तपाईंको समयलाई प्रभावकारी ढंगमा प्रयोग गर्नुहोस्
१ हरेक हप्ता सबैसित उत्तिनै समय हुन्छ। सुसमाचार सुनाउनमा हामीले समर्पण गरेको समय विशेष गरी महत्त्वपूर्ण हुन्छ। किनभने त्यो समय जीवन बचाउने काममा बिताइएको हुन्छ। (रोमी १:१६) क्षेत्र सेवाको लागि तयारी गरेर, क्षेत्र सेवा सभामा ठीक समयमा भेला भएर तथा तुरुन्तै क्षेत्रमा गइहालेर हामी त्यसप्रति मूल्यांकन व्यक्त गर्नसक्छौं। यसबाहेक, पर्खिरहनुको सट्टा हामी प्रचार गर्न क्षेत्रमा गइहाल्छौं। “सबै कुराको लागि समय छ” भनेर यहोवाले हामीलाई सिकाउनुभएकोले सेवकाईको लागि छुटाएको समयलाई हामीले प्रभावकारी ढंगमा प्रयोग गर्नुपर्छ।—उप. ३:१.
२ बुद्धिमानीसित आफ्नो समय प्रयोग गर्नुहोस्: क्षेत्र सेवकाईमा नियमित रूपमा भाग लिन हामीले बनाएको तालिकामा दृढता साथ लागिरहनाले थुप्रै आशिष्हरू पाउनेछौं। स्वाभाविकतः सेवकाईमा जति समय बिताउँछौं, त्यसको अनुपातमा राम्रा परिणामहरू पनि पाउँछौं। के हाम्रा तालिकामा केही काँटछाँट गरेर क्षेत्र सेवामा बढी समय बिताउनसक्छौं? उदाहरणका लागि, के शनिबार पत्रिका वितरण गरिसकेपछि एक/दुइटा पुनःभेट गर्न जान समय मिलाउनसक्छौं? के आइतबार पनि एकक्षणको लागि हामी क्षेत्र सेवकाईमा निक्लेकाछौं भने पुनःभेट वा बाइबल अध्ययन गर्न पनि समय निकाल्नसक्छौं? घरघरमा गएर प्रचार गर्नुको अलावा सडक साक्षी पनि दिनसकिन्छ कि? यस्तै अन्य तरिकाहरूमा हामीले आफ्नो सेवामा उन्नती गर्नसक्ने छौं।
३ हामी सेवकाईमा हुँदा होसियार भएनौं भने आफ्नो बहुमूल्य समय खेर जानसक्छ। निस्सन्देह, मौसम अनुकूल छैन भने थोरै समयको लागि आराम गरेर स्फूर्ति प्राप्त गर्नसक्छौं र आफ्नो कार्यमा लाग्नसक्छौं। तथापि, हामी सन्तुलित हुनुपर्छ कारण हर समय आराम गर्नु आवश्यक नहुनसक्छ।
४ हालैका वर्षहरूमा मानिसहरूलाई घरमा भेट्न गाह्रो हुँदैछ। यस्तो परिस्थितिको सामना गर्न थुप्रै प्रकाशकहरू विभिन्न समयमा घर-घर साक्षी दिन्छन्। दिउँसो वा बेलुकी गएर साक्षी दिए कसो होला?
५ सडक साक्षी दिंदा एकअर्कासित कुरा नगरे बेस हुन्छ। बरु, एकअर्काबाट टाढा उभिएर मानिसहरूसित कुरा गर्नसक्छौं। यसरी समयलाई अझ प्रभावकारी ढंगमा प्रयोग गर्नसकिन्छ र आफ्नो कामबाट ठूलो आनन्द प्राप्त गर्नसकिन्छ।
६ साक्षी दिन मौकाको फाइदा उठाउनुहोस्: घरधनीले सुन्ने चासो नदेखाउँदा घरका अरू कोहीसित कुरा गर्नसक्छु कि भनेर एक जना साक्षीले सोधिन्। यसले गर्दा धेरै वर्षदेखि बिरामी भएर ओछ्यानमा परिरहेका त्यस घरको एक जना मानिससित कुरा भयो। परमेश्वरको वचनमा दिइएको आशाले तिनलाई बाँच्ने रहर जाग्यो। चाँडै तिनले ओछ्यान छोड्न सके, राज्यभवनका सभाहरू धाउनुका साथै आफूले पाएको नयाँ आशाबारे अरूलाई पनि सुनाउन थाले!
७ मण्डली पुस्तक अध्ययनअघि क्षेत्र सेवामा भाग लिने सल्लाह किशोरावस्थाकी एउटी बहिनीले पालन गरिन्। तिनी गएकी पहिलो घरमा तिनले एक जना १३ वर्षीया केटी भेटिन्। ती केटीले तिनको कुरालाई ध्यानसित सुन्नुका साथै साहित्य पनि ग्रहण गरिन्। भोलिपल्ट हाम्री बहिनीले ती केटीलाई आफ्नै स्कूलमा देखिन्। त्यसपछि, तिनले बाइबल अध्ययन गर्ने प्रस्ताव राखिन् र ती केटीले पनि स्वीकारिन्।
८ क्षेत्र सेवामा बिताएको समयलाई स्तरीय बनाउनुहोस्: क्षेत्र सेवामा नियमित रूपमा भाग लिनाले सुसमाचार सुनाउने हाम्रो कलामा उन्नति गर्न मदत दिन्छ। के अझ प्रभावकारी ढंगमा परिचय दिएर घरघरमा गएर कुरा थाल्ने आफ्नो योग्यतामा उन्नति गर्नसक्नुहुन्छ? के गृह बाइबल अध्ययन सञ्चालन गर्दा तपाईं अझ सिपालु शिक्षक बन्न सक्नुहुन्छ? यसो गर्नाले तपाईंले सेवामा प्रभावकारी ढंगमा समय बिताउनसक्नुका साथै तपाईंको सेवकाई अझ फलदायी हुन्छ।—१ तिमो. ४:१६.
९ “समय अल्प भएकोले” हाम्रो जीवन मसीही क्रियाकलाप पूरा गर्नमा व्यस्त हुनुपर्छ। (१ कोरि. ७:२९) हाम्रा प्राथमिकताहरूमध्ये पनि प्रमुख कुरा प्रचार कार्यमा समय बिताउने हुनुपर्छ। त्यसैले सेवकाईमा जोसिलो भाग लेऔं। समय, यहोवाले हामीलाई दिनुभएको अद्भुत सम्पत्ति हो। सधैं यसलाई बुद्धिमानी साथ र प्रभावकारी ढंगमा प्रयोग गर्नुहोस्।
[पृष्ठ ४-मा भएको पेटी]
यी सुझाउहरूलाई ध्यान दिनुहोस्:
▪ क्षेत्र सेवा सभामा ठीक समयमा भेला हुनुहोस्।
▪ प्रचारमा जाँदा राम्ररी विचार गरेर स-साना समूह बनाउनुहोस्।
▪ प्राचर इलाकामा तुरुन्तै गइहाल्नुहोस्।
▪ मानिसहरूलाई भेट्न सकिने समयमा क्षेत्रमा जानुहोस्।
▪ परिस्थिति सुरक्षित छ भने कहिलेकाहीं एक्लै काम गर्नुहोस्।
▪ घरघरको प्रचारमा जाँदा नजिकै पर्ने पुनःभेटहरूमा जानुहोस्।
▪ समूहका अरू साक्षीले अरू घरमा प्रचार गरिरहेका छन् भने पनि पर्खि नरहनुहोस्।
▪ सम्भव भएमा परिस्थितिलाई विचार गरेर क्षेत्रमा एक घण्टाभन्दा बढी समय बिताउनुहोस्।