प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग ७: अध्ययनमा प्रार्थना गर्ने
१. (क) प्रार्थना गरेर बाइबल अध्ययन सुरु र अन्त गर्नु किन उचित छ? (ख) बाइबल अध्ययनमा हामी कहिलेदेखि प्रार्थना गर्न सक्छौं?
१ बाइबल विद्यार्थीहरूले आध्यात्मिक तवरमा प्रगति गर्न यहोवाको आशिष् अत्यावश्यक छ। (१ कोरि. ३:६) त्यसकारण, अध्ययनको सुरुमा र अन्तमा प्रार्थना गर्नु उचित छ। मसीहीहरूले गर्ने प्रार्थनाबारे थाह भएका मानिसहरूसित पहिलो चोटि अध्ययन गर्दा नै हामी यसो गर्न सक्छौं। अरू विद्यार्थीहरूको अध्ययनमा चाहिं कहिलेदेखि प्रार्थना गर्ने भनेर विचार गर्नुपर्ने हुन सक्छ। विद्यार्थीलाई प्रार्थना गर्नुको कारण बुझाउन तपाईं भजन २५:४, ५ अनि १ यूहन्ना ५:१४ जस्ता बाइबल पदहरू चलाउन सक्नुहुन्छ भने, येशू ख्रीष्टमार्फत यहोवालाई प्रार्थना गर्नुको महत्त्वबारे बताउन तपाईं यूहन्ना १५:१६ चलाउन सक्नुहुन्छ।
२. बाइबल अध्ययनमा यदि कुनै बहिनीसित एक जना बप्तिस्माप्राप्त भाइ अथवा बप्तिस्मा अप्राप्त भाइ छन् भने कसले प्रार्थना गर्नेछन्?
२ बाइबल अध्ययनमा कसले प्रार्थना गर्नुपर्छ? कुनै बहिनीसित एक जना बप्तिस्माप्राप्त भाइ छन् भने, शिरपोस लगाएर बहिनीले अध्ययन सञ्चालन गर्न सक्नेभए तापनि अध्ययनमा तिनै भाइले प्रार्थना गर्नेछन्। (१ कोरि. ११:५, १०) अर्कोतर्फ, यदि अध्ययनमा कुनै बहिनीसित बप्तिस्मा अप्राप्त भाइ छन् भने बहिनीले नै प्रार्थना गर्नुपर्छ। यस्तो अवस्थामा, प्रार्थना गर्दा र अध्ययन सञ्चालन गर्दा तिनले शिरपोस लगाउनुपर्छ।
३. बाइबल अध्ययनमा प्रार्थना गर्दा कस्ता विषयहरू समावेश गर्नु उपयुक्त हुनेछ?
३ प्रार्थनामा के-के समावेश गर्न सकिन्छ: बाइबल अध्ययन गर्दा लामो प्रार्थना गरिरहनु आवश्यक छैन तर प्रार्थना तोकेरै गरेको हुनुपर्छ। अध्ययनमा परमेश्वरको आशिष् माग्नुका साथै आफूले सिकेको सत्यको लागि धन्यवाद चढाउनुबाहेक निर्देशनको स्रोतको रूपमा यहोवाको प्रशंसा गर्नु एकदमै उपयुक्त छ। (यशै. ५४:१३) विद्यार्थीप्रतिको हाम्रो निष्कपट चासो र यहोवाले चलाइरहनुभएको संगठनप्रतिको हाम्रो कृतज्ञता प्रकट गर्ने अभिव्यक्तिहरू पनि हामी समावेश गर्न सक्छौं। (१ थिस्स. १:२, ३; २:७, ८) विद्यार्थीले सिकिरहेको कुरा लागू गर्न तिनको कोसिसमा आशिष् दिनुहोस् भनी यहोवालाई प्रार्थना गर्दा तिनले “वचन पालन गर्ने” हुनुको महत्त्व बुझ्न मदत पाउनेछन्।—याकू. १:२२.
४. बाइबल अध्ययनको सुरु र अन्तमा प्रार्थना गर्दा कस्ता लाभहरू उठाउन सक्छौं?
४ बाइबल अध्ययन गर्दा प्रार्थना गर्नुका थुप्रै लाभहरू छन्। यसो गर्दा परमेश्वरको आशिष् पाउँछौं। (लूका ११:१३) यसले परमेश्वरको वचन अध्ययन गर्नुको गम्भीरतालाई जोड दिन्छ। विद्यार्थीले हामीले गरेको प्रार्थना सुन्दा तिनले प्रार्थना गर्ने तरिका सिकिरहेका हुन्छन्। (लूका ६:४०) त्यसबाहेक, परमेश्वरप्रतिको प्रेम र उहाँका अद्वितीय गुणहरूप्रतिको कृतज्ञताले ओतप्रोत हृदयबाट गरेको प्रार्थनाले विद्यार्थीलाई यहोवासित व्यक्तिगत सम्बन्ध गाँस्न मदत गर्न सक्छ।