्। कसरी, मैले अस्ति छोडेको किताबमा वर्णन गरिएका बाइबलका व्यवहारिक सिद्धान्तहरूमध्ये एउटा देखाऊँ है त?” तपाईंले दिनुभएको किताबबाट कुनै एउटा धर्मशास्त्रीय सिद्धान्त छलफल गर्नुहोस्। घरधनीले चासो देखाएमा ज्ञान किताब वा चाहनुहुन्छ पुस्तिकाबाट अध्ययन गर्ने प्रस्ताव राख्नुहोस्।
७ यहाँ तल भनेजस्तो गरी कुरा गरेमा बूढापाकाहरूलाई चासो लाग्नसक्छ:
▪ “त्यस्तो समय पनि थियो जुनबेला घर-घरमा बाइबल पढिन्थ्यो, परिवारहरू त्यसका सिद्धान्तअनुसार जीवन बिताउँथे। यहाँ पनि यस्तै परिवारमा हुर्कनुभएको थियो कि? [जवाफ दिने मौका दिनुहोस्।] तर आज हेर्नुहोस् त, प्रायजसो मानिसहरू आ-आफ्नो काममा भुलेर बाइबल पढ्ने समय नै निकाल्न नसकेको जस्तो वा बाइबलका नैतिक सिद्धान्तहरू पुराना भइसके भन्ठानेजस्तो देखिन्छ। तथापि, यही बाइबल अध्ययन गर्दा जीवनको रंगढंगै परिवर्तन भएका थुप्रै मानिसहरू पनि छन्। तपाईं चाहनुहुन्छ भने परमेश्वरको वचनको शक्तिले कसरी तिनीहरूलाई मदत गऱ्यो, त्यसबारे बताउने यो किताब तपाईंलाई छोड्न चाहन्छु।” यस महिनामा टक्राउने भनिएको कुनै एउटा किताब दिनुहोस्।
८ पुनः भेट्न जाँदा तपाईं भन्नसक्नुहुन्छ:
▪ “अस्ति तपाईंलाई भेट्दा हामी दुवैले बाइबलका नैतिक सिद्धान्तहरूलाई अचेल हाम्रो समाजले बेवास्ता गर्छ भनेर कुरा गरेका थियौं। तपाईंलाई कस्तो लाग्छ, मानिसहरूले यसरी बाइबललाई बेवास्ता गर्दा हामीलाई चिन्ता लाग्नुपर्ने होइन र? [जवाफ दिने मौका दिनुहोस्।] येशू ख्रीष्टले बाइबलको ज्ञान लिनु असाध्यै आवश्यक छ भनेर जोड दिनुभएको थियो।” यूहन्ना १७:३ पढ्नुहोस्। पढेपछि ज्ञान किताबको पहिलो अध्याय पल्टाएर पाँचौं अनुच्छेद पढ्नुहोस्। निश्शुल्क बाइबल अध्ययन गर्ने हाम्रो के-कस्तो कार्यक्रम छ, खुलाउनुहोस् र कसरी अध्ययन गरिन्छ देखाऊँ कि भनेर आग्रह पनि गर्नुहोस्।
९ परमेश्वरले सबैका निम्ति दिनुभएको निर्देशन पुस्तकमाथि तपाईंले यो महिना अरूको ध्यान तान्ने प्रयास गर्नुहुँदा यहोवाको आशिष् रहोस् भनेर प्रार्थना गर्नुहोस्।