पूर्व तयारीले आनन्द दिन्छ
१ क्षेत्र सेवकाईमा भाग लिंदा हामी एकदमै आनन्द पाउँछौं। (भज. ८९:१५, १६) तथापि त्यस्तो आनन्द पूर्णरूपमा अनुभव गर्न चाहिने मुख्य तत्त्व चाहिं तयारी नै हो। हामी जति राम्ररी तयारी गर्छौं, उति नै बढी सिपालु हुन्छौं, अनि जति सिपालु हुन्छौं त्यति नै बढी आनन्द पाउँछौं।
२ उपलब्ध औजारहरू प्रयोग गर्नुहोस्: हाम्रो राज्य सेवकाई-मा दिइएका सामग्रीहरू पढेर अनि छानबिन गरेर तयारी सुरु गर्नुहोस्। यसमा राज्य समाचार सजिलो र प्रभावकारी ढंगमा प्रस्तुत गर्न तपाईंलाई सहयोग गर्न तयार गरिएका रमाइला प्रस्तुतिहरू दिइएका हुन्छन्। तपाईंले सामान्य विरोधहरुको सामना कसरी गर्ने, उदाहरणहरू पाउनुहुनेछ। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै प्रभावकारी पुनःभेट गर्ने घतलाग्दा तरिकाहरू पनि दिइएका हुन्छन्। त्यहाँ दिइएका सुझाउहरू तपाईंलाई कसरी प्रयोग गर्न सजिलो लाग्छ त्यसरी नै छाँटकाँट गर्न सक्नुहुन्छ। साथै तर्क पुस्तकबाट अझ थप सुझाउहरु पाउनुहुन्छ जसले अनेकन परिचयहरू साथै वार्तालाप बन्द गर्न खोज्नेहरूलाई चित्तबुझ्दो जवाफ दिन्छ। यसैले, यसले तपाईंलाई विभिन्न अप्ठ्यारो स्थितिहरूमा मदत दिन्छ।
३ तपाईंले प्रस्तुत गर्न लाग्नु भएको प्रकाशनलाई एक चोटि सरसरती हेर्नुहोस्। त्यसपछि घरधनीलाई घतलाग्ने एक दुइवटा चाखलाग्दो विषयलाई लिनुहोस्। मानिसलाई सोचमग्न बनाउन सक्ने कुनै समाचार सुन्नु वा पढ्नु भएको छ भने तपाईंले त्यसलाई चलाएर वर्तालाप सुरु गर्न सक्नुहुन्छ। कस्ता विरोधहरूको सामना गर्नुपर्ला सो पहिल्यै सोचेर, त्यसको जवाफ कसरी दिने विचार गर्नुहोस्। त्यसपछि तपाईं ढोकामा पुगेर के जवाफ दिनुहुन्छ, एक दुई मिनेट अभ्यास गर्नुहोस्।
४ सेवा सभामा सधैं उपस्थित हुनुहोस्: सेवा सभाको दौडान हाम्रो राज्य सेवकाई-मा दिइएका सुझाउहरू छलफल, पुनरावलोकन अनि प्रदर्शन गरिंदा त्यसलाई ध्यान दिएर सुन्नुहोस्। तपाईंले आफ्नो प्रस्तुतिमा समावेश गर्न सक्नुहुने तरिकाहरू टिप्नुहोस्। सेवकाईमा सामना गर्नुभएका केही सामान्य स्थितिहरू सम्झनुहोस्, र अझ प्रभावकारी ढंगमा साक्षी दिनसक्नुहुने तरिकाहरू सोच्नुहोस्। यस विषयमा सभा अघि वा पछि अरू प्रकाशकहरूसँग कुरा गर्नुहोस्।
५ यदि तपाईं “सबै असल काममा तम्तयार,” हुनुहुन्छ भने, अरूलाई जीवनतर्फ डोऱ्याउन मदत दिंदा, अधिक आनन्द र सफलताको इनाम पाउनुहुनेछ भनेर निश्चित हुनसक्नुहुन्छ।—२ तिमो. २: २१.