नेतृत्व लिने निरीक्षकहरू— ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षक
१ ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षक प्रचार तथा शिक्षा दिने काममा परिश्रम गर्ने आध्यात्मिक तवरमा पाको व्यक्ति हुन् र तिनी हाम्रो आदर तथा सहयोगको योग्य छन्। (१ तिमो. ५:१७) तिनका जिम्मेवारीहरू के के हुन्?
२ तिनले राज्यभवनको ईश्वरतान्त्रिक सेवकाई स्कूल पुस्तकालयको देखभाल गर्छन्। तिनी स्कूलमा भाग लिन योग्य भाइबहिनीहरूलाई प्रोत्साहन दिन तत्पर हुन्छन्। हरेक स्कूल कार्यक्रम हुनुभन्दा कमसेकम तीन हप्ताअघि नै व्यवस्थित ढंगमा असाइनमेन्टहरू दिन सही रेकर्डहरू राखेको छ, छैन तिनले पक्का गर्छन्। प्रत्येक विद्यार्थी तथा तिनका क्षमताहरू मनमा राख्नुका साथै तिनले मण्डलीका सबैलाई राम्ररी चिनेको हुनुपर्छ। स्कूलको तालिका तयार पार्न तिनलाई अर्को भाइले सघाउन सक्ने भए तापनि असाइनमेन्टहरू दिंदा निरीक्षक आफैले व्यक्तिगत ध्यान दिनु आवश्यक छ।
३ निरीक्षकले स्कूलमा प्रभावकारी ढंगमा शिक्षा दिन हरेक हप्ता लगनशील भई तयारी गर्नुपर्छ साथै निर्दिष्ट विषयवस्तुहरू सबै राम्ररी अध्ययन गर्नुपर्छ। यसो गर्दा मण्डलीलाई स्कूलमा चलाइने पुस्तकहरू अध्ययन गर्न उत्साहित गर्नसक्छन्, तोकिएको विषयवस्तु ठीकसँग ढाकिएको छ कि छैन भनी पक्का गर्नसक्छन् तथा लिखित पुनरावृत्तिमा समावेश गरिने महत्त्वपूर्ण बुँदाहरू प्रकाश पार्नसक्छन्।
४ हरेक विद्यार्थी भाषणपछि निरीक्षकले विद्यार्थीको प्रशंसा गर्छन् र वाक्कौशलको कुन बुँदा किन राम्रो थियो अनि कुनमा उन्नति गर्नुपर्छ भनी बताउँछन्। अनि कसैलाई स्कूलका असाइनमेन्टहरू तयार पार्न थप मदत चाहिएमा निरीक्षक वा तिनले खटाएको कुनै भाइले व्यक्तिगत मदत दिनसक्छन्।
५ ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकको परिश्रम तथा तिनको निर्देशनअनुसार चल्ने सल्लाहकारहरूबाट पूर्णतया फाइदा उठाउन हामी नियमित तवरमा स्कूलमा उपस्थित हुनुपर्छ। हामीले आफ्ना असाइनमेन्टहरू पनि पूरा गर्नुपर्छ र आफू तथा अन्य विद्यार्थीहरूले पाएको सल्लाह लागू गर्नुपर्छ। यसप्रकार जनसमक्ष र घर-घर राज्य सन्देश प्रचार गर्ने हाम्रो क्षमतामा क्रमिक रूपले उन्नति हुनेछ।—प्रेरि. २०:२०; १ तिमो. ४:१३, १५.