चासो जगाउन वर्तमान घटनाहरू चलाउनुहोस्
१ के तपाईं सेवकाई ताजा राख्न र बाइबल सन्देशप्रति मानिसहरूको चासो जगाउन नियमित तवरमा राम्रा तरिकाहरू पाइनै रहन चाहनुहुन्छ? चाहनुहुन्छ भने, वार्तालाप सुरु गर्न संसार र तपाईंको समाजमा भइरहेका घटनाहरू चलाउनुहोस्। हालै भएका स्थानीय र राष्ट्रिय घटनाहरू अथवा अन्तरराष्ट्रिय समाचारतिर ध्यान आकर्षित गर्न सक्नुहुन्छ। यी कुराहरू सधैं परिवर्तन भइरहन्छन्। (१ कोरि. ७:३१) निम्न उदाहरणहरूलाई ध्यान दिनुहोस्।
२ आर्थिक समस्या र भाउ-बेसा नै मानिसहरूको सबैभन्दा ठूलो चिन्ताका विषय हुन्। तसर्थ, तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “के तपाईंले महँगी बढ्न लागेको समाचार [विषय उल्लेख गर्नुहोस्] सुन्नुभयो?” अथवा ठूलो कम्पनीले कामदारहरूलाई निकालेर उब्जेको बेरोजगारीको समस्याबारे तपाईं उल्लेख गर्न सक्नुहुन्छ। तपाईं कसरी छलफलको थालनी गर्नुहुन्छ त्यसलाई विचार गर्दै त्यसपछि यो प्रश्न सोध्न सक्नुहुन्छ “बाँच्न किन यत्ति गाह्रो परिरहेको छ के तपाईंले यसबारे कहिल्यै सोच्नुभएको छ?” अथवा “के जीवनका आवश्यकताहरू पूरा गर्न सधैं यस्तै कठिनाइ झेलीरहनु पर्ला त?”
३ हिंसाका रिपोर्टहरू, जस्तै: परिवारहरू अथवा स्कूलका विद्यार्थीहरूबीच भएका दुःखद् घटनाहरू पनि छलफल सुरु गर्ने अर्को विषय हुनसक्छ। तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “के तपाईंले अखबारमा त्यस घटनाबारे [समाजमा भएको दुःखद् घटना उल्लेख गर्नुहोस्] पढ्नुभयो?” त्यसपछि, “तपाईंको विचारमा संसारमा यत्ति धेरै हिंसा किन भइरहेको होला?” अथवा “हामीले सुरक्षित महसुस गर्नसक्ने कुनै समय आउला जस्तो तपाईंलाई लाग्छ?” भन्ने प्रश्नहरूमध्ये कुनै एक सोध्न सक्नुहुन्छ।
४ संसारका विभिन्न भागहरूको विनाशकारी बाढ, भूकम्प अथवा गृह कलहका समाचारहरूले पनि चासो जगाउँछ। उदाहरणका लागि, तपाईं सोध्न सक्नुहुन्छ:
◼ “के परमेश्वर [प्राकृतिक प्रकोपको नाम बताउनुहोस्]-का लागि दोषी हुनुहुन्छ?” अथवा तपाईं भर्खरै चर्केको गृह कलहबारे उल्लेख गर्दै यसो भन्न सक्नुहुन्छ: “सबैजना शान्ति नै चाहन्छन् तर पाउन भने किन यस्तो गाह्रो भइरहेको छ?”
५ परिचयमा प्रयोग गर्न सकिने वर्तमान घटनाहरूबारे थाह पाइराख्नुहोस्। यस सम्बन्धमा बाइबलबारे छलफल पुस्तिकाको पृष्ठ ३ मा “वर्तमान घटनाहरू” अन्तर्गत अझ बढी मदतकारी सुझाउहरू पाउन सकिन्छ। तथापि, राजनैतिक वा सामाजिक विषयहरूमा कसैको पक्ष लिएर बोल्नदेखि होसियार हुनुहोस्। बरु, मानिसजातिको समस्याहरूको स्थायी समाधान गर्ने एकमात्र माध्यम परमेश्वरको राज्य र धर्मशास्त्रमा ध्यानकेन्द्रित गर्नुहोस्।