प्रेमले हामीलाई प्रचार गर्न उत्प्रेरित गर्छ
१ यहोवाका साक्षीको हैसियतमा हामी राज्यका जोसिला प्रचारक हौं भनेर चिरपरिचित छौं। (मत्ती २४:१४) विश्वभरि ६० लाखभन्दा बढी यस कार्यमा सक्रिय छन्; नयाँ व्यक्तिहरूले प्रचारकार्यमा भाग लिंदा तिनीहरू पनि थपिन्छन्। यस कार्यमा मानिसहरूको सहभागिताको आधारमा संख्या तालिकाबद्ध गरिन्छ।
२ यस्तो चुनौतिपूर्ण कार्यको स्वयम्सेवक हुन हामीलाई केले उत्प्रेरित गर्छ? हामीलाई यसो गर्न न दवाव न त भौतिक कुराको लोभ वा विशेष आदर दिइएको छ। सुरुमा त आफूलाई अयोग्य ठान्दै र जनसाधारणको नकारात्मक प्रतिक्रियाले हामीमध्ये धेरै डराएका थियौं। (मत्ती २४:९) हाम्रो कार्यलाई नियाल्नेहरू हामीलाई उत्प्रेरित गर्ने तत्त्वबारे बुझ्न सक्दैनन्। लगनशील भई लाग्नुको पक्कै पनि सशक्त कारण हुनैपर्छ।
३ प्रेमको शक्ति: येशूले यहोवा ‘परमेश्वरलाई आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर्नैपर्छ’ भनेर सबैभन्दा महान् आज्ञातर्फ संकेत गर्नुभयो। (मर्कू. १२:३०) यहोवा सार्वभौम शासक र सबै थोकका सृजनहार हुनुहुन्छ भन्ने गहिरो मूल्यांकनमा यहोवाप्रतिको हाम्रो प्रेम आधारित छ र उहाँ “महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ।” (प्रका. ४:११) उहाँका अद्भुत गुणहरू अतुलनीय छन्।—प्रस्थ. ३४:६, ७.
४ यहोवालाई चिन्नाले र प्रेम गर्नाले हामीलाई मानिसहरूसामु आफ्नो ज्योति चम्काउन उत्प्रेरित गर्छ। (मत्ती ५:१६) हामीले यहोवाको खुल्लमखुल्ला प्रशंसा गर्दा, उहाँका अद्भुत कार्यहरूबारे बोल्दा र उहाँको राज्यको सन्देश फैलाउँदा हाम्रो ज्योति चम्कन्छ। स्वर्गको बीचमा उडिरहेको स्वर्गदूतको साथमा भएझैं हामीसँग पनि “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार” छ। (प्रका. १४:६) विश्वव्यापी प्रचारकार्यको शक्ति नै प्रेम हो।
५ संसारको नजरमा हाम्रो प्रचारकार्य “मूर्खता” हो, तर यस कुरालाई हामीले ध्यान दिनुहुँदैन। (१ कोरि. १:१८) हाम्रो कार्यलाई दवाउन थुप्रै प्रयास गरिएका छन्। प्रेरितहरूलाई जस्तै हाम्रो वफादार प्रेमले हामीलाई यसो भन्न बलियो बनाएको छ: “हामीले . . . सुनेका कुराहरू हामी नबोली सक्तैसक्तैनौं . . . हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।” (प्रेरि. ४:२०; ५:२९) विरोधको वावजूद पृथ्वीको सबै भागमा प्रचार कार्य निरन्तर बढिरहेको छ।
६ यहोवाप्रतिको हाम्रो प्रेम जलिरहेको आगोजस्तै हो। यसले हामीलाई सर्वत्र उहाँको श्रेष्ठताबारे घोषणा गर्न वाध्य गर्छ। (यर्मि. २०:९; १ पत्रु. २:९) हामी सधैं “जाति जातिहरूका बीचमा उहाँका कार्यहरूको प्रचार [गरी नै रहेनेछौं] . . . किनकि उहाँले महिमित कामहरू गर्नुभएको छ।”—यशै. १२:४, ५.