तपाईंको सेवकाईमा विभिन्न पुस्तिकाहरू चलाउनुहोस्
१ आज मानिसहरू विभिन्न विषयहरूमा चासो राख्छन्। तपाईं जुलाई महिना दौडान क्षेत्र सेवकाईमा भाग लिनु हुँदा आफूसित विभिन्न प्रकारका पुस्तिकाहरू राख्न सक्नुहुन्छ। अनि इलाकाका मानिसहरूलाई रोचक लाग्ने कुनै एक चलाउन सक्नुहुन्छ। शायद तपाईं निम्नमध्ये कुनै प्रस्तुति चलाउन चाहनुहुन्छ होला:
२ “हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?” पुस्तिका प्रस्तुत गर्दा तपाईंले यो प्रश्न सोध्न सक्नुहुन्छ:
▪“तपाईंलाई संसारमा कुनै समस्याहरू भएनन् भने कस्तो हुन्थ्यो होला जस्तो लाग्छ?” [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले यस पृथ्वीमाथि शासन गर्न थाल्नुभएपछि मात्र हाम्रा सबै समस्याहरू समाधान हुनेछन् भनी आशा गर्नु तर्कसंगत हुनेछ। [पृष्ठ २० पल्टाउनुहोस् र पहिलो अनुच्छेद पढ्नुहोस्। त्यहाँ भजन ३७:१० र भजन ४६:९ उद्धृत गरिएको छ।] तपाईं त्यस्तो संसारमा बस्न चाहनुहुन्छ भने तपाईंले यो पुस्तिका पढ्नुपर्छ।” त्यसपछि पुस्तिका दिने प्रस्ताव राख्नुहोस्।
३ “ह्वेन सम्वान यु लभ डाइज” (तपाईंको प्रिय जनको मृत्यु हुँदा) पुस्तिका यसप्रकार प्रस्तुत गर्न सक्नुहुन्छ:
▪“के तपाईंलाई कहिल्यै हाम्रो प्रिय जनहरू मर्नु नपर्ने दिन आउँछ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यस मनमोहक ढंगमा लेखिएको पुस्तिकाले त्यस्तो दिन नजीकै छ भनेर देखाउँछ। बाइबलको त्यस निश्चित प्रतिज्ञाले लाखौं मानिसहरूलाई सान्त्वना प्रदान गरेको छ। [पृष्ठ ५ पल्टाउनुहोस् र १ कोरिन्थी १५:२१, २२ लगायत पाँचौं अनुच्छेद पढ्नुहोस्। त्यसपछि पृष्ठ ३० को चित्र देखाउनुहोस्।] पुनरुत्थानपछि आफ्ना प्रिय जनहरूलाई स्वागत गर्दा अनुभव गर्न सकिने आनन्दलाई यहाँ चित्रकारले ध्यानाकर्षण गर्न सफल भएका छन्। तर यस्तो आनन्दमय दृश्य कहाँ हुनेछ? त्यस प्रश्नको बाइबलले दिने जवाफ यस पुस्तिकाले देखाउनेछ।” पुस्तिकालाई स्वीकारेमा तपाईं अझ भन्न सक्नुहुन्छ: “म तपाईंकहाँ पुनः फर्केर यस विषयमा छलफल गर्न चाहन्छु।”
४ “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” पुस्तिका प्रस्तुत गरेर तपाईंले सोझै बाइबल अध्ययन गर्ने निमन्त्रणा दिन सक्नुहुन्छ:
▪“तपाईंले बाइबलबारे त सुन्नुभएको होला तर त्यसबारे बढी सिक्ने अवसर चाहिं पाउनु नभएको हुनसक्छ। यस प्रकाशनमा बाइबलसम्बन्धी सोधिने सबैभन्दा सामान्य प्रश्नहरू सूचीबद्ध गरिएका छन्। [पृष्ठ ३० देखाउनुहोस्।] यस अन्तिम प्रश्नले धेरैको इच्छा जगाएको छ: ‘प्रमोदवनमा अनन्त जीवनको निम्ति कसरी तैयारी गर्नु हुनेछ?’” यदि तपाईंले पृष्ठ २९-३० को अनुच्छेद ५७-८ बाट छलफल गरेर प्रकाश २१:३, ४ पढ्नुभयो भने तपाईंले बाइबल अध्ययन सुरु गर्न जग बसाल्नु भएको हुनेछ। पुस्तिका प्रस्तुत गर्दै र अन्य प्रश्नहरू छलफल गर्न पुनःभेटको प्रबन्ध गरेर कुरा टुंग्याउनुहोस्।
५ शायद तपाईं “द डिभाइन नेम द्यात विल इण्ड्योर फरेभर” (सधैंभरि रहिरहने ईश्वरीय नाउँ) पुस्तिकाबाट यो सरल प्रस्तुति चलाउन सक्नुहुन्छ:
▪“मैले बाइबलबाट सिकेको पहिलो कुराहरूमध्ये एउटा, परमेश्वरको नाउँ थियो। तपाईंलाई त्यो थाह छ? [जवाफ दिने मौका दिनुहोस्।] म तपाईंलाई देखाउन चाहन्छु। यो यहाँ बाइबलको भजन ८३:१८ मा पाउँछौं। [पढ्नुहोस्।] यस पुस्तिकाले परमेश्वरको नाउँ, यहोवा विभिन्न भाषाहरूमा कसरी प्रयोग गरिएका छन् भनेर देखाउँछ। [पृष्ठ ८ को पेटी देखाउनुहोस्।] यदि तपाईं यहोवा र उहाँका उद्देश्यहरूबारे अझ बढी बुझ्न चाहनुहुन्छ भने तपाईंले यो पुस्तिका पढ्नुपर्छ।” घरधनीलाई पुस्तिका दिनुहोस्।
६ हामीसित यी विभिन्न प्रकारका पुस्तिकाहरू भएकोले हामी निश्चय पनि “नम्रहरूलाई सुसमाचार सुनाउनलाई” सुसज्जित छौं।—यशै. ६१:१.