यहूदी धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?
१ प्रथम शताब्दीमा थुप्रै “इस्राएलीहरू[ले]” येशू तथा उहाँका प्रेरितहरूको प्रचारकार्यको मूल्यांकन गरे। (प्रेरि. १०:३६) त्यतिबेलाजस्तै अहिले पनि थुप्रै निष्कपट यहूदीहरूले इजरायलमा मात्र होइन तर भारत, रूस, संयुक्त राज्य तथा अन्य देशहरूमा पूर्ण हृदयले सत्यलाई अंगालिरहेका छन्। के तपाईं यहूदीहरूलाई साक्षी दिने कार्यमा अझ सफल हुन चाहनुहुन्छ? निम्न सुझाउहरूले तपाईंलाई धर्मप्रति झुकाउ भएका र नभएका यहूदीहरूलाई निपुणतासाथ साक्षी दिन मदत गर्नेछ।
२ धर्मप्रति झुकाउ भएका यहूदीहरूलाई साक्षी दिने: धर्मप्रति झुकाउ राख्ने यहूदीहरूलाई कुनै खास सिद्धान्तहरूभन्दा रब्बीहरूको परम्परा पछ्याउने ध्याउन्ना हुन्छ भनी बिर्सनु हुँदैन। तिनीहरूले साधारणतया परम्परा र धर्मशास्त्रको अख्तियार उस्तै उस्तै हो भन्ठान्छन्। तसर्थ, तिनीहरू बाइबलका गहिरा विषयहरूबारे कुरा गर्न इच्छुक नहुन पनि सक्छन्। तिनीहरूले बाइबल त, इसाईहरूको पुस्तक हो भन्ने सोचाइ पनि राख्छन्। त्यसैकारण बाइबल नभनी “हिब्रू धर्मशास्त्र,” “तोरह” वा “धर्मशास्त्र” जस्ता पदावलीहरू चलाउनु बेस हुन्छ। यहूदीहरूको निम्ति तयार पारिएको सबैभन्दा उत्तम प्रकाशन के युद्धरहित संसार कहिल्यै हुनेछ? भन्ने पुस्तिका हो।
३ धर्मप्रति झुकाउ राख्ने यहूदीहरूलाई कस्ता विषयहरूमा चासो लाग्नसक्छ? तिनीहरू परमेश्वर एउटै हुनुहुन्छ र मानिसहरूमा गहिरो चासो लिनुहुन्छ भनी विश्वास गर्छन्। परमेश्वरले मानिसको मामिलामा हस्तक्षेप गर्नुहुन्छ भनेर पनि विश्वास गर्छन्। यी बुँदाहरू चलाएर तपाईं र घरधनी दुवैलाई चासो लाग्ने विषयमा कुरा गर्न सक्नुहुन्छ। साथै, अधिकांश यहूदीहरूलाई आफ्ना जनहरूले दोस्रो विश्वयुद्धको दौडान भोगेको दुःखबारे थाह छ। परमेश्वरले त्यस्तो अन्याय किन हुन दिनुभएको र दुःखकष्टको अन्त कहिले हुनेछ भनी तिनीहरू सोच्ने गर्छन्। हामीसित त्यस्ता प्रश्नहरूको जवाफ छ। जस्तै, नाजी विध्वंसको समयमा हाम्रा भाइहरूले कस्तो दुःख भोग्नुपऱ्यो भनेर बताउनसक्छौं।
४ घरधनीलाई अनावश्यक रिस नउठाउने हो भने, कुराकानी थाल्ने बित्तिकै मसीहको परिचयबारे कुरा नथाले बेस हुन्छ। बरु, इस्राएलको इतिहासमा मोशाले निर्वाह गरेको भूमिकाबारे तपाईंले छलफल गर्न सक्नुहुन्छ अनि मोशाका शिक्षाहरू अहिले वर्तमान समयको लागि उपयोगी छ कि छैन, घरधनीलाई सोध्न सक्नुहुन्छ। मसीहको परिचयबारे छलफल गर्न उपयुक्त देखिन्छ भने तपाईंले पहिला व्यवस्था १८:१५ पढ्नुभए बेस हुन्छ। त्यहाँ यसो भनिएको छ: “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूमध्यबाट मजस्तै एउटा अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू।” मोशाले आफूजस्तै एउटा अगमवक्ता भनी बताउँदा तिनको मनमा को थिए होला भनी घरधनीलाई प्रश्न गर्न सक्नुहुन्छ। त्यसपछि, युद्धरहित संसार पुस्तिकाको पृष्ठ १४, अनुच्छेद १७ र १८ का केही बुँदाहरू छलफल गर्नुहोस्।
५ धर्मप्रति झुकाउ नभएका यहूदीहरूले बेग्लै दृष्टिकोण राख्छन्: आफूलाई यहूदी भनी चिनाउने सबैले यहूदीधर्मका शिक्षाहरू स्वीकार्दैनन्। थुप्रै यहूदीहरू यहूदीधर्मका शिक्षाहरूमा त्यति कट्टर छैनन्। तिनीहरू यहूदीधर्म व्यवहारमा उतार्नुभन्दा संस्कृति, परम्परा र शिक्षा झल्काउने स्वतन्त्र यहूदी चिनारी चाहन्छन्। केही यहूदीहरू अज्ञेयवादी छन् भने कोही त नास्तिक छन्। सुरुमा, हिब्रू धर्मशास्त्रबाट मात्रै उद्धृत गरेर पनि केही फाइदा छैन। धर्ममा चासो नभएका अन्य कुनै मानिससित जस्तै वार्तालाप सुरु गर्नु बेस हुन्छ। उदाहरणका लागि, तपाईंले बाइबल अहिले हाम्रो दिनमा कसरी व्यावहारिक छ बताउन सक्नुहुन्छ। घरधनीले बाइबल प्रेरित वचन हो भनी विश्वास गर्दैन भने युद्धरहित संसार पुस्तिकाका केही बुँदाहरू, विशेष गरी पृष्ठ ३ को “बाइबल—परमेश्वरबाट प्रेरित?” चलाउन सक्नुहुन्छ।
६ यहूदीलाई प्रचार गर्दा तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “हामीमध्ये सबैजसोले आफ्नो प्रिय जनको मृत्यु भएको दुःखद् अनुभव गरेका छौं। तपाईंलाई हामी मरेपछि के हुन्छ जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि घरधनीको ध्यान युद्धरहित संसार पुस्तिकाको पृष्ठ २२ मा “मृत्यु तथा प्राण—ती के हुन्?” पेटीतिर खिच्नुहोस्। उक्त पेटीमा मृत्युपछिको जीवनबारे बाइबलको शिक्षा र रब्बीहरूको शिक्षा तुलना गरिएको छ। त्यसपछि पृष्ठ २३ को अनुच्छेद १७ पल्टाउनुहोस् र धर्मशास्त्रअनुसार मृतकहरूको प्रमोदवनरूपी पृथ्वीमा पुनरुत्थान हुनेछ भनी देखाउनुहोस्। पुस्तिका दिनुहोस्। पुनःभेटको लागि बाटो खोल्दै कुलपिता अय्यूबले पनि पुनरुत्थानको आशा गरेका थिए भनी बताउनुभए हुन्छ। अनुच्छेद १७ को अन्ततिर उद्धरण गरिएको शास्त्रपद उल्लेख गरेर पुनः आएर छलफल गर्ने प्रस्ताव राख्न सक्नुहुन्छ।
७ मत्ती, मर्कूस, लूका, यहून्ना र प्रेरितको पुस्तकमा सत्य सुनेर त्यसअनुरूप हिंडेका यहूदीहरूको अनुभव लिपिबद्ध छ। यहोवाले अनन्त जीवनको मार्ग अझै खुल्ला राख्नुभएको छ। थुप्रै निष्कपट यहूदीहरूले साँचो परमेश्वर यहोवाबारे अझै सिक्लान् र तिनीहरू पनि परमेश्वरको नयाँ संसारमा सधैंभरि बाँच्न पाउनेछन्।—मीका ४:१-४.