प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 फेब्रुअरी pp. ३-६
  • सबै भाषा तथा धर्मका मानिसहरूलाई साक्षी दिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै भाषा तथा धर्मका मानिसहरूलाई साक्षी दिने
  • हाम्रो राज्य सेवकाई—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अर्कै भाषा बोल्ने मानिसहरूलाई साक्षी दिने
  • गैरमसीही धर्मका मानिसहरूलाई साक्षी दिने
  • विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • प्रचार गर्नुअघि खोज्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • मुसलमान धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०००
  • हाम्रो सेवकाईमा निष्पक्षता दर्साउँनु
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 फेब्रुअरी pp. ३-६

सबै भाषा तथा धर्मका मानिसहरूलाई साक्षी दिने

१ प्रथम शताब्दीका मसीहीहरूले भिन्‍नै भाषा बोल्ने तथा बेग्लै धर्म मान्‍ने मानिसहरूलाई जोसका साथ साक्षी दिए। फलस्वरूप, “सन्‌ १०० सम्म त भूमध्य सागर वरिपरिका प्रायः सबैजसो प्रान्तहरूका समुदायमा मसीही भइसकेका थिए।”—मध्यकालीन इतिहास (अंग्रेजी)।

२ भारतका मानिसहरू थरी थरीका भाषा बोल्छन्‌। त्यहाँका अधिकांश ठाउँहरूमा एकै भाषा बोल्ने मानिसहरू एउटै राज्यमा बसोबास गर्छन्‌। यद्यपि, भारतका ठूलठूला थुप्रै नगर तथा शहरहरूमा अहिले अनेकन्‌ देशका मानिसहरू बसोबास गरिरहेका छन्‌ र तिनीहरू विभिन्‍न भाषा बोल्छन्‌। भाषाको यस्तो विविधताले गर्दा तिनीहरूसँग कसरी वार्तालाप गर्ने र साक्षी दिने भन्‍ने कुरा कहिलेकाहीं चुनौती नै हुन्छ। हुन त, हाम्रो इलाका मिसनरी क्षेत्रजस्तो पनि हुनसक्छ। सबै भाषा र धर्मका मानिसहरूलाई साक्षी दिएर ‘जनतामा प्रचार गर’ भन्‍ने येशूको आज्ञा हामी कसरी पालन गर्नसक्छौं?—प्रेरि. १०:४२.

अर्कै भाषा बोल्ने मानिसहरूलाई साक्षी दिने

३ मानिसहरूलाई तिनीहरूकै मातृभाषामा सिकाएको खण्डमा थुप्रैले निश्‍चय नै छिटो तथा राम्ररी सिक्नसक्छन्‌। “सुसमाचारको खातिर” र तिनीहरू पनि ‘त्यसको सम्भागी हुन सकून्‌ भनेर’ विश्‍वभरिका थुप्रै भाइबहिनीहरूले अरू भाषा सिकेका छन्‌। (१ कोरि. ९:२३) एउटा अंग्रेजीभाषी देशमा एउटी अंग्रेजीभाषी बहिनीले पत्रिका रुटमा वषौंदेखि एउटी चिनियाँभाषी आइमाईलाई भेटेकी थिईन्‌। तर चिनियाँ भाषा सिक्दै गरेकी एउटी अर्की बहिनीले उक्‍त आइमाईलाई चिनियाँ भाषामै एउटा पुस्तक नदिएसम्म तिनी बाइबल अध्ययन गर्न राजी भइनन्‌। तिनले उक्‍त पुस्तक स्वीकार्नुका साथै अध्ययन गर्न पनि राजी भइन्‌। दोस्रो बहिनीले उक्‍त आइमाईसित तिनकै भाषामा केही शब्द बोल्ने प्रयास गर्दा यत्तिका फरक पर्न गयो।—प्रेरित २२:२ तुलना गर्नुहोस्‌।

४ आफ्नो इलाकामा बराबर बोलिने भाषाबाहेक तपाईं अन्य भाषा जान्‍नुहुन्छ भने विशेषगरि उक्‍त भाषा जान्‍ने आफ्नो क्षेत्रका मानिसहरूलाई ध्यान दिन सक्नुहुन्छ। (मत्ती ९:३७, ३८) उदाहरणका लागि, संयुक्‍त राज्यका एक भाइले सच्चाइमा आउनअघि भियतनामी भाषा सिकेका थिए। फलतः अहिले भियतनामीभाषी मानिसहरूलाई सुसमाचार सुनाएर तिनले अपार आनन्द महसुस गरिरहेका छन्‌। साक्षीकार्यमा उक्‍त भाषाको ज्ञान अझ बढी सदुपयोग गर्न र भियतनामी इलाकामा आवश्‍यकता बढी भएकोले तिनी त्यस टाढा ठाउँमा आफ्नो परिवारसहित बसाइँ सरे। त्यसरी बसाइँ सरेपछि भियतनामका थुप्रै मानिसहरूसँग बाइबल अध्ययन गर्न तिनी सफल भएका छन्‌।

५ एक अग्रगामी बहिनीले आफ्नो क्षेत्रमा धेरै बहिरा मानिसहरू भेटिन्‌। आफूलाई सांकेतिक भाषा सिकाउने कुनै व्यक्‍ति पाए हुन्थ्यो भनेर तिनले यहोवासँग मदत मागिन्‌। किनकि तिनी ती बहिराहरूलाई सच्चाइ सिकाउन चाहन्थिन्‌। एक दिन नजिकैको विशाल बजारमा किनमेल गर्दैगर्दा एउटी जवान बहिरीले उक्‍त बहिनीलाई लेखेर देखाउँदै सरसामान खोज्न मदत मागिन्‌। सरसामान खोज्न सहयोग गरेपछि त्यस इलाकाका बहिराहरूलाई मदत गर्न सांकेतिक भाषा सिक्न चाहन्छु भनी अग्रगामी बहिनीले लेखेर उक्‍त आइमाईलाई बताइन्‌। तत्पश्‍चात्‌ बहिरी स्त्रीले लेखेरै सोधिन्‌: “तपाईं किन बहिराहरूलाई मदत गर्न चाहनुहुन्छ?” बहिनीले जवाफमा लेखिन्‌: “म यहोवाको साक्षी हुँ र बहिराहरूलाई बाइबलबारे बुझ्न मदत गर्न चाहन्छु। मलाई सांकेतिक भाषा सिकाउनुभयो भने म खुसीसाथ तपाईंलाई बाइबलबारे सिकाउने छु।” बहिनी यसो भन्छिन्‌: “उसले ‘हुन्छ नि’ भन्दा त खुसीले मेरो खुट्टा भुइँमै रहेन।” उक्‍त बहिनी त्यस स्त्रीको घरमा छ हप्तासम्म प्रत्येक साँझ गइन्‌। तिनले सांकेतिक भाषा सिकिन्‌ र बहिरी स्त्रीले चाहिं सच्चाइ सिकेर बप्तिस्मा पनि लिइन्‌! यो ३० वर्षअघिको कुरा हो। अनि अहिले पनि उक्‍त अग्रगामी बहिनीले बहिराहरूलाई साक्षी दिइरहेकी छिन्‌।

६ तपाईंको इलाकामा सबैलाई साक्षी दिइसकेको छ र मुठीभर मात्र साक्षीहरू भएको अर्को इलाकाको भाषा तपाईं धाराप्रभावले बोल्न सक्नुहोला। यदि उक्‍त इलाकामा बसाइँ सर्न इच्छुक हुनुहुन्छ तथा सक्नुहुन्छ भने मण्डलीका प्राचीनहरूसित त्यसबारे कुरा गरे कसो होला? प्राचीनहरूले तपाईंलाई योग्य ठहऱ्‍याएको खण्डमा उनीहरूले सोसाइटीलाई पत्राचार गर्नसक्छन्‌। त्यसरी पत्राचार गर्दा प्राचीनहरूले तपाईंको योग्यता तथा भाषिक दक्षताहरू जाँचबुझ गरेर लेखेको पत्र पनि सँगै पठाउनु अनिवार्य छ।—अगस्त १५, १९८८ को प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ २१-३ हेर्नुहोस्‌।

७ उपलब्ध साधनहरू सदुपयोग गर्ने: हाम्रा साहित्यहरू थुप्रै भाषाहरूमा उपलब्ध छन्‌। आफ्नो क्षेत्रमा बोलिने सबै भाषामा पर्चाहरू वा चाहनुहुन्छ अथवा अरू पुस्तिकाहरू लग्नु बेस हुनेछ। कुनै व्यक्‍तिले स्थानीय भाषा बोल्न जान्दैन भने कुन भाषा पढ्‌न रुचाउनुहुन्छ भनी सोध्नुहोस्‌। त्यसपछि, सम्भव भए सोही भाषाको साहित्य दिनुहोस्‌।

८ साक्षीकार्यमा भेटेको व्यक्‍तिको भाषा तपाईं बोल्न जान्‍नुहुन्‍न भने पनि सुसमाचार टक्य्राउन सक्नुहुन्छ। कसरी? सबै जातिका मानिसहरूका लागि सुसमाचार (अंग्रेजी) नामक पुस्तिका चलाएर। यसमा ५९ भाषाहरूमा संक्षिप्त सन्देश दिइएको छ। घरधनीको भाषा थाह पाउनुभएपछि उक्‍त पुस्तिकाको पृष्ठ २ को निर्देशनअनुसार तिनलाई नै पुस्तिकाको मिल्दो पृष्ठबाट सन्देश पढ्‌न लगाउनुहोस्‌। पढिसकेपछि तिनकै भाषाको साहित्य देखाउनुहोस्‌। सो भाषाको साहित्य नभएमा तपाईंसँग भएको कुनै पनि भाषाको साहित्य प्रस्तुत गर्नुहोस्‌। तिनकै भाषामा एक प्रति साहित्य लिएर फेरि आउनेछु भन्‍नुहोस्‌। तिनको नाउँ र ठेगाना लिनुहोस्‌। उक्‍त घरधनीको भाषा जान्‍ने मण्डलीको कुनै व्यक्‍तिलाई सो कुरा अवगत गराउन सक्नुहुन्छ। पुनःभेट गर्न उक्‍त भाषा जान्‍ने कोही नभए तपाईं स्वयंले यो चुनौती सामना गर्न सक्नुहुन्छ। सायद उक्‍त घरधनीले साहित्य पढ्‌दा तपाईंले पनि तिनीसँगसँगै आफ्नो भाषाको साहित्य हेर्दै अध्ययन गर्न सक्नुहुन्छ।—१ कोरि. ९:१९-२३.

गैरमसीही धर्मका मानिसहरूलाई साक्षी दिने

९ अरूको धार्मिक पृष्ठभूमिबारे केही ज्ञान छ भने परमेश्‍वरको राज्यबारे प्रभावकारी साक्षी दिन मदत मिल्छ। मानिसजातिद्वारा परमेश्‍वरको खोज (अंग्रेजी) नामक पुस्तकले विश्‍वका मुख्य मुख्य धर्महरूको अन्तरदृष्टि प्रदान गर्छ। अतः मानिसहरूको विश्‍वासबारे धेरै कुरा जान्‍नसक्छौं र तिनीहरूलाई सच्चाइ अंगाल्न सहयोग गर्नसक्छौं।

१० गैरमसीही धर्मका मानिसहरूलाई साक्षी दिन यहोवाको संगठनले उपलब्ध गराएका केही साहित्यहरूको सूची यस परिशिष्टको अन्तिम पृष्ठमा दिइएको छ। मानिसहरूलाई कसरी सुसमाचार सुनाउने, उक्‍त साहित्यहरू पढेर बुझ्नेछौं। तर्क (अंग्रेजी) पुस्तक पनि उत्तिकै उपयोगी औजार हो भनेर भुल्नु हुँदैन। बौद्ध धर्मावलम्बी, हिन्दू, यहूदी तथा मुसलमानहरूसँग कुराकानी गर्ने व्यवहारिक सुझाउहरू उक्‍त पुस्तकको पृष्ठ २१-४ मा दिइएको छ।

११ सावधानीसाथ कुरा गर्ने: तिनीहरूको विश्‍वास निश्‍चय नै अरू सँगी विश्‍वासीहरूको जस्तै हो भन्‍ने निष्कर्ष निकालेर एउटा धर्मका सबै मानिसहरू एकै थरीका हुन्छन्‌ भन्ठान्‍नु हुँदैन। बरु, आफूसँग कुरा गर्ने व्यक्‍तिको विचारधारा बुझ्ने कोसिस गर्नुपर्छ। (प्रेरि. १०:२४-३५) मुसलमान भएको नाताले कुरान परमेश्‍वरको वचन हो भनी सालिमोनले सानैदेखि विश्‍वास गरेका थिए। तर दयालु परमेश्‍वरले मानिसहरूलाई अग्निमय नरकमा सास्ती दिनुहुन्छ भन्‍ने मुसलमान धर्मको शिक्षाबारे तिनको चित्त बुझेको थिएन। एक दिन यहोवाका साक्षीहरूले तिनलाई सभामा आउने निम्तो दिए। सच्चाइ यही हो भनेर तिनले तुरुन्तै थाह पाइहाले र हाल मसीही मण्डलीको प्राचीनको हैसियतमा खुसीसाथ सेवा गरिरहेका छन्‌।

१२ गैरमसीहीहरूलाई साक्षी दिंदा उनीहरूको विश्‍वासबारे कुरा गरेको गरेकै गरेर सुसमाचार सुनाउनदेखि चुक्नु हुँदैन। (प्रेरि. २४:१६) कुनै कुनै धर्मका अनुयायीहरू ‘धर्मपरिवर्तन’ गर्ने कुरा सुन्‍न पनि चाहँदैनन्‌। अतः परमेश्‍वरको वचनको सच्चाइमा तिनीहरूको ध्यान खिंच्न पारस्परिक चासोको विषयमा कुरा थाल्नुहोस्‌। नम्रतासाथ कुराकानी गर्दा र स्पष्टसित सच्चाइ प्रस्तुत गर्दा भेडाखाले व्यक्‍तिहरूले हाम्रो कुरा सुन्छन्‌।

१३ शब्द छनौटमा पनि राम्ररी ध्यान पुऱ्‍याउनुपर्छ अन्यथा मानिसहरू सुसमाचारदेखि त्यसै तर्किन्छन्‌। उदाहरणका लागि, हतारपतार म मसीही हुँ भनी आफ्नो परिचय दिनुभयो भने उक्‍त व्यक्‍तिले तपाईंलाई मसीहीजगत्‌बाट आएको भन्ठान्‍नसक्छन्‌। फलतः अवरोध खडा हुनसक्छ। बाइबललाई “धर्मशास्त्र” वा “पवित्र लेखोटहरू” भन्‍नु पनि लाभकारी हुनसक्छ।—मत्ती २१:४२; २ तिमो. ३:१५.

१४ बौद्ध धर्मावलम्बीहरूलाई साक्षी दिने: (मानिसजातिद्वारा परमेश्‍वरको खोज पुस्तकको अध्याय ६ हेर्नुहोस्‌।) बौद्ध धर्मावलम्बीहरूको एकदमै फरक फरक विश्‍वास हुन्छ। हाम्रोजस्तै भावना भएको एक जना सृष्टिकर्ता हुनुहुन्छ भनी स्वीकार्नुको साटो बौद्ध धर्मावलम्बीहरूले सा.यु.पू. छैठौं शताब्दीका गौतम बुद्धलाई धार्मिक आदर्श मान्छन्‌। जीवनमा पहिलो चोटि बिरामी, वृद्ध तथा मृत व्यक्‍ति देख्दा जीवनको अर्थबारे गौतम असाध्यै दुःखित भए। ‘के मानिसहरू जन्मनुको कारण दुःखकष्ट भोग्नु, वृद्ध हुनु र त्यसपछि मर्नु मात्र हो र?’ भनी तिनी छक्क परे। निस्सन्देह, जवाफ चाहने निष्कपट बौद्ध धर्मावलम्बीहरूलाई हामी उक्‍त प्रश्‍नहरूको जवाफ दिनसक्छौं।

१५ बौद्ध धर्मावलम्बीहरूसँग कुरा गर्दा सकारात्मक सन्देश तथा सबै पवित्र पुस्तकभन्दा महान्‌ पुस्तक अर्थात्‌ बाइबलमा पाइने स्पष्ट सच्चाइबारे मात्र कुरा गर्नुहोस्‌। अधिकांश मानिसहरूजस्तै बौद्ध धर्मावलम्बीहरू शान्ति, नैतिकता र पारिवारिक जीवनप्रति गहिरो चासो राख्छन्‌ अनि ती विषयहरूमा छलफल गर्न अक्सर खुसी हुन्छन्‌। फलतः मानिसजातिका समस्याहरूको साँचो समाधान परमेश्‍वरको राज्यले मात्र गर्नसक्छ भनी प्रकाश पार्न सक्नुहुन्छ। एउटी बहिनीले किराना पसलमा एक चिनियाँ पुरुष भेटिन्‌ र तिनलाई तिनकै भाषामा एउटा पर्चा दिइन्‌ अनि बाइबल अध्ययन गर्ने प्रस्ताव राखिन्‌। उक्‍त पुरुषले भने: “पवित्र बाइबलको कुरा गर्नुभएको हो? मैले जीवनभरि खोजिरहेको कुरै यही हो!” तिनले त्यही हप्तादेखि अध्ययन गर्न थाले र सबै सभाहरू धाउन थाले।

१६ एउटी अर्की अग्रगामी बहिनीले दशकौंदेखि चिनियाँ विद्यार्थीहरूलाई सच्चाइ सिकाइरहेकी छिन्‌। ती विद्यार्थीहरू आठ-कोठे आवासगृहमा बस्छन्‌। त्यहाँ साक्षी दिन जाँदा प्रत्येक कोठामा एउटा अध्ययन सुरु गर्न सकूँ भनी यहोवालाई मदत माग्दै उक्‍त बहिनीले प्रार्थना गरिन्‌। नभन्दै दुई हप्ताभित्रै तिनले प्रत्येक कोठामा एक जनासँग अध्ययन गर्न थालिसकेकी थिइन्‌। प्रायजसो विद्यार्थीहरूले शान्ति र आनन्दप्रति चासो राख्ने हुनाले उक्‍त बहिनीले ती विद्यार्थीहरूसित पनि त्यसैबारे कुरा गरिन्‌। तत्पश्‍चात्‌ तिनीहरू पनि त्यही चाहन्छन्‌ कि भनी बहिनीले सोधिन्‌। तिनीहरू सधैंजसो सहमत भए। बहिनीले स्थायी शान्ति र आनन्द—त्यसलाई कसरी प्राप्त गर्ने (अंग्रेजी) पुस्तिकाप्रति तिनीहरूको ध्यान आकर्षित गर्छिन्‌। उक्‍त पुस्तिका चिनियाँहरूका लागि नै तयार गरिएको हो। आफूले धेरैअघिदेखि सच्चाइ खोजिरहेको र अहिले बल्ल भेटेको कुरा एक विद्यार्थीले जम्मा पाँच चोटि अध्ययन गरेपछि बहिनीलाई बताए।

१७ हिन्दूहरूलाई साक्षी दिने: (मानिसजातिद्वारा परमेश्‍वरको खोज पुस्तकको अध्याय ५ हेर्नुहोस्‌।) हिन्दूहरूको निश्‍चित धर्मसिद्धान्त छैन भन्‍ने प्रायः सबैलाई थाह भएकै कुरा हो। हिन्दू दर्शन साह्रै जटिल छ। मुख्य परमेश्‍वर ब्रह्‍मा त्रिएक हुनुहुन्छ भन्‍ने हिन्दूहरूको धारणा छ (सृष्टिकर्ता ब्रह्‍मा, पालनकर्ता विष्णु र संहारकर्ता शिव)। पुनर्जन्मबारे शिक्षा दिइने हुनाले तिनीहरू अमर आत्मामा विश्‍वास गर्छन्‌। फलतः हिन्दूहरू भाग्यमा आस्था राख्छन्‌। (तर्क पुस्तकको पृष्ठ ३१७-२१ अनि मे १५, १९९७ प्रहरीधरहरा पृष्ठ ३-८ हेर्नुहोस्‌।) सबै धर्मले एउटै सच्चाइतर्फ डोऱ्‍याउँछ भन्‍ने सहिष्णुताको मिथ्या हिन्दू धर्मले सिकाउँछ।

१८ हिन्दूलाई साक्षी दिंदा हिन्दू दर्शनबारे लम्बाइचौडाइ कुरा नगरी मानव सिद्धता प्राप्त गरेर यसै पृथ्वीमा सधैंभरि बाँच्ने हाम्रो बाइबल आधारित आशा बताउनुपर्छ। साथै मानिसजातिले सामना गर्नुपरेका महत्त्वपूर्ण प्रश्‍नहरूको बाइबलले दिने चित्तबुझ्दो जवाफहरूबारे बताउनुपर्छ।

१९ यहूदीहरूलाई साक्षी दिने: (मानिसजातिद्वारा परमेश्‍वरको खोज पुस्तकको अध्याय ९ हेर्नुहोस्‌।) अन्य गैरमसीही धर्महरूजस्तो यहूदीधर्म मिथ्याहरूमा नभई इतिहासमा आधारित छ। मानिसजातिद्वारा साँचो परमेश्‍वरको खोजको मूल तत्त्व प्रेरित हिब्रू धर्मशास्त्र बनिएको छ। यद्यपि, आधुनिक यहूदीधर्मले परमेश्‍वरको वचन विपरीत मानिसको आत्मा अमर हुन्छ भन्‍ने शिक्षा दिन्छ। हामी अब्राहामको परमेश्‍वरको उपासना गर्छौं र वर्तमान संसारमा सबैले समान समस्याहरू सामना गर्नुपर्छ भनेर कुरा गर्न सकिन्छ।

२० परमेश्‍वरमा त्यति आस्था नराख्ने यहूदी भेट्‌नुभयो भने तिनले पहिलेदेखि नै त्यस्तै आस्था राख्दै आएका हुन्‌ कि भनेर सोध्न सक्नुहुन्छ। त्यसो गर्नाले उसलाई कुन कुरा मन पर्ला भनी बुझ्न सक्नुहुनेछ। उदाहरणका लागि, परमेश्‍वरले किन दुःखकष्ट रहिरहने अनुमति दिनुभएको भनेर तिनले चित्तबुझ्दो स्पष्टीकरण अहिलेसम्म नपाएको हुनसक्छ। मसीहीजगत्‌ले येशूको झूटो अर्थ लगाएकोबारे नभएर युनानी धर्मशास्त्रका यहूदी लेखकहरूले उहाँको परिचय प्रस्तुत गरेअनुसार येशू नै मसीही हुनुहुन्छ भनेर पुनः जाँच्न निष्कपट यहूदीहरूलाई प्रोत्साहित गर्न सकिन्छ।

२१ मुसलमानहरूलाई साक्षी दिने: (मानिसजातिद्वारा परमेश्‍वरको खोज पुस्तकको अध्याय १२ हेर्नुहोस्‌।) मुसलमानहरू इस्लामीहरूका अनुगामी हुन्‌। अल्लाह एक मात्र ईश्‍वर हो र मोहम्मद (सा.यु. ५७०-६३२) उहाँका अन्तिम तथा प्रमुख अगमवक्‍ता हुन्‌ भनी तिनीहरू विश्‍वास गर्छन्‌। परमेश्‍वरको पुत्र छैन भन्‍ने विश्‍वास गर्ने भएकोले मुसलमानहरूको विचारमा येशू परमेश्‍वरका सानो अगमवक्‍ता मात्र हुनुहुन्छ। कुरान १,४०० वर्ष जति मात्र पुरानो हो र यसमा हिब्रू र युनानी दुवै धर्मशास्त्रबाट उद्धृत गरिएको छ। इस्लाम र क्याथोलिक धर्म निकै मिल्दोजुल्दो छ। दुवै धर्मले मानिसको आत्मा अमर हुन्छ, अस्थायी सन्ताप तथा अग्निमय नरक छ भनी सिकाउँछ।

२२ साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ र बाइबल उहाँद्वारा प्रेरित भएको हो भन्‍ने हाम्रो विश्‍वास चाहिं तिनीहरूसँग मिल्छ। ध्यान लगाएर कुरान पढ्‌नेले तोरह, भजनसंग्रह तथा सुसमाचारका पुस्तकहरू परमेश्‍वरका वचन हुन्‌ भनी संकेत गरिएको पाउनेछन्‌। अनि त्यसलाई पढेपछि त्यो साँच्चै परमेश्‍वरको वचन हो भनी तिनीहरूले बुझेका हुन्छन्‌ र पालन गर्नुपर्छ भनी जान्दछन्‌। अतः ती व्यक्‍तिहरूसँग उक्‍त पुस्तकहरू अध्ययन गर्ने प्रस्ताव राख्न सक्नुहुन्छ।

२३ मुसलमानलाई यसो भने प्रभावकारी हुनसक्छ: “मैले यस पुस्तकमा तपाईंहरूको धर्मले दिने शिक्षाबारे केही पढेको छु। [ तर्क पुस्तकको पृष्ठ २४ पल्टाउनुहोस्‌।] येशू अगमवक्‍ता हुनुहुन्थ्यो तर मोहम्मद चाहिं अन्तिम तथा प्रमुख अगमवक्‍ता थिए भनी तपाईंहरू विश्‍वास गर्नुहुन्छ भनी यस पुस्तकले बताउँछ। के मोशा साँचो अगमवक्‍ता थिए भनी तपाईं विश्‍वास गर्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] परमेश्‍वरको व्यक्‍तिगत नाउँबारे मोशाले परमेश्‍वरबाट के सिके, तपाईंलाई बताऊँ?” त्यसपछि, प्रस्थान ६:२, ३ पढ्‌नुहोस्‌। पुनःभेटमा जानुहुँदा साँचो परमेश्‍वरको अधीनमा बस्ने समय (अंग्रेजी) पुस्तिका, पृष्ठ १३ को “एउटै परमेश्‍वर, एउटै धर्म” उपशीर्षक छलफल गर्न सक्नुहुन्छ।

२४ आज थुप्रै मानिसहरू यशैया ५५:६ का शब्दअनुरूप चलिरहेका छन्‌। त्यहाँ यसो भनिएको छ: “जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई खोज। उहाँ नजीक हुनुहुँदानै उहाँलाई पुकार।” भाषा वा धार्मिक पृष्ठभूमि जस्तोसुकै भए तापनि उक्‍त कुरा निष्कपट हृदय भएका सबै मानिसहरूमा लागू हुन्छ। ‘सबै देशका जातिहरूलाई चेला बनाउने’ हाम्रो कोसिसलाई यहोवाले आशिष्‌ दिनुहुनेछ भनी हामी विश्‍वस्त हुनसक्छौं।—मत्ती २८:१९.

[पृष्ठ ६-मा भएको पेटी]

गैरमसीहीहरूका लागि तयार गरिएका साहित्यहरू

बौद्ध धर्मावलम्बी

पिताको खोजमा (सानो पुस्तिका)

“हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” (पुस्तिका)

चिनियाँ

स्थायी शान्ति र आनन्द—त्यसलाई कसरी प्राप्त गर्ने (पुस्तिका)

हिन्दू

कुरुक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट (सानो पुस्तिका)

मुक्‍तितर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग (सानो पुस्तिका)

मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? (सानो पुस्तिका)

हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? (पुस्तिका)

यहूदी

के युद्धरहित संसार कहिल्यै हुनेछ? (पुस्तिका)

मुसलमान

साँचो परमेश्‍वरको अधीनमा बस्ने समय (सानो पुस्तिका)

प्रमोदवनको बाटो कसरी पत्ता लगाउने (पर्चा)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने