सांसारिक शिक्षा र तपाईंको आध्यात्मिक लक्ष्य
१ केटाकेटी छँदा लिनुभएको आधारभूत शिक्षाले तपाईंलाई राम्रोसित लेख्न, पढ्न साथै भूगोल, इतिहास, गणित र विज्ञानसम्बन्धी सामान्य कुराहरू बुझ्न आवश्यक शैक्षिक योग्यता प्रदान गर्नसक्छ। यसै सिलसिलामा अझै तपाईंले राम्रोसँग विचार गर्न, तथ्य कुराको विश्लेषण गर्न, समस्या समाधान र चौतफतर्फी ज्ञान विकास गर्न सिक्न सक्नुहुन्छ। यस्तो शिक्षा जीवनभर उपयोगी हुन्छ। जीवनमा शिक्षाले तपाईंको आध्यात्मिक लक्ष्यमा कसरी असर गर्न सक्छ अनि त्यसले कसरी तपाईंको ‘योग्यता र विवेक’ बढाउन मदत दिन्छ?—हितो. ३:२१, २२.
२ यहोवाको सेवामा उपयोगी हुनुहोस्: स्कूलमा छँदा पढाइमा ध्यान दिनुहोस् र दिएको गृहकार्य ठीकसँग गर्नुहोस्। तपाईं राम्रोसित पढ्न र अध्ययन गर्न सिपालु हुनुभयो भने तपाईंले परमेश्वरको वचन राम्ररी जाँच्न र आध्यात्मिक तवरमा आफैलाई बलियो राख्न सक्नुहुनेछ। (प्रेरि. १७:११) हरेक विषयको ज्ञान छ भने सेवकाईमा भेटिने जुनसुकै पृष्ठभूमि, चासो तथा विश्वास भएका मानिसहरूलाई बुझ्न सक्छौं। तपाईंले स्कूलमा लिनुभएको शिक्षा यहोवाको संगठनमा मसीही जिम्मेवारीहरू निर्वाह गर्न औधी उपयोगी हुनेछ।—२ तिमो. २:२१; ४:११ तुलना गर्नुहोस्।
३ आफ्नो खुट्टामा उभिन सिक्नुहोस्: यदि तपाईं लगनशील हुनुभयो भने तपाईंले पनि पढाइ सिद्धिएपछि जीविका चलाउन उपयोगी हुने सीपहरू सिक्न सक्नुहुन्छ। (१ तिमो. ५:८ तुलना गर्नुहोस्।) सोचविचार गरेर विषयहरू छान्नुहोस्। जागिर पाउनै गाह्रो हुने विषयहरू लिनुको सट्टा तपाईंलाई आफ्नो योग्यताअनुसारको काम पाउन सजिलो हुने कुनै पेसा तथा अरू सीपहरू सिके कसो होला। (हितो. २२:२९) यदि आवश्यकता परेको ठाउँमा सेवा गर्ने फैसला गर्नु भयो भने यस्तो प्रशिक्षणले तपाईंलाई मदत पुऱ्याउनेछ।—प्रेरि. १८:१-४ तुलना गर्नुहोस्।
४ तपाईंले स्कूलमा छँदा राम्रो शिक्षा लिनुभयो भने सेवकाईलाई अझ बढाउने मदत पाउन सक्नुहुन्छ। यहोवाको सेवामा उन्नति गर्दै जानुहुँदा आफ्नो खुट्टामा आफै उभिन सक्नलाई चाहिने सीपहरू हासिल गर्न कडा मेहनत गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंको स्कूलको पढाइले आध्यात्मिक लक्ष्यमा पुग्न मदत गर्नेछ।