प्रश्न पेटी
▪ मण्डलीका सभाहरूमा क-कसले प्रार्थना गर्नुपर्ने हो?
सामूहिक प्रार्थना हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो। यहोवासामु अरूको प्रतिनिधित्व गर्नु बहुमूल्य तथा गहन जिम्मेवारी हो। यसको महत्त्वमा ध्यान दिंदा सभाहरूमा प्रार्थना चढाउन कुन भाइ योग्य छन् भनेर प्राचीनहरूले निर्णय गर्दा राम्ररी छनौट गर्नु आवश्यक हुन्छ। बप्तिस्मा प्राप्त भाइहरूले मण्डलीको प्रतिनिधित्व गरिरहेका छन् भने, तिनी उदाहरणीय हुनुका साथै मण्डलीले आदर गरेको परिपक्व मसीही सेवक हुनुपर्छ। तिनीहरूको श्रद्धालु र आदरपूर्ण प्रार्थनाले यहोवा परमेश्वरसितको राम्रो सम्बन्ध प्रकट गर्नुपर्छ। मे १५, १९८६ को द वाचटावर-मा छापिएको “अरूको अगाडि नम्र हृदयले प्रार्थना गर्ने” शीर्षक लेखमा मण्डलीको लागि जनसामु प्रार्थना गर्नेहरूका लागि विशेष मदतकारी हुने महत्त्वपूर्ण सिद्धान्तहरू उल्लेख गरिएका छन्।
शंकास्पद वा कामकुरा हल्कासित लिने बानी भएका भाइ भनी चिनिएकालाई प्राचीनहरूले प्रार्थना गर्न लगाउनेछैनन्। असन्तुष्टि प्रकट गर्ने अथवा जन समुदायसमक्ष गरिने प्रार्थनालाई व्यक्तिगत भिन्नताहरू प्रकट गर्ने माध्यम ठान्नेहरूलाई छान्नुहुँदैन। (१ तिमो. २:८) भर्खरैका जवान भाइहरू पनि बप्तिस्माप्राप्त हुनसक्छन् तर मण्डलीको लागि प्रार्थना गर्न तिनी परिपक्व भइसकेका छन् कि छैनन् प्राचीनहरूले पक्का गर्नुपर्छ।—प्रेरित १६:१, २.
कहिलेकाहीं क्षेत्र सेवकाईको सभामा कुनै योग्य भाइहरू नहुँदा बहिनीहरूले नै प्रार्थना चढाउनु पर्ने हुनसक्छ। त्यसबेला तिनले शिर ढाक्नु आवश्यक छ। कथंकदाचित त्यस्ता सेवकाई सभाहरूमा योग्य भाइहरू उपस्थित नहुने देखियो भने प्राचीनहरूले नेतृत्व लिनको लागि योग्य बहिनीहरूलाई नै खटाउनुपर्ने हुन्छ।
अक्सर जन सभाका अध्यक्षले नै सुरुको प्रार्थना गर्छन्। तथापि, मण्डलीका अन्य सभाहरूमा योग्य भाइहरू थोरै मात्र छन् भने, सभा सुरु गर्ने वा सभाको अन्तिम भाग सञ्चालन गर्ने भाइ बाहेक अरूलाई सुरुको अथवा समापन प्रार्थना गर्न खटाउन सकिन्छ। जुनसुकै अवस्थामा पनि, मण्डलीको लागि प्रार्थना गर्न अह्राइने भाइलाई पहिले नै खबर गर्नुपर्छ। यसो गर्दा तिनले प्रार्थनामा के के भन्ने हो, निधो गर्न सक्नेछन्। त्यसपछि, तिनले उक्त सभामा उपयुक्त हुने खुरन्धार प्रार्थना गर्नसक्छन्।
त्यस्तो प्रार्थना लामो हुनु आवश्यक छैन। कुनै भाइले जनसमक्ष प्रार्थना गर्दा प्रायजसो उठेर, ठूलो स्वरमा सबैले बुझ्ने गरी प्रार्थना गर्नु बेस हुनेछ। यसो गर्दा भेला भएकाहरू सबैले प्रार्थना सुन्न अनि अन्तमा हृदयदेखि नै “आमेन!” भन्न सक्नेछन्।—१ इति. १६:३६; १ कोरि. १४:१६.