“के भन्न खोज्नुभएको, त्यो भन्नुहोस् न”
१ तपाईंले राम्रै प्रस्तुति तयार पार्नुभएको थियो, तैपनि घरधनीले “के भन्न खोज्नुभएको, त्यो भन्नुहोस् न” भनेर तपाईंको कुरा बीचैमा काटेको छ? छ भने, त्यसबाट हामी के सिक्नसक्छौं?
२ आजकाल प्रायजसो मानिसहरू छिट्टै झिजो मान्छन्। अरू कुराभन्दा पनि हामी को हौं अनि किन आएको भनेर नै तिनीहरू बढ्ता जान्न चाहन्छन्। फलतः हामी बाइबलबारे छलफल गर्न आएका हौं भन्ने थाह पाउनेबित्तिकै तिनीहरूले हाम्रो कुरा सुन्न इन्कार गर्नसक्छन्। बाइबल पढ्ने, आध्यात्मिक कुराकानी गर्नेजस्ता महत्त्वपूर्ण कुराले थुप्रै मानिसहरूको जीवनमा कुनै माने नै राख्न छोडेको छ। त्यसोभए, यस्तो स्थितिमा हामी कसरी घरधनीलाई केही मिनेट भएपनि बाइबलबारे छलफल गर्न मनाउनसक्छौं?
३ के गरे बेस हुन्छ: हामीले सकेसम्म जति कम शब्दमा बाइबलले कसरी समस्याहरूको व्यावहारिक समाधान दिन्छ भनेर घरधनीलाई देखाउनसक्यौं, त्यति नै बेस हुनेछ। यदि तपाईं प्रभावशाली प्रस्तुति बनाउन चाहनुहुन्छ भने, घरधनीलाई सोच्न कुतकुत्याउने किसिमको खास प्रश्न छान्नुहोस् र त्यसको जवाफ बाइबलबाट दिनुहोस्। सायद तपाईंलाई निम्न केही सुझाउहरू कोसिस गरेर हेर्न मन लाग्ला। किनकि यी सुझाउहरू घरधनीको चासो जगाउने र हामीले भन्न खोजेको के हो, तुरुन्तै प्रस्ट पार्ने किसिमले तयार पारिएका छन्।
४ यदि तपाईं मेरो चासो छैन भन्ने मानिसहरू प्रायः भेटिने इलाकामा काम गर्दै हुनुहुन्छ भने, घरधनीलाई मुछ्ने किसिमको प्रश्न तयार पार्नुहोस्:
◼ “के तपाईंलाई आउँदो शताब्दीमा सबै कुरा राम्रै होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यहाँ हेर्नुहोस् त, आज हामीले देखिरहेका घटना अनि त्यसका नतिजाहरूबारे बाइबलले के पूर्वानुमान लगाएको छ?” यति भनेपछि २ तिमोथी ३:१, २, ५ अनि हितोपदेश २:२१, २२ पढ्नुहोस्।
◼ “आजकाल मानिसहरू आफ्नो स्वास्थ्यबारे निकै चिन्ता गर्छन्। परमेश्वरले हाम्रा सबै रोगबिमारहरू हटाउने प्रतिज्ञा गर्नुभएको छ भनेर के तपाईंलाई थाह छ?” प्रकाश २१ :३, ४ पढ्नुहोस्।
◼ “सबै मानिसहरूले बाइबलका सिद्धान्तहरू पालन गरे, हाम्रो समाजलाई के के फाइदा होला जस्तो तपाईंलाई लाग्छ?” मत्ती २२:३७-३९ पढ्नुहोस्।
५ राज्यको सुसमाचार सुनाउने जिम्मेवारी पाएको हुँदा, मौका पाउनेबित्तिकै हामी परमेश्वरको राज्यले के के गर्नेछ, बताउन तयार हुनुपर्छ। तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “संसारको सबैभन्दा पुरानो किताब बाइबलले सारा संसारभरि एउटै सरकारले शासन गर्नेछ भनेर भविष्यवाणी गरेको छ भनेर के तपाईंलाई थाह छ?” दानियल २:४४ पढ्नुहोस्।
◼ “येशू ख्रीष्टले संसारमा शासन गर्नुभयो भने, कस्तो होला जस्तो तपाईंलाई लाग्छ?” भजन ७२:७, ८ पढ्नुहोस्।
६ धार्मिक झुकाउ भएका मानिसहरू छन् भने, तल भनेबमोजिम केही भन्न सक्नुहुन्छ:
◼ “लिंग, धर्म वा रंगको कारण थुप्रै मानिसहरू भेदभावको सिकार हुनुपरेको छ। यस्तो भेदभावलाई परमेश्वरले कुन दृष्टिले हेर्नुहुन्छ जस्तो तपाईंलाई लाग्छ?” प्रेरित १०:३४, ३५ पढ्नुहोस्।
◼ “पृथ्वीमा हुनुहुँदा येशूले थुप्रै चमत्कारहरू गर्नुभएको थियो भनेर तपाईंलाई थाहै होला। मौका पाउनुभयो भने, तपाईं कुनचाहिं चमत्कार गर्ने बिन्ती चढाउन चाहनुहुन्छ?” भजन ७२:१२-१४, १६.
७ घरधनी बाहिर आएर कुरा गर्न चाहँदैनन् भने, तपाईं यसो भनेर कुरा थाल्न सक्नुहुन्छ:
◼ “प्रायजसो मानिसहरू समस्याहरू सुन्दा सुन्दा वाक्क भइसकेका छन्। तिनीहरू अब समस्या होइन, समाधान सुन्न चाहन्छन्। सायद तपाईं पनि त्यही चाहनुहुन्छ होला। तर समस्याको सही समाधान कहाँ पाइन्छ होला?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि २ तिमोथी ३:१६, १७ पढ्नुहोस्।
८ अजमाएर हेरे कसो होला? प्रायः घरधनीको चासो जगाउन सजिलो अनि छोटो प्रश्न भए पुग्छ। पहिले कहिल्यै हाम्रो कुरा सुन्न नचाहने महिलाले दुई बहिनीहरूमध्ये एकले यस्तो प्रश्न गर्दा दुवैलाई घरभित्र बोलाइन्: “प्रभुको प्रार्थनामा राज्य भनेको कुनचाहिं राज्य हो, के तपाईंलाई थाह छ?” यो प्रश्न सुनेर उक्त महिलाको चासो जाग्यो र तिनी बाइबल अध्ययन गर्न पनि राजी भइन्। अहिले तिनी यहोवाको समर्पित सेविका भइसकेकी छिन्।
९ घरधनीसँग कुरा गर्दा, सकेसम्म स्वाभाविक हुनुहोस्। मनदेखि बोल्नुहोस्। हामी साँच्चै चासो राख्छौं भन्ने देखेमा मानिसहरू हाम्रो कुरा सुन्न तयार हुने सम्भावना बढी हुन्छ।—प्रेरित २:४६, ४७.
१० सुसमाचार प्रचार गर्नु आजकाल चुनौति नै भइसक्यो। केही घरधनीहरू नचिनेको मान्छे ढोकामा उभिएको देख्नेबित्तिकै शंका गर्छन्। अरूचाहिं अति नै व्यस्त जीवन बिताउनु परेको हुँदा समय दिनै चाहँदैनन्। तथापि, हाम्रो कुरा सुन्ने मान्छे नै छैन भन्नचाहिं मिल्दैन। (मत्ती १०:११) हामीले आफ्नो प्रस्तुति छोटो अनि “के भन्न खोजेका हौं, तुरुन्तै भनिहाल्नसक्यौं भने” अवश्य पनि थुप्रै योग्य व्यक्तिहरू भेट्टाउनसक्नेछौं।