मुसलमान धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?
१ के तपाईंले कहिल्यै मुसलमानलाई साक्षी दिनुभएको छ? दिनुभएको छ भने, मुसलमानहरू परमेश्वरमाथि दृढ विश्वास गर्छन् भनेर तपाईंलाई थाह होला। तर यहोवाका अगमवक्ताहरूले भविष्यवाणी गरेअनुसार यस पृथ्वीमा प्रमोदवन बसालिनेछ भनेर हामीले तिनीहरूलाई बताउन चाहेको कुराचाहिं तिनीहरूलाई त्यति थाह छैन। (१ तिमो. २:३, ४) निम्न जानकारीले राम्ररी साक्षी दिन तपाईंलाई मदत गर्नुपर्ने हो।
२ मुसलमानहरू अल्लाह वा परमेश्वरमाथि विश्वास गर्छन् अनि मोहम्मद परमेश्वरका अगमवक्ता हुन् भनी मान्छन्। तिनीहरूको धर्मशास्त्र कुरान हो भने तिनीहरूको धर्मलाई इस्लाम भनिन्छ। त्यसको अर्थ “अधीनता” हो। कुरानले झूट बोल्नु र मूर्तिपूजा गर्नु गलत हो, परमेश्वर एउटै हुनुहुन्छ अनि उहाँ त्रिएकको भाग हुनुहुन्न भनेर बताउँछ। साथै, यसले अमरत्व, नरकको अग्निकुण्ड र स्वर्गीय प्रमोदवनबारे पनि सिकाउँछ। बाइबल, परमेश्वरको वचन हो भनेर मुसलमानहरू स्वीकार्छन् तर यसमा अदलबदल गरिएको छ भन्ने विश्वास गर्छन्। अर्कोतिर, कुरानचाहिं अहिले पनि मौलिक भाषामै भएकोले विशुद्ध छ भन्ने विश्वास गर्छन्।
३ मित्रैलो, समझदार अनि बुद्धिमान् हुनुहोस्: मुसलमानसित कुरा गर्दा मित्रैलो अनि समझदार हुनुहोस्। (हितो. २५:१५) नबिर्सनुहोस्, मुसलमानहरूमा आफ्नो धार्मिक विश्वासले बलियो जरा गाडेको हुन्छ अनि तिनीहरूमध्ये धेरैजसोले घोकेर ती सिकेका हुन्छन्। तसर्थ, तिनीहरू आध्यात्मिक उन्नति गर्न नता धार्मिक शिक्षाहरूबारे तर्क गर्छन् न परमेश्वरको इच्छा के हो भनेर नै पत्ता लगाउँछन्। (रोमी १२:२) तिनीहरूलाई मदत गर्न धैर्य र समझशक्ति हुनु अत्यावश्यक छ।—१ कोरि. ९:१९-२३.
४ मुसलमानसित कुरा गर्दा तपाईं मसीहीजगत्बाट आउनुभएको रहेछ भनेर भान पर्ने खालको अभिव्यक्तिहरू नचलाउनुहोस्। तपाईं क्याथोलिक वा प्रोटेस्टेन्ट धर्मको भाग हुनुहुन्न र तिनीहरूभन्दा भिन्नै हुनुहुन्छ भनेर स्पष्ट पार्नुहोस्। बाइबल, परमेश्वरको पुस्तक हो भनेर बताउनुहोस्। मुसलमानहरू “परमेश्वरको पुत्र” भन्ने पदावली मन पराउँदैनन्। तसर्थ, तिनीहरूले आध्यात्मिक उन्नति नगरुञ्जेल यो पदावली नचलाउनु वा छलफल नगर्नु नै बेस हुन्छ। तथापि, येशू अगमवक्ता वा सन्देशवाहक हुनुहुन्छ भनेर उहाँबारे कुरा गर्न सक्नुहुन्छ। बहस नगर्नुहोस्। उनीहरू रिसाउन थाले भने विनम्रतासाथ तुरुन्तै हिंडिहाल्नुहोस्।
५ समूहमा भन्दा एकै जनासित कुरा गर्नु बेस हुन्छ। साधारणतया, महिलाले महिलालाई अनि पुरुषले पुरुषलाई साक्षी दिनु उचित हुन्छ। हो, सधैं यसो गर्न सकिन्न तर ठीकसित विचार पुऱ्याउनुपर्छ। साथै, थुप्रै मुसलमानहरू आफूले अभद्र ठानेका लुगाफाटा र कोरीबाटीबारे संवेदनशील हुन्छन्। तसर्थ, बहिनीहरू आफ्नो लुगाफाटा र कोरीबाटीप्रति सचेत हुनुपर्छ।—१ कोरि. १०:३१-३३.
६ कुरा गर्ने विषयहरू: परमेश्वरको महानता र उहाँको प्रेमबारे खुलस्तसित कुरा गर्नुहोस्। तपाईं साँचो विश्वासी हुनुहुन्छ, परमेश्वर एउटै हुनुहुन्छ (त्रिएक हुनुहुन्न) र मूर्तिपूजा गलत हो भनेर नहिचकिचाइकन बताउनुहोस्। यस संसारका दुष्टता अर्थात् युद्ध, अशान्ति, जातीय घृणा र थुप्रै धार्मिक मानिसहरूको कपटबारे कुरा गर्नुहोस्।
७ मुसलमानहरूसित कुरा गर्न सकिने विषयबारे परमेश्वरको मार्गदर्शन—प्रमोदवनतर्फ डोऱ्याउने मार्ग पुस्तिकाले हामीलाई थप अन्तरदृष्टि दिनेछ। यो पुस्तिका बाइबल अध्ययन गर्न रोकटोक नभएको ठाउँमा बस्ने मुसलमानहरूलाई आकर्षित गर्ने किसिमले तयार गरिएको छ।
८ तपाईं यस्तो प्रस्तुति चलाउन सक्नुहुन्छ:
▪ “मुसलमानहरूसित कुरा गर्न विशेष प्रयास गरिरहेको छु। मैले तपाईंको धर्मबारे पढेको छु र मुसलमानहरू एउटा साँचो परमेश्वर अनि सबै अगमवक्ताहरूमाथि विश्वास गर्छन् भनेर थाह पाएको छु। [प्रतिक्रिया व्यक्त गर्ने मौका दिनुहोस्।] पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने एउटा पुरानो भविष्यवाणीबारे म तपाईंलाई बताउन चाहन्छु। अगमवक्ताले लेखेको कुरा तपाईंलाई पढेर सुनाऊँ? [यशैया ११:६-९ पढ्नुहोस्।] यो भविष्यवाणीले मलाई यस पुस्तिकामा कुरानबाट उद्धृत गरिएको एउटा वाक्य याद आउँछ।” परमेश्वरको मार्गदर्शन पुस्तिकाको पृष्ठ ९ पल्टाएर धर्मी जनहरूले पृथ्वीमा बास गर्नेछन् भनेर मोटो अक्षरमा गरिएको उद्धरण पढ्नुहोस्। घरधनीले चासो देखाएमा अर्को पृष्ठको ७ देखि ९ अनुच्छेद छलफल गर्नुहोस्। पुस्तिका दिनुहोस् र पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्।—अन्य प्रस्तुतिको लागि फेब्रुअरी १९९८ अंकको हाम्रो राज्य सेवकाई, पृष्ठ ६, अनुच्छेद २३ हेर्नुहोस्।
९ परमेश्वरको मार्गदर्शन पुस्तिकाबाट कुरा गर्नुहुँदा त्यसलाई बाइबल अध्ययन भन्नुको सट्टा छलफल भन्नु बेस हुन्छ। यो पुस्तिकाबाट छलफल गर्न सिध्याएपछि विद्यार्थी चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तकबाट अध्ययन गर्न इच्छुक हुनुपर्छ। खास गरी मुसलमानहरूका लागि तयार गरिएको अन्य प्रकाशनहरू प्रमोदवनको बाटो कसरी पत्ता लगाउने पर्चा र साँच्चै परमेश्वरको अधीनमा बस्ने समय नामक सानो पुस्तिका हुन्।
१० इस्लाम धर्मावलम्बीहरूका विश्वासहरूबारे अनि तिनीहरू कुन कुरामा संवेदनशील छन् भन्ने यति जानकारी हासिल गरिसकेपछि मुसलमानहरूलाई प्रस्तुत गर्ने साहित्य छनौट गर्न र साक्षी दिंदा समझदार हुनसक्नेछौं। सबै प्रकारका मानिसहरूलाई उहाँको नाउँ पुकारेर उद्धार पाउन मदत दिने हाम्रो प्रयासलाई यहोवाले आशिष् दिइरहून्।—प्रेरि. २:२१.