थुप्रैको जीवन खतरामा छ!
१ “सबै मानिसहरूले उद्धार पाऊन्” भन्ने यहोवा चाहनुहुन्छ भनेर बाइबलले स्पष्ट पार्छ। तथापि, यो कुरा पनि सत्य हो कि पृथ्वीका खरबौं बासिन्दाहरूको भविष्य यहोवा परमेश्वर र उहाँको पुत्र येशूको राज्यप्रति तिनीहरूले व्यक्त गर्ने मनोवृत्तिमा भर पर्छ। “सत्यको ज्ञानमा” आधारित मनोवृत्ति मात्र सही मनोवृत्ति हुनसक्छ। (१ तिमो. २:३, ४) परमेश्वरको नयाँ संसार स्थापित गर्न पृथ्वीबाट चाँडै सम्पूर्ण दुष्टता हटाइनेछ भनेर सूचना दिनुका साथै हामीलाई जीवन बचाउने आधारभूत काम गरिरहने आज्ञा पनि दिइएको छ।—मत्ती २४:१४; २८:१९, २०; रोमी. १०:१३-१५.
२ किन यस्तो जरुरी?: येशू ख्रीष्टले “जगत्को शुरूदेखि अहिलेसम्म” नभएको एउटा “महा संकष्ट हुनेछ” भनेर चेताउनी दिनुभयो। (मत्ती २४:२१) त्यो महा संकष्ट आरमागेडोनमा पुगेर टुँगिनेछ। (प्रका. १६:१६) हाम्रा नातेदार, छिमेकी, संगी-कामदार, स्कूलका साथी र चिनेजानेका मानिसहरूलगायत सुसमाचार स्वीकार नगर्ने मानिसहरूको ठूलो समुदाय विनाशको मुखैमा छन्। तर हाम्रो उद्देश्य सारा संसारलाई आफ्नो एक मात्र पुत्र येशू ख्रीष्ट बलिदानस्वरूप दिनुभएर प्रेम प्रकट गर्नुहुने परमेश्वरको अनुकरण गर्दै “सबै मानिसहरू”-कहाँ पुग्नु हो। (यूह. ३:१६) हामीले परमेश्वरको सुरक्षास्थलमा भागेर आउन सबै जनालाई जोसिलो भई निमन्त्रणा दिनैपर्छ। प्रचार कार्यमा पूर्णतया भाग लिएर हामी रक्तदोषी हुनबाट बच्नसक्छौं।—इज. ३३:१-७; १ कोरि. ९:१६.
३ हाम्रो उद्देश्य के हो?: प्रचार कार्यको महत्त्वलाई परमेश्वरको वचनभरि जोड दिइएको छ। प्रेरित पावलले भनेझैं परमेश्वरको मार्गअनुरूप हिंड्न “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ।” (२ कोरि. ५:१४) यसबाहेक, प्रहरीधरहरा-ले प्रचार गर्नुपर्ने हाम्रो दायित्वलाई बारम्बार जोड दिन्छ। हाम्रो राज्य सेवकाई-ले प्रचार कसरी गर्ने भनेर निरन्तर निर्देशन दिन्छ। प्राचीनहरूले यस कार्यको व्यवस्था मिलाउँछन् र हामीलाई भाग लिन प्रोत्साहन दिन्छन्। सँगी प्रकाशकहरू उनीहरूसित काम गर्न आमन्त्रित गर्छन्। प्रस्तुति तयारी गर्ने, पत्रिका तथा अन्य साहित्य प्रस्तुत गर्ने, पुनःभेट गर्ने, बाइबल अध्ययन सञ्चालन गर्ने र हरेक अवसरमा साक्षी दिनेबारे हामी धेरै सुन्छौं। यी सबैले हामीलाई अरूको जीवन बचाउने हाम्रो उद्देश्य पूरा गर्न मदत गर्छ।—१ कोरि. ९:२२, २३; एफि. १:१३.