अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्
१ अरूको साँचो चिन्ता गर्ने महान् उदाहरण यहोवा हुनुहुन्छ। उहाँ ब्रह्मण्डीय सार्वभौम हुनुभएकोले आफ्नो मानव सृष्टिका आवश्यकताहरूबारे उहाँलाई राम्ररी थाह छ। (१ पत्रु. ५:७) येशूले आफ्ना अनुयायीहरूलाई उहाँको पिताका गुनहरू प्रदर्शन गर्ने प्रोत्साहन दिनुभयो। किनभने उहाँले धर्मी र अधर्मी दुवैमाथि घाम लगाउनुहुन्छ र वृष्टि वर्षाउनुहुन्छ। (मत्ती ५:४५) अरूप्रति साँचो चासो देखाउनुभएर अर्थात् भेटे जति सबैलाई परमेश्वरको राज्य सन्देश बताउन सुसज्जित हुनुभएर तपाईं यहोवाको अनुसरण गर्न सक्नुहुन्छ। जुलाई महिनाको दौडान चलाइने पुस्तिकाहरूसित राम्ररी परिचित हुनुभएर तपाईं अरूलाई आध्यात्मिक सहयोग दिने राम्रो स्थितिमा हुनुहुनेछ। प्रारम्भिक भेटको लागि कसरी तयारी गर्ने र त्यसपछि पुनःभेटहरूद्वारा मानिसहरूको चासो कसरी जगाउने, त्यसबारे निम्न सुझाउहरूले केही तरिकाहरू प्रस्तुत गर्छन्।
२ “के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?” पुस्तिका प्रस्तुत गर्नुहुँदा यसो भन्न सक्नुहुन्छ:
▪“परमेश्वर मानवहरूको साँच्चै चिन्ता गर्नुहुन्छ भने उहाँले किन तिनीहरूलाई दुःखमा पर्न दिनुहुन्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] यो पुस्तिकाले यस प्रश्नको जवाफ दिनुका साथै मानिसले आफू र आफ्नो पार्थिव घरमाथि ल्याएको क्षति हटाउन परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई प्रष्ट्याउँछ।” पृष्ठ २७, अनुच्छेद २३ पढ्नुहोस्। त्यस परिच्छेदमुनिको चित्र देखाउनुहोस् र अनुच्छेद २२ बाट भजन १४५:१६ पढ्नुहोस्। पुस्तिका प्रस्तुत गर्नुहोस्। पुस्तिका स्वीकारे भने दोस्रो भेटमा छलफल गर्नको लागि यस्तो प्रश्न सोध्नुहोस्: “परमेश्वरले मानिसजातिमाथि आशिष्हरू ल्याउनुभएर तथा पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुभएर कसरी आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ, के तपाईं त्यसबारे सिक्न चाहनुहुन्छ?”
३ “के परमेश्वर हाम्रो साँच्चै नै चिन्ता गर्नुहुन्छ?” पुस्तिका प्रस्तुत गर्नुभएका व्यक्तिहरूकहाँ फर्केर जानुहुँदा, यसरी थप वार्तालाप गर्न सक्नुहुन्छ:
▪“अघिल्लो भेटमा हामीले परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ र मानिसले आफू र आफ्नो पार्थिव घरमाथि ल्याएको क्षति हटाउनु नै उहाँको उद्देश्य हो भन्नेबारे छलफल गरेका थियौं।” चित्रसहितको पृष्ठ २-३ पल्टाउनुहोस् र यसो भन्नुहोस्: “कसरी परमेश्वरले मानिसजातिमाथि आशिष्हरू ल्याउनुभएर तथा पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुभएर आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ? भन्ने प्रश्न राख्दै हामीले वार्तालाप टुंग्याएका थियौं। तपाईंलाई कस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। पृष्ठ १७ पल्टाउनुहोस् र अनुच्छेद २ र दानियल २:४४ पढ्नुहोस्। तत्पश्चात्, पृष्ठ १८, अनुच्छेद १२ पढ्नुहोस्। तपाईंसित यस पुस्तिकाको भाग ९ छलफल गर्न चाहन्छन् कि भनेर घरधनीलाई सोध्नुहोस्। तिनले चाहेमा, तिनीसित अध्ययन गर्नुहोस्।
४ “तपाईंको प्रिय जनको मृत्यु हुँदा” (अंग्रेजी) पुस्तिका प्रस्तुत गर्नुहुँदा वार्तालाप थाल्ने तरिका यहाँ दिइएको छ। त्यसको आवरण पृष्ठ देखाउनुहोस् र यसो भन्नुहोस्:
▪“आज हामी प्रिय जनहरूको मृत्युभएका लाखौं मानिसलाई सान्त्वना र आशा प्रदान गरेको यो पुस्तिका वितरण गर्दैछौं। मृतकहरूका लागि आशा छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] पुनरुत्थानसम्बन्धी परमेश्वरको प्रतिज्ञाबारे बाइबलले स्पष्टसित बताउँछ।” यूहन्ना ५:२८, २९ पढ्नुहोस्। पुस्तिका खोलेर पृष्ठ २८ को अन्तिम अनुच्छेद र पृष्ठ ३१ को पहिलो अनुच्छेदमा दिइएका बुँदाहरूमाथि टिप्पणी गर्नुहोस्। ती बुँदाहरूसित मिल्दो चित्रहरू देखाउनुहोस्। पुस्तिका प्रस्तुत गर्नुहोस्। अनि पुनःभेट गर्ने मौका निकाल्न यसरी सोध्न सक्नुहुन्छ: “अन्ततः मृत्युलाई पूर्णतया हटाइनेछ भनेर हामी कसरी पक्का हुनसक्छौं?”
५ “तपाईंको प्रिय जनको मृत्यु हुँदा” पुस्तिका प्रस्तुत गर्नुभएको ठाउँमा पुनःभेट गर्न यो प्रस्तुति चलाउन सक्नुहुन्छ:
▪“हामीले अघिल्लो वार्तालापमा पुनरुत्थानको आश्चर्यलाग्दो आशाबारे छलफल गरेका थियौं। मैले छाडेको पुस्तिकाले अन्ततः मृत्यु पूर्णतया हटाइनेछ भनेर हामी किन पक्का हुनसक्छौं भन्नेबारे बताउँछ। के तपाईंलाई परमेश्वरका प्रतिज्ञाहरू सान्त्वनादायी र आश्वासनदायी लागेन? जवाफ दिने मौका दिनुहोस्। त्यसपछि पुस्तिकाको पृष्ठ ३१ पल्टाएर प्रकाश २१:१-४ का साथै दोस्रो र तेस्रो अनुच्छेदहरू पढ्नुहोस्। हामीले पाउने अमर जीवनको प्रत्याशाबारे प्रकाश पार्नुहोस्। घरधनीले देखाएको चासो र परिस्थितिहरूलाई विचार गरेर ज्ञान पुस्तकबाट अध्ययन गर्न वा पुनःभेटको लागि अर्को प्रश्न सोध्न सक्नुहुन्छ।
६ “जीवनको उद्देश्य के हो—तपाईं यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?” पुस्तिका प्रस्तुत गर्नुहुँदा निम्न प्रस्तुति चलाउन सक्नुहुन्छ:
▪“थुप्रै मानिसले जीवनको उद्देश्य के होला भनेर सोचेका छन्। तिनीहरू आफैलाई यसरी सोध्छन्: ‘म यहाँ किन छु? मेरो गन्तव्य कहाँ हो? मेरो भविष्य कस्तो होला?’ के यी सब प्रश्नका जवाफ पाउनसक्छौं जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले के भन्छ, ध्यान दिनुहोस् त। [भजन ३६:९ पढ्नुहोस्।] हामी यहाँ किन छौं भनेर बताउने उत्कृष्ट स्थितिमा मानिसको सृष्टिकर्ता मात्र हुनुहुन्छ भनेर निष्कर्षमा पुग्नु के युक्तिसंगत छैन र? [जवाफ दिने मौका दिनुहोस्।] यस पुस्तिकामा परमेश्वरले हाम्रोनिम्ति साँचेर राख्नुभएको महान् उद्देश्यबारे बताइएको छ।” पृष्ठ २०-१ पल्टाएर शीर्षक पढ्नुहोस् र चित्रबारे टिप्पणी गरेर पुस्तिका प्रस्तुत गर्नुहोस्। पुस्तिका स्वीकारेमा यसरी सोध्नुहोस्: “परमेश्वरको उद्देश्य अझै पनि पार्थिव प्रमोदवनमा मानवजाति सधैंभरि बसोस् भन्ने छ भनेर हामी कसरी पक्का हुनसक्छौं?” अनि फेरि आउने समय मिलाउनुहोस्।
७ “जीवनको उद्देश्य के हो—तपाईं यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?” पुस्तिका प्रस्तुत गर्नुभएको व्यक्तिसित पुनःभेट गर्नुहुँदा यस्तै केही भन्न सक्नुहुन्छ:
▪“अघिल्लो पटक तपाईंलाई भेट्दा, मानव जीवनको उद्देश्य साँच्चै छ भन्नेबारे बाइबलको दृष्टिकोण छलफल गरेर मलाई असाध्यै आनन्द लागेको थियो।” पृष्ठ ३१ पल्टाएर चित्र देखाउनुहोस् र सोध्नुहोस्, “परमेश्वरको उद्देश्य अझै पनि पार्थिव प्रमोदवनमा मानवहरू बसोस् भन्ने छ भनेर हामी कसरी पक्का हुनसक्छौं?” पृष्ठ २० पल्टाएर अनुच्छेद ३ पढ्नुहोस्। पृष्ठ २१ का “अझै परमेश्वरको उद्देश्य” उपशीर्षकअन्तर्गतका बुँदाहरू छलफल गर्नुहोस्। पुस्तिकाको पछिल्लो आवरण पल्टाएर निश्शुल्क गृह बाइबल अध्ययनको प्रस्तावबारे पढ्नुहोस्। ज्ञान पुस्तक देखाउनुहोस् र त्यसलाई बाइबल अध्ययनको सहायकको रूपमा कसरी चलाउँछौं, प्रदर्शन गर्ने प्रस्ताव राख्नुहोस्।
८ इमानदार हृदय भएका व्यक्तिहरूलाई “सत्यको ज्ञानमा आउन” सहायता गर्ने निष्कपट चासो हाम्रो सेवकाईमा झल्किनुपर्छ। (१ तिमो. २:४) तसर्थ, भेट्टाउनुभए जति सबै भाषाका पुस्तिकाहरू क्षेत्र सेवकाईमा जाँदा लैजानुहोस्। पुस्तिका प्रस्तुत गर्नुभएका सबै व्यक्तिलाई पुनःभेट गर्न सेवकाई तालिकामा समय मिलाउनुहोस्। तपाईंले देखाउनुभएको साँचो चासो ती व्यक्तिहरूका लागि बचाउको चिनारी साबित हुनसक्छ, जसले झूटो धर्ममा प्रचलित घृणित कुराहरू देखेर सुस्केरा हालिरहेका छन्। (इजकि. ९:४, ६) अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गरिरहेको छु भन्ने थाह पाउनुभएर तपाईं आनन्द र सन्तुष्टि अनुभव गर्नुहुनेछ।—फिलि. २:२० तुलना गर्नुहोस्।