प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 नोभेम्बर pp. ३-६
  • तपाईंको सेवकाईमा प्रभावकारी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको सेवकाईमा प्रभावकारी हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • तपाईं व्यक्‍तिगत इलाका लिएर प्रचार गर्न चाहनुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
  • तपाईंको समयलाई प्रभावकारी ढंगमा प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
  • प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 नोभेम्बर pp. ३-६

तपाईंको सेवकाईमा प्रभावकारी हुनुहोस्‌

१ आकाश अँध्यारो हुन्छ र डरलाग्दो आवाज झन्‌ झन्‌ चर्को हुन्छ। त्यसपछि धूवाँको मुस्लोजस्तो बादल आउँछ। त्यो के हो? सम्पूर्ण भूमिलाई सखाप पार्न आएका करोडौं सलहहरूको बथान! अगमवक्‍ता योएलले वर्णन गरेका यो दृश्‍य आज हाम्रो समयमा यहोवाका अभिषिक्‍त जनहरू तथा तिनीहरूका सहयोगी अर्थात्‌ ठूलो भीडले गरिरहेको प्रचार कार्यमा पूरा भएको छ।

२ मे १, १९९८, प्रहरीधरहरा-को पृष्ठ ११, अनुच्छेद १९ ले यस्तो टिप्पणी गऱ्‍यो: “परमेश्‍वरको आधुनिक समयका सलहरूपी सेनाले मसीहीजगत्‌को ‘शहरमा’ पूर्णतया साक्षी दिइसकेका छन्‌। (योएल २:९) . . . तिनीहरूले अहिले पनि यहोवाको सन्देश सुनाउन अनेकन्‌ अवरोधहरू उछिनेका छन्‌, करोडौं मानिसहरूको घरमा गइरहेका छन्‌, सडकमा मानिसहरूसित भेटेर कुरा गरिरहेका छन्‌, फोन मार्फत तिनीहरूसित कुराकानी गरिरहेका छन्‌ र तिनीहरूलाई जसरी भए पनि भेट्‌न खोजिरहेका छन्‌।” परमेश्‍वरले सुम्पनुभएको यस कार्यमा भाग लिन पाउनु के एउटा महान्‌ सुअवसर होइन र?

३ खाने मात्र काम गर्ने सलहहरूजस्तो नभई हामी यहोवाका सेवकहरू आफूले प्रचार गरेका मानिसहरूको जीवनको धेरै ख्याल पनि गर्छौं। परमेश्‍वरको वचनमा भएको गौरवशाली सत्य सिक्न अरूलाई मदत गरेर अनन्त उद्धार पाउन आवश्‍यक कदम चाल्न उत्प्रेरित गर्न चाहन्छौं। (यूह. १७:३; १ तिमो. ४:१६) तसर्थ, हामी आफ्नो सेवकाईमा प्रभावकारी हुन चाहन्छौं। प्रचार गर्न जस्तोसुकै तरिका अपनाइए तापनि हामीले राम्रो नतिजा प्राप्त हुने शैली र समयमा गरिरहेका छौं कि छैनौं भनी विचार गर्नुपर्छ। “यस संसारको रूप बितेर जाँदै” गरेकोले हामीले सकेसम्म फलदायी हुने चुनौतीको सामना गरिरहेका छौं कि छैनौं, पक्का गर्न आफ्ना प्रस्तुतिहरू पुनः जाँच्नु बेस हुनेछ।—१ कोरि. ७:३१.

४ हामीले विभिन्‍न तरिकामा मानिसहरूलाई भेट्‌ने कोसिस गरे तापनि आज पनि हाम्रो सेवकाईको मुख्य भाग घर-घरको प्रचारकार्य नै हो। के तपाईं घर-घर जाँदा अक्सर कोही नभएको वा सुतिरहेको भेट्टाउनुहुन्छ? तिनीहरूसित सुसमाचारको सन्देश बाँड्‌न नपाउँदा साह्रै दिक्क लाग्छ! त्यसोभए, तपाईंले कसरी यस चुनौतीको सामना गर्न सक्नुहुन्छ?

५ लचकदार र व्यवहारिक हुनुहोस्‌: प्रथम शताब्दीताक इस्राएलमा जालहारीले राति माछा मार्ने काम गर्थे। किन राति? यो समय तिनीहरूको निम्ति सुविधाजनक नभए तापनि राति धेरै माछा समात्न सकिन्थ्यो। जालहारीको निम्ति त्यही नै सबैभन्दा फलदायी समय हुन्थ्यो। यस चलनबारे टिप्पणी गर्दै सेप्टेम्बर १, १९९२, प्रहरीधरहरा-ले यसो भन्यो: “हामीले पनि आफ्नो कार्य-क्षेत्रको राम्ररी अध्ययन गरेर धेरै जसो मानिसहरू आ-आफ्ना घरमा हुने बेलामा अथवा वचन सुन्‍ने मनोस्थिति तिनीहरूमा भएको बखतमा जाल हान्‍नु पर्दछ।” मानिसहरूको गतिविधिबारे राम्ररी अध्ययन गर्दा शहरको बाहिरी तथा आवासीय क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरू साधारणतया शनिबार तथा आइतबार बिहान घरमा भए तापनि त्यतिबेला कोही भेट्‌न मन पराउँदैनन्‌ भन्‍ने थाह भएको छ। तपाईंको इलाकामा पनि मानिसहरू यस्तै प्रतिक्रिया देखाउँछन्‌ भने के तपाईंले आफ्नो प्रचार जाने समयमा केही छाँटकाँट गर्न सक्नुहुन्छ? जस्तै, बिहान अलि ढिला वा दिउँसो जान सक्नुहुन्छ। हाम्रो सेवकाईको प्रभावकारिता बढाउनुका साथै छिमेकीहरूको ख्याल राख्ने यो उत्तम तरिका हो। यो साँचो मसीही प्रेमको चिनारी पनि हो।—मत्ती ७:१२.

६ प्रेरित पावलले फिलिप्पी ४:५ मा हामीलाई “तिमीहरूको सहनशीलता [“व्यवहारिकता” NW] सबै मानिसहरूलाई थाह होस्‌” भनी सम्झाउँछन्‌। यस प्रेरित निर्देशनअनुरूप जोस तथा उत्साहसाथ प्रचारमा जाँदा हामी सन्तुलित र व्यवहारिक हुन चाहन्छौं। ‘घर-घरमा खुल्लमखुल्ला सिकाउनदेखि’ हामी पछि हट्‌न चाहँदैनौं तर घर-घरको प्रचार व्यवहारिक तथा फलदायी समयमा होस्‌ भन्‍ने पनि चाहन्छौं। (प्रेरि. २०:२०) प्रथम शताब्दीताक इस्राएलका ती जालहारीहरूजस्तै हामी आफूलाई सुविधा पर्ने समयमा होइन तर सबैभन्दा फलदायी हुने समयमा ‘जाल’ फिजाउन इच्छुक छौं।

७ कस्ता काँटछाँटहरू गर्न सकिन्छ? अक्सर शनिबार र आइतबार क्षेत्र सेवाको निम्ति बिहान ९:०० वा ९:३० बजेतिर भेला भइन्छ र त्यसपछि तुरुन्तै आ-आफ्नो इलाकामा घर-घर प्रचारकार्यको लागि गइन्छ। तथापि, कुनै कुनै प्रचीनहरूका समूहले आवासीय क्षेत्रहरूमा घर-घर प्रचारमा जानुअघि सेवकाईका अन्य तरिकाहरूमा भाग लिने प्रबन्ध मिलाएका छन्‌, जस्तै सडक साक्षी कार्य गर्ने, व्यापारिक इलाका वा पुनःभेटमा जाने। अन्य कुनै कुनै मण्डलीहरूले बिहान अलि ढिला जस्तै १०:००, ११:०० वा १२:०० बजेतिर क्षेत्र सेवाको निम्ति भेला हुने प्रबन्ध मिलाएका छन्‌। त्यसपछि, प्रचारमा जाने समूह सीधै घर-घर प्रचारकार्यको निम्ति जान्छन्‌ र दिउँसो तीन चार बजेसम्म क्षेत्र सेवामा लाग्छन्‌। कुनै कुनै इलाकामा क्षेत्र सेवाको निम्ति बिहानभन्दा दिउँसोको समय फलदायी हुनसक्छ। यस्ता छाँटकाँट गर्दा घर-घरको प्रचारकार्य अझ फलदायी हुनसक्छ।

८ विवेकी तथा सिपालु हुनुहोस्‌: घर-घर गएर मानिसहरूलाई राज्य सन्देश सुनाउँदा विभिन्‍न प्रतिक्रियाहरू पाउँछौं। कुनै घरधनीहरूले सुन्छन्‌ भने कुनैले केही प्रतिक्रिया नै देखाउँदैनन्‌ वा कोही चाहिं तर्क वितर्क गर्ने वा झगडालु किसिमका हुन्छन्‌। तर्क वितर्क गर्ने खालका छन्‌ भने धर्मशास्त्रबाट तर्क गर्ने पुस्तक (अंग्रेजी) पृष्ठ ७ ले “सत्यलाई आदर नगर्ने व्यक्‍तिहरूसित ‘तर्क’ जित्न” खोज्नु हाम्रो उद्देश्‍य होइन भनी हामीलाई सम्झाउँछ। घरधनी वैरी छ भने त्यहाँबाट निस्कनु नै बेस हुन्छ। हामीसित कुरा गर्न जिद्दी गरेर वा जबरजस्ती हाम्रो विचार स्वीकार्न लगाएर कहिल्यै मानिसहरूलाई रिस उठाउनु हुँदैन। हामी जबरजस्ती मानिसहरूलाई आफ्नो सन्देश सुनाउँदैनौं। त्यसो गर्नु व्यवहारिक हुने छैन र यसले अरू साक्षीहरूलाई तथा सम्पूर्ण प्रचारकार्यको निम्ति नै समस्या खडा गर्नसक्छ।

९ कुनै इलाकामा प्रचार थाल्नुअघि त्यस इलाकाका कुनै मानिसले नआउनु भनेको छ कि भनी पत्ता लगाउन इलाका कार्ड हेर्नु बुद्धिमानी हुनेछ। त्यस्ता ठेगानाहरू छन्‌ भने त्यस इलाकामा काम गर्न लागेको प्रत्येक प्रकाशकलाई खबर गर्नुपर्छ। सेवा निरीक्षकको निर्देशनबिना नै आफै अग्रसर भएर त्यस्ता घरहरूमा जानु हुँदैन।—जनवरी १९९४, हाम्रो राज्य सेवकाई-को प्रश्‍न पेटी हेर्नुहोस्‌।

१० घर-घरको प्रचारकार्यमा लाग्दा विवेकी भएर पनि हामीले आफ्नो प्रभावकारिता बढाउनसक्छौं। ढोका ढकढक्याउनुअघि यताउता यसो हेर्ने गर्नुहोस्‌। सबै पर्दाहरू लगाएका छन्‌ कि? कुनै हल्ला छैन कि? यसले घरवालाहरू सुतिरहेको संकेत गर्नसक्छ। सम्भवतः केही समयपछि जाँदा हामी घरधनीसित फलदायी वार्तालाप गर्नसक्छौं। सायद अहिलेको लागि त्यस घरमा नगई ठेगाना मात्र टिप्नु बेस हुनेछ। तपाईंले पछि त्यस इलाका छोड्‌नुअघि फेरि हेर्न आउन सक्नुहुन्छ वा अर्कै समयमा जाने नोट बनाउन सक्नुहुन्छ।

११ तैपनि, कहिलेकाहीं हामीले अनजानमा कसैलाई उठाउन वा खलबल गर्नसक्छौं। घरधनी रिसाएको वा क्रोधित भएजस्तो पनि देखिनसक्छ। त्यस्तो बेला के गर्ने? हितोपदेश १७:२७ ले यस्तो सल्लाह दिन्छ: “समझ-शक्‍ति भएकोले ठण्डा मिजास राख्छ।” हामी प्रचार गर्न आएकोमा माफी त माग्दैनौं तर निश्‍चय पनि गलत समयमा आएकोले माफी माग्नसक्छौं। शिष्टता साथ अर्को कुन समयमा आए सुविधाजनक होला भनी सोध्नसक्छौं। अक्सर मीठो स्वरमा चासो देखाउँदा घरधनी शान्त हुनसक्छ। (हितो. १५:१) घरधनीले आफू अक्सर राति काम गर्ने बताएमा इलाका कार्ड राखिने खाममा एउटा सानो टिपोट लेखेर राख्नसक्छौं ताकि अर्को पटक जाँदा उपयुक्‍त समयमा पर्न सकोस्‌।

१२ आफ्नो इलाका पूर्णतया ढाक्ने प्रयास गर्दा विवेकको पनि खाँचो पर्छ। पहिलो चोटि जाँदा थुप्रै मानिसहरू घरमा हुँदैनन्‌। त्यसैले, तिनीहरूसित उद्धारको सन्देश बाँड्‌न हामीले पछि फेरि सम्पर्क राख्नुपर्ने हुन्छ। (रोमी १०:१३) कहिलेकाहीं प्रकाशकहरूले घरमा नभेटिएका मानिसहरूलाई भेट्‌न सोही दिन पटक पटक जाने गरेको रिपोर्टहरूद्वारा थाह भएको छ। यसो गर्दा निश्‍चय पनि छिमेकीहरूको ध्यानाकर्षण हुन्छ। यहोवाका साक्षीहरू जत्तिखेर पनि तिनीहरूको ‘इलाकामा’ मात्र प्रचार गर्न आउँछन्‌ भन्‍नेजस्ता नकारात्मक प्रभावहरू पर्नसक्छ। यस्तो छाप पर्न नदिन के गर्नसक्छौं?

१३ विवेक चलाउनुहोस्‌। कोही नभएको घरमा फेरि जाँदा त्यहाँ कोही भएको केही संकेत छ? घर बाहिर चिठीपत्रहरू त्यसै परिरहेको छ भने सम्भवतः घरमा अझै कोही मानिस छैन। त्यसैले, सोही समय त्यहाँ जानु फलदायी हुनेछैन। दिनको विभिन्‍न समयमा जाँदा पनि घरमा कसैलाई भेट्‌न सकिएन भने घरधनीलाई टेलिफोनद्वारा सम्पर्क राख्न सकिन्छ। विशेषगरि, त्यस इलाकामा बारम्बार काम गरिन्छ भने होसियारीपूर्वक पर्चा वा हातेपर्ची ढोकामा छोड्‌न सकिन्छ। वा अर्को पटक त्यस इलाकामा काम गर्दा त्यस मानिसलाई भेट्‌न पनि सकिन्छ।

१४ प्रतिकूल मौसमको बेला घरधनीसित ढोकामै बसेर लामो वार्तालाप सकेसम्म गर्नुहुन्‍न। भित्र बोलाइँदा, होसियार भएर पस्नुहोस्‌ ताकि भूइँ फोहर नहोस्‌। कुकुरहरूले झम्टेर टोकौंला झैं गर्दा पनि सतर्क हुनुपर्छ। अपार्टमेन्ट भवनहरूमा काम गर्दा सानो स्वरले कुरा गर्नुहोस्‌ र त्यहाँ बस्ने अरू मानिसहरू सबैलाई तपाईं आएको थाह हुनेगरि हल्लाखल्ला नगर्नुहोस्‌।

१५ व्यवस्थित र मर्यादित हुनुहोस्‌: राम्रो व्यवस्था मिलाएर सबैको ध्यान खिच्नेगरि अत्यन्तै ठूलो समूहमा भेला हुनदेखि होसियार हुनेछौं। आफ्नो घरअघि लाइनका लाइन गाडी, मोटरसाइकल, स्कुटर वा भ्यानहरू तथा प्रकाशकहरूको ठूलो समूह देख्दा केही घरधनीहरू तर्सिनसक्छन्‌। हामी आवासीय क्षेत्रहरूमा “आक्रमण” गर्न लागेको जस्तो छाप पार्न चाहँदैनौं। क्षेत्र सेवकाईको निम्ति गरिने सभामै इलाकामा काम गर्ने प्रबन्धहरू मिलाउँदा बेस हुन्छ। प्रकाशकहरूको सानो समूह जस्तै एउटा परिवार देख्दा घरधनीहरू त्यति तर्सिंदैनन्‌ साथै सानो समूहमा कुनै इलाकामा प्रचार गर्न जाँदा व्यवस्था मिलाउन पनि सजिलो हुन्छ।

१६ व्यवस्थित हुनुमा आमाबाबुले बच्चाहरूको राम्रो निगरानी गर्नु पनि समावेश छ। वयस्कहरूसित प्रचारकार्यमा जाँदा बच्चाहरूले राम्रो आचरण देखाउनुपर्छ। स-साना केटाकेटीहरूलाई खेल्न वा आफै यताउता जान दिनु हुँदैन। यसो गर्दा घरमा भएका वा बाटोमा हिंडिरहेका मानिसहरूको अनावश्‍यक ध्यान खिच्छ।

१७ चिया वा कफी खान छुट्टि लिने सन्दर्भमा पनि सन्तुलित हुनु आवश्‍यक छ। जून १९९५, हाम्रो राज्य सेवकाई, पृष्ठ ३ मा यस्तो उल्लेख गरिएको थियो: “हामी क्षेत्र सेवकाईमा गएको बेला बीचमा चिया [वा कफी] खान छुट्टी लिंदा बहुमूल्य समय गुमाइरहेका हुनसक्छौं। तथापि, प्रतिकूल मौसममा एकछिन छुट्टी लिंदा हामीलाई पुनः फूर्तिलो र काममा लागिरहन सम्भव बनाउँछ होला। यद्यपि, अधिकांश भाइ-बहिनीहरू सेवकाईको निम्ति छुट्टाइएको समयमा भाइहरूसँग खाजा खाने छुट्टीमा कुराकानी गर्नुको साटो मानिसहरूलाई साक्षी दिने काममा व्यस्त हुन रुचाउँछन्‌।” चियापानको निम्ति एकछिन रोक्नु व्यक्‍तिगत निर्णय भए तापनि कहिलेकाहीं भाइबहिनीहरूको ठूलो समूह चिया पसल वा भोजनालयमा भेला हुने गरेको पाइएको छ। चिया तयार हुन समय लाग्नुको अलावा हूल देखेर अन्य ग्राहकहरू तर्सिनसक्छन्‌। कहिलेकाहीं बिहान क्षेत्र सेवामा बटुलेका अनुभवहरू ठूलठूलो स्वरमा छलफल गरिन्छ। यसो गर्दा हाम्रो सेवकाईको मर्यादा कम हुनुका साथै प्रभावकारिता घट्‌नसक्छ। विवेक चलाएर प्रकाशकहरूले कुनै ठाउँमा भीडमभीड गर्ने र सेवकाईबाट अनावश्‍यक तरिकामा छुट्टी लिनदेखि आफूलाई रोक्नसक्छन्‌।

१८ सडक, सवारीसाधन बिसाउने ठाउँ र अन्य सार्वजनिक स्थलजस्ता मानिसहरू भेट्‌ने ठाउँमा प्रचार गर्दा थुप्रैले असल नतिजाहरू प्राप्त गरेका छन्‌। यहाँ पनि हामी आफ्नो वचनले मात्र होइन तर व्यवहारिकताद्वारा असल साक्षी दिन चाहन्छौं। प्रत्येक प्रकाशकहरूले आफ्नो मण्डलीको सीमा क्षेत्र भित्र मात्र प्रचार गर्नुपर्छ। यसो गर्दा हामीले बटुवाहरूलाई व्यापारी इलाकामा, बस वा रेल स्टेशनको प्रवेशद्वारमा वा चौबीसै घण्टा खोल्ने व्यापारिक संगठनका कामदारहरूलाई अलमल गर्ने छैनौं। हाम्रो सेवकाई मर्यादित र व्यवस्थित ढंगमा पूरा गर्न अर्को मण्डलीको सेवा समितिले मदत मागेको खण्डमा मात्र हामी आफ्नो सीमा इलाकाबाट बाहिर प्रचारमा जानेछौं।—२ कोरिन्थी १०:१३-१५ तुलना गर्नुहोस्‌।

१९ सार्वजनिक साक्षी दिन मिल्ने थुप्रै इलाका भएका केही मण्डलीहरूले ती क्षेत्रहरूलाई पनि इलाका बनाएका छन्‌। त्यसपछि, प्रकाशक वा समूहलाई इलाका कार्ड दिइन्छ। यसो गर्दा प्रभावकारी ढंगमा इलाकालाई पूरा ढाक्न सकिन्छ साथै १ कोरिन्थी १४:४० मा दिइएको “सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्नू” भन्‍ने सिद्धान्तअनुरूप चल्यौं भने एउटै समयमा एउटै इलाकामा हूलका हूल प्रकाशकहरू हुने छैनन्‌।

२० हाम्रो बाहिरी रूप सधैं मर्यादित हुनुपर्छ र त्यसले हामी यहोवाको नाउँ वहन गर्ने सेवकहरू हौं भन्‍ने झल्काउनुपर्छ। हामीले चलाउने चीजबीचहरू पनि सबै त्यस्तै हुनुपर्छ। झुत्रो झोला र कुच्चिएको वा च्यातिएको बाइबल चलाउँदा मान्छेहरूको ध्यान राज्य सन्देशमा भन्दा ती च्यातिएको पुस्तकहरूमा जानसक्छ। भनिन्छ, पहिरन र कोरीबाटीले “वरिपरिको मानिसहरूलाई तपाईंको परिचय दिनुका साथै तपाईं कस्तो व्यक्‍ति हुनुहुन्छ र तपाईंको हैसियत के छ भनी जानकारी दिइरहेको हुन्छ।” तसर्थ, हाम्रो बाहिरी रूप फोहरी र झुत्रेझाम्रे वा असाध्यै तडकभडकपूर्ण पनि हुनु हुँदैन बरु सधैं “सुसमाचारको योग्य” हुनुपर्छ।—फिलि. १:२७; तुलना गर्नुहोस्‌ १ तिमोथी २:९, १०.

२१ पहिलो कोरिन्थी ९:२६ मा प्रेरित पावल उल्लेख गर्छन्‌: “म यसरी दगुर्छु, बेताकसित होइन, म यसरी मुक्का लड़दछु, केवल हावामा हान्‍ने जस्तो होइन।” पावलको अनुकरण गर्दै हामी आफ्नो सेवकाई प्रभावकारी र फलदायी बनाउन कटिबद्ध छौं। यहोवाको “सलहरूपी सेनाको” भागको हैसियतमा उत्साह साथ प्रचारकार्यमा लाग्दै आफ्नो इलाकामा भएका सबैलाई उद्धारको सन्देश पुऱ्‍याउन मसीही व्यवहारिकता तथा विवेक चलाऔं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने