“आनन्दसाथ परमप्रभुको सेवा गर”
१. यहोवाका सेवकहरूलाई ठूलो आनन्दको स्रोत के हुन सक्छ?
१ “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर” भनी प्रेरित पावलले लेखे। (फिलि. ४:४) सुसमाचार अरूसँग बाँड्ने र भेडाखाले मानिसहरूलाई यहोवाको उपासना गर्न मदत गर्ने सुअवसर ठूलो आनन्दको स्रोत हो। (लूका १०:१७; प्रेरि. १५:३; १ थिस्स. २:१९) तथापि, कहिलेकाहीं सेवकाईमा त्यस्तो आनन्द गुमाइरहेको महसुस भयो भने हामी के गर्न सक्छौं?
२. हाम्रो कामको स्रोतबारे विचार गर्दा हाम्रो आनन्दमा कसरी योगदान पुग्न सक्छ?
२ परमेश्वरले दिनुभएको काम: प्रचार गर्ने हाम्रो काम यहोवाबाट हो भनी नबिर्सनुहोस्। हो, परमेश्वरको राज्यको सन्देश उद्घोषणा गर्ने र चेला बनाउने काममा “परमेश्वरका सहकर्मी” हुन पाउनु कस्तो सुअवसरको कुरा हो! (१ कोरि. ३:९) फेरि कहिल्यै नदोहोरिने यस काममा ख्रीष्ट येशू हाम्रो साथमा हुनुहुन्छ। (मत्ती २८:१८-२०) स्वर्गदूतहरू पनि सक्रियतासाथ यस काममा संलग्न छन् र अहिले भइरहेको महान् आध्यात्मिक कटनीमा हामी सँगसँगै काम गर्छन्। (प्रेरि. ८:२६ प्रका. १४:६) धर्मशास्त्रका साथै परमेश्वरका जनहरूको अनुभवले यस काममा यहोवाको समर्थन छ भनी अकाट्य प्रमाण दिन्छ। अतः प्रचारमा जाँदा हामी “परमेश्वरबाट पठाइएका जस्तै, परमेश्वरका सामुन्ने हामी ख्रीष्टमा बोल्दछौं।” (२ कोरि. २:१७) आनन्दित हुने कस्तो जोडदार कारण!
३. परमेश्वरको सेवामा आनन्द कायम राख्न प्रार्थनाले कस्तो भूमिका खेल्छ?
३ परमेश्वरको सेवामा आनन्द कायम राख्न प्रार्थना अत्यावश्यक छ। (गला. ५:२२) हामी परमेश्वरको बलमा मात्र उहाँको काम गर्न सक्ने भएकोले हामीले उहाँलाई, उहाँको आत्माको लागि बिन्ती गर्नुपर्छ जुन कुरा उहाँले माग्नेहरूलाई उदारचित्तका साथ दिनुहुन्छ। (लूका ११:१३; २ कोरि. ४:१, ७; एफि. ६:१८-२०) हाम्रो सेवकाईबारे प्रार्थना गर्दा हामीले कुनै नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरे तापनि सही दृष्टिकोण कायम राख्न मदत पाउँछौं। यसले हामीलाई निर्भयतासाथ र खुसीसित प्रचार गरिरहन सक्षम बनाउनेछ।—प्रेरि. ४:२९-३१; ५:४०-४२; १३:५०-५२.
४. राम्ररी तयारीले प्रचारकार्यमा हाम्रो आनन्द बढाउन कसरी मदत गर्छ र हामीले तयार गर्न सक्ने केही व्यावहारिक तरिकाहरू के-के हुन्?
४ राम्ररी तयारी गर्नुहोस्: सेवकाईमा हाम्रो आनन्द बढाउने व्यावहारिक तरिका राम्ररी तयारी गर्नु हो। (१ पत्रु. ३:१५) त्यस्तो तयारीको लागि धेरै समय पनि लाग्दैन। तपाईंले प्रस्तुत गर्ने विचार गर्नुभएको साहित्यको लागि सुहाउँदो प्रस्तुति वा नयाँ पत्रिकाहरूबारे सुझावित प्रस्तुति पुनरावृत्ति गर्न केही मिनेट मात्र लाग्नेछ। उपयुक्त परिचयको लागि तपाईं रिजनिङ पुस्तक वा हाम्रो राज्य सेवकाई-को पुराना अंकहरू हेर्न सक्नुहुन्छ। केही राज्य प्रकाशकहरूले एउटा कागतमा प्रस्तुतिहरू संक्षिप्तमा लेख्नु पनि मदतकारी पाएका छन्। समय समयमा आफ्नो सम्झना ताजा बनाउन सरर्र हेर्छन्। यसले तिनीहरूलाई हिचकिचाहट हटाउन र निर्भयतासाथ प्रचार गरिरहने विश्वस्तता दिन्छ।
५. आनन्दले हामी र अरूलाई कसरी लाभ पुऱ्याउँछ?
५ आनन्दले थुप्रै लाभहरू ल्याउँछ। आनन्ददायी स्वभावले हाम्रो सन्देशको महत्त्वलाई बढाउँछ। आनन्दले सहने शक्तिलाई बल प्रदान गर्छ। (नहे. ८:१०; हिब्रू १२:२) सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो आनन्ददायी सेवाले यहोवाको महिमा गर्छ। त्यसकारण, “आनन्दसाथ परमप्रभुको सेवा” गरौं।—भज. १००:२.