आशिष् साबित हुनसक्ने भेटघाट
१ येशूको अतिथि-सत्कार गर्नपाउनु जक्कैको निम्ति आनन्दको कुरा थियो। अनि त्यो भेटघाट कस्तो आशिष् साबित भयो!—लूका १९:२-९.
२ आज, मण्डलीका शिरको हैसियतमा येशू ख्रीष्टले प्राचीनहरूलाई “परमेश्वरको बगालको गोठालो” हुन निर्देशन दिनुहुन्छ। (१ पत्रु. ५:२, ३; यूह. २१:१५-१७) मण्डलीका निरीक्षकहरूले सभाहरूमा सिकाउनु र क्षेत्र सेवामा नेतृत्व लिनुको अलावा मण्डलीका प्रत्येक सदस्यलाई मायालु व्यक्तिगत सहयोग दिन्छन्। तसर्थ, चाहे घर तथा राज्यभवनमा होस् या क्षेत्र सेवामा सँगै छँदा वा अरू अवसरहरूमै किन नहोस्, समय समयमा प्राचीनहरूले तपाईंको व्यक्तिगत चासो लिएको तपाईं आशा गर्नुहुन्छ होला। प्राचीनहरू भेटघाट गर्न आउँदा डराउनुपर्छ र? अहँ, पर्दैन। तिनीहरू तपाईंसित भेटघाट गर्न आउनुको अर्थ तपाईंले कुनै न कुनै गल्ती गर्नुभएकोले गर्दा हो भन्ने होइन। त्यसोभए, गोठालोरूपी भेटघाटको उद्देश्य के हो त?
३ ‘भाइहरू के कस्ता छन् भनेर हेर्न’ पावल तिनीहरूलाई भेट्न चाहन्थे भनेर तिनले भने। (प्रेरि. १५:३६) हो, मायालु गोठालोको हैसियतमा प्राचीनहरू तपाईंसित भलाकुसारी गर्न एकदमै चासो लिन्छन्। तिनीहरू तपाईंलाई मदतकारी र प्रोत्साहनदायी हुनसक्ने आध्यात्मिक सहयोग दिन चाहन्छन्। हाम्रा मायालु गोठालो यहोवा यस्तै व्यक्तिगत हेरचाह हामी सबैले पाऊन् भन्ने चाहना राख्नुहुन्छ।—इज. ३४:११.
४ प्राचीनहरूको भेटघाट सहर्ष स्वीकार्नुहोस्: पावलले आफ्ना भाइहरूलाई भेट्नुको उद्देश्य ‘तिनीहरूलाई स्थिर गराउनाको खातिर केही आत्मिक वरदान तिनीहरूलाई दिन र तिनीहरूले आपसमा . . . सान्त्वना पाऊन्’ भन्ने थियो। (रोमी १:११, १२) यी आखिरी कठिन समयमा हामी सबैलाई आध्यात्मिक प्रोत्साहनको खाँचो पर्छ र विश्वासमा स्थिर भइरहन मदत चाहिन्छ। तपाईंले गोठालोरूपी भेटघाटप्रति सकारात्मक प्रतिक्रिया देखाउनुहुँदा निस्सन्देह एकअर्काप्रति प्रोत्साहन बाँड्न सक्नुहुनेछ।
५ प्राचीनहरूको गोठालोरूपी कार्यबाट पाइने थुप्रै फाइदाहरूको मूल्यांकन गर्नुहोस्। तपाईंलाई चासो लागेको कुनै विषय वा प्रश्न छ भने नबिर्सनुहोस्, मदतका लागि मण्डलीमा प्राचीनहरू छन्। तपाईंको आध्यात्मिक हितलाई असर गर्नसक्ने कुनै पनि कुराबारे तिनीहरूसित छलफल गर्न नहिचकिचाउनुहोस्। यहोवाको यस मायालु प्रबन्धको मोल गर्नुहोस् र यस्तो भेटघाटले ल्याउनसक्ने आशिष्हरूमा रमाउनुहोस्।