पत्रिका प्रस्तुत गर्न कसरी तयारी गर्ने
१. पत्रिका प्रस्तुत गर्न हाम्रो राज्य सेवकाई-मा दिइएको नमुना प्रस्तुति कण्ठस्थ गर्नुको सट्टा आफै तयारी गर्नु किन बेस हो?
१ तपाईं भन्नु होला: ‘पत्रिका प्रस्तुत गर्न किन तयारी गर्नुपऱ्यो र? हाम्रो राज्य सेवकाई-को प्रत्येक अंकमा पत्रिकाबारे के भन्ने भनेर दिएकै हुन्छ नि!’ थुप्रैले ती नमुना प्रस्तुतिहरू मदतकारी पाएको भए तापनि व्यक्तिगत रूपमा तयारी गर्नु आवश्यक छ। एउटा इलाकामा प्रभावकारी भएको प्रस्तुति अर्को इलाकामा प्रभावकारी नहुन सक्छ। त्यसकारण, नमुना प्रस्तुतिमा जे भनिएको छ जस्ताको तस्तै भन्नै पर्छ भन्ठान्नु हुँदैन। नमुना प्रस्तुति चलायौं भने पनि त्यसलाई आफ्नै शब्दमा व्यक्त गर्नु बेस हो।
२. कुन लेख प्रस्तुत गर्ने भनी निर्णय गर्दा कुन कुरा विचार गर्नुपर्छ?
२ लेख छान्नुहोस्: पूरै पत्रिका पढिसक्नु भएपछि इलाका सुहाउँदो र आफूलाई पनि मन परेको लेख छान्नुहोस्। घरधनीलाई त्यो लेखबारे बताउँदा तपाईंको विश्वास र उत्साह देखेर तिनलाई पनि पढूँ-पँढू लाग्न सक्छ। तपाईंले सम्भवतः धेरै मानिसलाई मन पर्ने खालको लेख छान्नुहुन्छ होला तर पत्रिकाको बाँकी लेखहरूसित पनि राम्ररी परिचित हुनुहोस्। यसो गर्नुभयो भने अर्कै विषयमा चासो भएको व्यक्तिलाई भेट्दा तपाईंले आफ्नो प्रस्तुतिमा छाँटकाँट गर्न सक्नुहुन्छ।
३. असल नतिजा प्राप्त गर्न तपाईं कस्तो परिचय चलाउनुहुन्छ?
३ प्रश्न सोध्नुहोस्: त्यसपछि, परिचयमा के भन्ने राम्ररी तयारी गर्नुहोस्। परिचय महत्त्वपूर्ण छ। तपाईंले प्रस्तुत गर्न छान्नुभएको लेखमा घरधनीको चासो जगाउन तपाईंले तिनलाई सोच्न लगाउने प्रश्न गर्नु मदतकारी हुन सक्छ। कुनै खास विषयबारे मानिसको विचार बुझ्न मदत दिने प्रश्नहरू सोध्नु अक्सर एकदमै प्रभावकारी हुन्छ। घरधनीलाई अप्ठ्यारोमा पार्ने वा तिनलाई आफ्नो धारणाको पक्ष लिंदै हाम्रो प्रतिरोध गर्न लगाउने खालका प्रश्न नसोध्नुहोस्।
४. घरधनीको परिस्थितिले दिन्छ भने बाइबल पढेर सुनाउँदा कस्तो फाइदा हुन्छ?
४ बाइबल पद पढ्नुहोस्: अन्तमा, घरधनीको परिस्थितिले दिन्छ भने तपाईंले चलाउने लेखबाट एउटा बाइबल पद छान्नुहोस् र त्यसलाई पढेर सुनाउनुहोस्। यसो गर्दा हामीले भन्ने सन्देश परमेश्वरको वचन बाइबलबाटै हो भनेर घरधनीले बुझ्न मदत पाउने छन्। (१ थिस्स. २:१३) यसरी बाइबल पद पढ्दा, घरधनीले पत्रिका लिन इन्कार गरेको खण्डमा पनि साक्षी पाइरहेका हुनेछन्। विषयवस्तुसित सम्बन्धित कुनै प्रश्न सोध्नुअघि एउटा बाइबल पद पढेर सुनाउँदा कतिपयले घरधनीको चासो जगाउन सकेका छन्। यसो भन्दै बाइबल पद पढेर सुनाउन सक्नुहुन्छ: “यस बाइबल पदमा भनिएको कुराबारे म तपाईंको विचार जान्न चाहन्छु।” त्यसपछि पत्रिकामा त्यसै पदसित सम्बन्धित बुँदातर्फ घरधनीको ध्यान खिच्नुहोस् र पत्रिका दिनुअघि तिनको अझै चासो जगाउन केही भन्नुहोस्।
५. पत्रिका प्रस्तुतिको लागि तयारी गर्दा कस्ता मुख्य कुराहरू मनमा राख्नुपर्छ?
५ पत्रिका प्रस्तुत गर्दा यस्तै भन्नुपर्छ भन्ने कडा नियमहरू छैनन्। तर तपाईंको प्रस्तुति सरल र छोटो बनाउनु नै बेस हुन्छ। आफूलाई सजिलो लाग्ने र राम्रो नतिजा प्राप्त हुने प्रस्तुति चलाउनुहोस्। हाम्रा पत्रिका एकदमै मूल्यवान् छन् भनी जोड दिनुहोस्, साथै उत्साहित हुनुहोस्। राम्ररी तयारी गर्नुभएको छ भने “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[लाई]” प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रभावकारी ढंगमा प्रस्तुत गर्न सक्नुहुनेछ।—प्रेरि. १३:४८.