परिवर्तनशील संसारमा प्रचार गर्ने
१ एकैछिनमा परिस्थिति परिवर्तन हुन सक्छ! प्राकृतिक प्रकोप, आर्थिक संकट, राजनैतिक उथलपुथल वा व्यापक प्रचारप्रसार भएको दुःखद घटना एकै रातमा कुराकानीको मुख्य विषय बन्न सक्छ। तथापि, त्यति नै चाँडो मानिसहरूको ध्यान अन्तै खिचिन्छ। (प्रेरि. १७:२१; १ कोरि. ७:३१) यस परिवर्तनशील संसारमा मानिसहरूलाई राज्य सन्देश सुनाउन हामी कसरी उनीहरूको ध्यान खिच्न सक्छौं?
२ अरूको चिन्ताका विषयहरू थाह उनुहोस्: मानिसहरूको ध्यान खिच्ने एउटा तरिका वर्तमान घटनाहरूबारे कुरा गरेर हो। परमेश्वरसितको आफ्नो सम्बन्धबारे गम्भीरतासाथ सोच्न आफ्ना श्रोताहरूलाई आग्रह गर्ने क्रममा येशूले एक चोटि भर्खरै घटेका दुःखद घटनाहरूबारे उल्लेख गर्नुभयो, जुन घटनाहरू उनीहरूको मनमा ताजै थियो। (लूका १३:१-५) त्यस्तै गरी, सुसमाचार सुनाउने सन्दर्भमा यदि हामीले आफ्नो इलाकाका मानिसहरूको मन छुने कुनै ताजा खबर वा छरछिमेकमा घटेको कुनै घटनाबारे बतायौं भने राम्रो हुन्छ। तथापि, यस्ता कुराहरूबारे छलफल गर्दा राजनैतिक वा सामाजिक विषयहरूमा कसैको पक्ष नलिन होसियार हुनै पर्छ।—यूहन्ना १७:१६.
३ हाल मानिसहरूले कुन विषयमा सोचिरहेका छन् भनेर हामी कसरी थाह लगाउन सक्छौं? यसको सबैभन्दा राम्रो उपाय प्रश्न सोधेर उनीहरूको कुरा सुन्नु हुन सक्छ। (मत्ती १२:३४) मानिसहरूप्रतिको चासोले हामीलाई अरूको दृष्टिकोण बुझ्न र कौशलतासाथ थप कुरा सोध्न प्रेरित गर्नेछ। घरधनीले फ्याट्ट भन्ने कुराले त्यस इलाकाका अधिकांश मानिसहरूको चिन्ताको विषय प्रकट गर्नुका साथै साक्षी दिने बाटो खुल्न सक्छ।
४ प्रस्तुति तयारी गर्ने: परिवर्तनशील संसारमा क्षेत्र सेवकाईको लागि तयारी गर्ने सन्दर्भमा हामी कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने भन्ने पुस्तिकाको सदुपयोग गर्न सक्छौं। हाम्रा प्रस्तुतिमा हामी कसरी वर्तमान घटनाहरू समावेश गर्न सक्छौं भन्ने विषयमा यसै पुस्तिकाको पृष्ठ ३ मा “अपराध/सुरक्षा” र “वर्तमान घटनाहरू” शीर्षकअन्तर्गत लाभदायी सुझावहरू दिइएका छन्। सन् २००० अक्टोबरको हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा पनि यस्तै जानकारी पाउन सकिन्छ। प्रस्तुति तयारी गर्दा उपयुक्त शास्त्रपद समावेश गर्न नभूल्नुहोस्।
५ हाम्रो इलाकाका मानिसहरू परिवर्तनशील जुन विषयमा चिन्तित छन्, त्यसैअनुरूप हामीले सुसमाचारको प्रस्तुतिलाई पनि ढाल्नु आवश्यक छ। त्यसप्रकार हामी मानिसहरूको जीवनमा प्रभाव पार्ने विषयमा कुरा गरिरहेका हुन्छौं। फलस्वरूप, आफ्ना गुण तथा स्तरहरूमा कहिल्यै परिवर्तन नहुनुहुने जो हुनुहुन्छ, उहाँलाई चिन्न हामी थुप्रैलाई मदत गर्छौं।—याकू. १:१७.