प्रश्न पेटी
▪ थप मण्डली पुस्तक अध्ययन समूह कहिले स्थापित गर्नु उपयुक्त हुन्छ?
कुनै पनि पुस्तक अध्ययन समूहमा उपस्थित संख्या लगभग १५ वा त्योभन्दा कम गर्नुपरेमा नयाँ समूह स्थापना गर्नेबारे विचार गर्न सकिन्छ। यसमा राज्यभवन समूह पनि पर्छ। किन यस्तो सल्लाह दिइएको?
मण्डली पुस्तक अध्ययन सानो बनाउँदा सञ्चालकले उपस्थित प्रत्येक सदस्यलाई अझ राम्ररी ध्यान दिन सक्छन्। यसबाहेक, तिनीहरूले प्रशस्त मात्रामा टिप्पणी दिने मौका पाउँछन् र त्यसले तिनीहरूलाई आफ्नो विश्वासबारे जन घोषणा गर्न मदत दिन्छ। (हिब्रू १०:२३; १३:१५) मण्डलीलाई जिम्मा दिइएको इलाकाको चारैतिर स-साना पुस्तक अध्ययन समूह छन् भने मण्डली पुस्तक अध्ययन र क्षेत्र सेवकाईको लागि गरिने सभामा उपस्थित हुन सजिलो हुन्छ। पुस्तक अध्ययन समूहमा वृद्धि ल्याउने मण्डलीहरूले कुल पुस्तक अध्ययनको उपस्थिति संख्या पनि बढेको पाएका छन्।
विशेष परिस्थितिमा नयाँ पुस्तक अध्ययन समूह सानै हुने भए तापनि स्थापना गर्न उपयुक्त हुनसक्छ। कुनै पृथक इलाकामा भीड छ वा बस्नको लागि पर्याप्त सिट छैन भने यसो गर्न सकिन्छ। आवश्यकता परेमा वृद्ध, राती काम गर्ने व्यक्ति वा पति सच्चाइमा नभएका बहिनीहरूको लागि दिउँसो पनि थप पुस्तक अध्ययन स्थापना गर्न सकिन्छ।
हरेक पुस्तक अध्ययन समूहमा आध्यात्मिक तवरमा बलियो अनि सक्रिय धेरै प्रकाशकहरूका साथै योग्य सञ्चालक एवम् पढ्ने भाइलाई खटाइएको हुनुपर्छ। मण्डलीमा यो आवश्यकता पूरा गर्न भाइहरूले प्रयत्न गर्नुपर्छ।
मण्डली पुस्तक अध्ययनमा उपस्थित संख्या ठिक्कको छ कि छैन, आध्यात्मिक तवरमा राम्ररी रेखदेख गरिएको छ कि छैन र पुस्तक अध्ययन हुने स्थान सुविधाजनक छ कि छैन सो पक्का गरेर प्राचीनहरूले मण्डलीमा अझ उन्नति गर्न सक्छन्। नयाँ समूह उपयुक्त समयमा स्थापना गर्नुपर्छ। त्यसो गरेमा यस अनुपम आध्यात्मिक प्रबन्धबाट सबैले पूर्णतया लाभ उठाउन सक्छन्। के तपाईं मण्डली पुस्तक अध्ययनको लागि आफ्नो घरमा प्रबन्ध मिलाउन सक्नुहुन्छ? यसो गर्ने धेरैले आध्यात्मिक आशिष्हरू अनुभव गरेका छन्।