जीवन बचाउने सेवकाईमा सफलतापूर्वक भाग लिने
१ “कुनै किसिमले कसै कसैलाई बचाइहालूँ” भनेर प्रेरित पावलले आफ्ना प्रस्तुतिहरूलाई परिस्थितिअनुसार सुहाउँदो बनाए। (१ कोरि० ९:१९-२३) त्यसरी नै हामी पनि घरधनीको चासोहरूप्रति सजग भयौं र उनको आवश्यकता अनुरूप हाम्रो छलफलहरू बदल्न हामी तयार भयौं भने हामी सेवकाईमा बढी सफलता प्राप्त गर्न सक्छौं। वाचटावर र अवेक!-को ग्राहक बनाउँदा यसो गर्न त्यत्तिको गाह्रो नपर्नु पर्ने हो।
२ आफ्नो परिचय दिइसक्नुभएपछि, आफ्नै शब्दहरूमा यस्तै केही भनेर तपाईंले सुरु गर्न सक्नुहुन्छ:
◼ “अहिले हाम्रो समयमा सामना गर्नु परिरहेका समस्याहरूको व्यावहारिक समाधान कुनै पनि सरकारले दिन नसकेकोमा धेरै मानिसहरू निराश छन्। कसै कसैले आफ्ना समस्याहरूको लागि सरकारहरूलाई दोष दिन्छन्। हाम्रा आवश्यकताहरूलाई पर्याप्त मात्रामा पुऱ्याउन सक्ने कुनै सरकार होला जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] हामीले सामना गर्नु पर्ने समस्याहरू साँच्चै नै समाधान गर्न सक्ने सरकारको भरपर्दो प्रतिज्ञा के तपाईंलाई थाहा छ?” घरधनीको जवाफलाई ध्यान दिएर सुन्नुहोस्। उसले के भन्छ त्यो सुनिसकेपछि विभिन्न प्रस्तुतिहरू मध्ये कुनै एउटा चलाउनुहोस्।
३ यदि घरधनी एकजना मसीही हो भन्ने सङ्केत पाउनु भयो भने, “हाम्रो पिता” अथवा प्रभुको प्रार्थना भन्नुहुन्छ कि हुँदैन भनेर उहाँलाई सोध्न सक्नुहुन्छ। यदि उसले सकारात्मक जवाफ दियो भने हामीले त्यो नमुना प्रार्थना, “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्” भन्ने ठाउँसम्म सुनाउन सक्छौं। (मत्ती ६:९, १०) यसले प्रमाणित गर्छ कि कुनै दिन यहोवाको इच्छा यस पृथ्वीमा पूरा हुने वाला छ। त्यसपछि वाचटावर अथवा अवेक!-मा भएको सुहाउँदो लेखलाई देखाउन सक्छौं र ग्राहक बन्ने प्रस्ताव राख्न सक्छौं। यदि घरधनीले ग्राहक बन्ने प्रस्ताव स्वीकार गरेन भने, यही विचार भएको त्यो राज्य जसले प्रमोदवन ल्याउने छ भन्ने पुस्तिकाको पृष्ठ ३ देखाउन सक्छौं।
४ यदि घरधनी एकजना हिन्दू हो भने तपाईंले दानियल २:४४ देखाएर त्यसलाई भर्खरै प्रकाशित कुनै एउटा पत्रिकामा भएको बुँदासँग जोड्न सक्नुहुन्छ। यहाँ पनि ग्राहक बन्ने प्रस्ताव अस्वीकार गऱ्यो भने हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? भन्ने पुस्तिकाको पृष्ठ ८ पल्टाउनुहोस्। अनुच्छेद ४-मा उल्लेख गरेअनुसार मानिसहरूले प्रायजसो विश्वास गर्ने कुरातर्फ ध्यान केन्द्रित गराउनुहोस्। त्यसपछि यहोवाले हाम्रा समस्याहरू चाँडै नै समाधान गर्न कस्ता कार्यहरू गर्नुहुनेछ, सो देखाउनुहोस्। यो पुस्तिकालाई अरु दुईवटा पत्रिकासित दिन सक्नुहुन्छ।
५ यदि घरधनी आफ्नो जीवनसित सन्तुष्ट देखिन्छ भने तपाईंले प्रश्न गर्न सक्नुहुन्छ:
◼ “सरकारको भविष्यबारे बाइबलले के भन्छ भनेर हामीले किन गम्भीरतापूर्वक ध्यान दिनुपर्छ?” रिजनिङ्ग पुस्तकको पृष्ठ १५४ र १५५-मा दिइएको आठवटा कारणहरूमध्ये कुनै एउटा या बढी कारण उहाँलाई छोटकरीमा भन्न सक्छौं। तपाईंसँग भएको कुनै एउटा पत्रिकाको उपयुक्त बुँदासँग यो कुरालाई राम्ररी जोड्नुहोस्। यदि घरधनीले ग्राहक बन्ने प्रस्तावलाई अस्वीकार गरेमा कुराकानीलाई अघि बढाउन शान्तिमय नया संसारमा जीवन भन्ने पर्चाको प्रयोग गर्नुहोस्।
६ अर्को भेटको लागि तपाईंले घरधनीको चासो जगाउनु भएन भने तपाईंको प्रथम भेट पूर्णतया सफल हुँदैन। तसर्थ, एउटा चाखलाग्दो प्रश्न अवश्य सोध्नुहोस् र अर्को पटक आउँदा जवाफ दिने वचन दिनुहोस्।
७ माथि दिइएका सामग्रीहरूमध्ये आफूलाई भन्न सजिलो लाग्ने प्रस्तुति छान्नुहोस्। आफ्नो क्षेत्रसँग सुहाउँदो बनाउन यी सल्लाहहरूलाई छाँटकाँट गर्नुहोस्। तपाईंले प्रयोग गर्नुहुने पुस्तिकाहरू, पर्चाहरू र पत्रिकाका लेखहरूसित परिचित हुनुहोस् जसले गर्दा तपाईंले आफ्नो छलफललाई तुरून्तै घरधनीको आवश्यकता अनुसार छाँटकाँट गर्न सक्नुहुन्छ। “सुसमाचारको खातिर” हाम्रा प्रस्तुतिहरूलाई हामीले मिहेनतकासाथ तयार गरौं र सफलतापूर्वक जीवन बचाउने सेवकाईमा भाग लेऔं।—१ कोरि० ९:२३.