पत्रिका रुटमा “राज्यको बीउ छर्ने”
१ यहोवाको प्रशंसा गाउनुहोस् (अंग्रेजी) गीतिपुस्तकमा गीत १३३ को शीर्षक “राज्यको बीउ छर्ने” हो। यो गीत येशूले चेला बनाउने कामलाई बीउ छर्नेसित तुलना गर्नुभएको दृष्टान्तमा आधारित छ। (मत्ती १३:४-८, १९-२३) यो गीतको बोल छ: “असल जमिनमा तपाईंले कति बीउ छर्नुहुन्छ/धेरै हदसम्म त्यो तपाईंमै निर्भर हुन्छ।” हामी सेवकाईमा अझ धेरै प्रभावकारी कसरी हुनसक्छौं? एउटा तरिका पत्रिका रुट स्थापना गरेर त्यसलाई निरन्तरता दिएर हो।
२ पत्रिका रुटद्वारा विभिन्न लक्ष्य पूरा गर्न सकिन्छ। (१) हरेक दुई हप्तामा नियमित तवरमा जिज्ञासु व्यक्तिलाई भेट्दा तिनीसित मित्रैलो सम्बन्ध कायम गर्न सकिन्छ। (२) तपाईंले त्यस व्यक्तिलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मा भएको जीवनदायी जानकारी नियमित तवरमा दिइरहनुभएको हुनेछ। (३) तपाईंले आफ्नो वार्तालापद्वारा त्यस व्यक्तिलाई धर्मशास्त्रमा भएका सत्य कुराहरू सिक्न अझ इच्छुक बनाइरहनुभएको हुनसक्छ।—१ पत्रु. २:२.
३ पत्रिका रुट कसरी सुरु गर्ने: कुनै पनि व्यक्तिले पत्रिकामा चासो देखाउने बित्तिकै हरेक अंकमा उल्लेखनीय लेखहरू आउनुका साथै हरेक दुई हप्तामा एक चोटि ती पत्रिकाहरू तपाईंले खुसीसाथ ल्याइ दिनसक्ने कुरा बताउनुहोस्। उक्त व्यक्तिसँग छुट्टिएपछि तिनको नाउँ तथा ठेगाना, भेटेको दिन, कुन अंक दिनुभएको, देखाउनुभएको लेख र तिनले विशेष चासो देखाएको विषय सबै टिप्नुहोस्।
४ तपाईंले पत्रिका रुट सुरु गर्दा धेरै मानिसहरू नै हुनुपर्छ भन्ने छैन। अझ मानिसहरू थप्दै तपाईंले बिस्तारै पत्रिका रुटलाई बढाउन सक्नुहुन्छ। रुट बढ्न थालेपछि तपाईंले इलाकाअनुसार छुट्याउन सक्नुहुन्छ, यसो गर्दा तपाईंलाई रुट ढाक्न सजिलो हुन्छ। हरेक भेटमा कुन अंक कहिले दिनुभयो राम्ररी रेकर्ड राख्नुहोस्। तपाईंको वार्तालापको विषय अनि अर्को भेटमा सत्यप्रति त्यस व्यक्तिको कसरी चासो जगाउने, त्यसको टिपोट लिनुहोस्।
५ व्यापारी तथा अन्य पेशामा संलग्न मानिसहरूलाई पनि समावेश गर्नुहोस्: पसले तथा अन्य पेशा अपनाउनेहरूले अक्सर हाम्रा पत्रिकाहरू स्वीकार्छन् भनेर अनुभवले देखाएको छ। एक प्राचीनको पत्रिका रुटमा त्यस शहरको नगरप्रमुखसमेत समावेश थियो। लगातार पत्रिका दिएको दस वर्षपछि एक प्रकाशकले निमार्ण सामाग्री आपूर्ति गर्ने कम्पनीका ८० वर्षीय मालिकसित अध्ययन सुरु गरे!
६ एउटी अग्रगामी बहिनी एउटा पसलमा पसिन् र एक दम्पतीलाई भेटिन्। तर तिनीहरूले बहिनीसित त्यति राम्रो व्यवहार गरेनन्। तथापि, तिनीहरूले पत्रिका स्वीकारेको हुँदा बहिनीले त्यस दम्पतीलाई पनि आफ्नो पत्रिका रुटमा समावेश गर्ने निर्णय गरिन्। केही समयपछि त्यस बहिनीलाई तिनीहरूकहाँ पत्रिका दिन नजाऊँ जस्तो लाग्न थाल्यो किनभने तिनीहरू असाध्यै अमित्रैलो हुनुका साथै बहिनीले तिनीहरूको दृष्टिकोण बुझ्न प्रश्न गर्दासमेत राम्ररी जवाफ दिंदैनथे। तर बहिनीले यस विषयमा प्रार्थना गरिन् र आखिरमा तिनीहरूलाई सधैंभरि बाँच्नुहुन्छ पुस्तक दिइन्। उक्त पुस्तक पढेपछि पत्नीले साह्रै खुसी हुँदै यसो भनिन्: “बल्ल मैले सत्य पाएँ!” बाइबल अध्ययन सुरु भयो र पछि त्यस दम्पतीले बप्तिस्मा लियो। त्यस अग्रगामीको लगनशीलताले साँच्चै राम्रो फल फलायो।
७ पुनःभेट गर्ने: नयाँ पत्रिका पाउने बित्तिकै प्रत्येक लेख पढ्नुहोस्। तपाईंको रुटमा भएका व्यक्तिहरूलाई चासो लाग्ने बुँदाहरू खोज्नुहोस्। अनि तिनीहरूकहाँ जानुहुँदा तपाईं यसो भन्न सक्नुहुन्छ: “यो लेख पढ्दा मैले तपाईंलाई सम्झिनुका साथै यसले तपाईंलाई कसरी फाइदा गर्छ होला भनी विचार गरिरहेको थिएँ।” सबै उमेरका प्रकाशकहरूले पत्रिका रुटको आनन्द उठाउनसक्छन्। केटाकेटीहरूले समेत यसो भन्नसक्छन्: “तपाईंलाई फेरि भेट्न पाउँदा खुसी लाग्यो। तपाईंको नयाँ प्रहरीधरहरा र ब्यूँझनुहोस्! आइपुगेका छन्। तपाईंलाई यो . . . शीर्षक भएको लेख मन पर्छ होला।”
८ “हाम्रो आउने अंकमा” भन्ने पेटी देखाएर आउँदो लेखहरूमा इच्छा जगाउनुहोस्। श्रृंखलाबद्ध लेख आउँदा त्यो बताउनुहोस् अनि कुनै पनि भाग नछुट्टयाउन प्रोत्साहित गर्नुहोस्। स्मरण रहोस्, पत्रिका रुटको मानिसलाई हरेक चोटि पत्रिका दिंदा तपाईंले पुनःभेटको रूपमा गन्न सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो लक्ष्य गृह बाइबल अध्ययन सुरु गर्ने हो भनेर पनि नबिर्सनुहोस्।
९ तपाईंको रुटका मानिसहरूलाई नियमित तवरमा भेट्नुहोस्: तपाईं आफ्नो पत्रिका रुटमा आफूलाई पायक पर्ने जुनसुकै बेलामा पनि जान सक्नुहुन्छ। जस्तै, सप्ताहन्तमा घर-घर प्रचारकार्यमा भाग लिएपछि अनि सप्ताहन्तबाहेक अन्य दिन बिहान, दिउँसो वा बेलुकी जान सक्नुहुन्छ। बिसञ्चो हुँदा वा बिदामा जानुहुँदा तपाईंको अनुपस्थितिमा आफ्नो परिवारमा भएको अर्को प्रकाशक वा मण्डलीलाई पत्रिका दिन आग्रह गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईंको रुटमा भएका मानिसहरूले समयमै आ-आफ्नो पत्रिका पाउनेछन्।
१० राज्यको बीउ छर्ने एउटा तरिका पत्रिका रुटमा भएकाहरू सबैलाई नियमित तवरमा प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका दिनु हो। तपाईंले तिनीहरूलाई धर्मशास्त्रीय सत्य सिकाउँदै जाँदा सायद तिनीहरूले राज्यको अर्थ बुझ्नसक्लान् र अन्ततः तपाईंसँगसँगै राज्य फल फलाउनेछन्।—मत्ती १३:८, २३.