आइजायाज् प्रोफेसी अध्ययन गर्न तयार हुनुहोस्!
१ “शैतानको संसार जतिसम्म रहनुपर्ने हो, त्योभन्दा एक दिन पनि बढी यहोवाले रहन दिनु हुनेछैन . . . भनेर विश्वासी उपासकहरू ढुक्क हुनसक्छन्।” कस्तो प्रोत्साहनजनक अभिव्यक्ति! यी अभिव्यक्तिहरू कहाँबाट उद्धृत गरिएका हुन्? आइजायाज् प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड १ बाट। के यशैयाको भविष्यवाणीले यस्तो हृदयस्पर्शी निष्कर्षमा पुग्न सकिने कुनै ठोस कारण दिन्छ? अवश्य दिन्छ! बाइबलको यस पुस्तकमा मुक्तिको विषयलाई एकदमै सशक्त अनि स्पष्टसँग प्रस्तुत गरिएको छ। (यशै. २५:९) त्यसैकारण, मण्डली पुस्तक अध्ययनमा परमेश्वरको वचनको यस अंशबारे अध्ययन गर्नु हाम्रोनिम्ति ठूलो प्रोत्साहनको कुरा हुनेछ। हरेक हप्ता यसबाट आनन्द उठाउन के हामी नियमित तवरमा उपस्थित हुनेछौं? हामी किन उपस्थित हुनुपर्छ?
२ यशैया ३०:२० मा (नयाँ संशोधित संस्करण) यहोवालाई हाम्रो महान् “शिक्षक” भनी सम्बोधन गरिएको छ। यहोवाले आफ्नो वचन र “विश्वासी र बुद्धिमान दास[मार्फत]” प्रदान गर्नुहुने बाइबल आधारित प्रकाशनहरूद्वारा हामीसित बोल्नु हुँदा प्रत्येक मसीहीले ध्यान दिएर सुन्नुपर्छ। (मत्ती २४:४५; यशै. ४८:१७, १८) विशेष गरी यो कुरा आइजायाज् प्रोफेसी १ पुस्तक अध्ययन गर्दा लागू हुन्छ। यसको अध्ययनबाट तपाईं कसरी प्रचुर मात्रामा लाभ उठाउन सक्नुहुन्छ?
३ भाग लिन तरी गर्नुहोस्: पुस्तक अध्ययनको निम्ति तयारी गर्न हरेक हप्ता पर्याप्त समय छुट्याउनुहोस्। हरेक हप्ता छलफल गरिने अनुच्छेदहरू एक एक गरी पढ्नुहोस्। छापिएका प्रत्येक प्रश्नहरूमाथि विचार गर्नुहोस्। जवाफमा चिन्ह लगाउनुहोस्। यशैयाको पुस्तकबाट उद्धृत गरिएका पदहरू गाढा अक्षरमा छन्। यसलाई ध्यान दिएर पढ्नुहोस्। उल्लिखित अन्य बाइबल पदहरूचाहिं विषयवस्तुसँग कसरी सम्बन्धित छन् भनी हेर्न, पढेर हेर्नुहोस्। आफूले सिकिरहेका कुराहरूमाथि मनन गर्नुहोस्। त्यसपछि, आफूले तयार गरेका जवाफहरू आफ्नो मण्डली पुस्तक अध्ययन समूहमा बताउनुहोस्।
४ पुस्तक अध्ययन सञ्चालकले उपस्थित सबैलाई बाइबलको सदुपयोग गर्न र छलफल गरिएका विषयवस्तुको व्यावहारिक महत्त्व बुझ्न मदत दिनुपर्छ। यदि तपाईंले अनुच्छेदको प्रश्नको पहिला जवाफ दिने मौका पाउनु भएमा, प्रश्नले जे सोधेको छ, त्यसको छोटो र सरल जवाफ दिनुहोस्। अरू कसैले प्रश्नको जवाफ दिइसकेको छ भने, छलफल गरिएको बुँदाअन्तर्गत तपाईं थप टिप्पणी दिन सक्नुहुन्छ। मुख्य शास्त्रपदले कसरी विषयलाई समर्थन गर्छ, सो प्रस्ट्याउन सक्नुहुन्छ। आफ्नै शब्दमा जवाफ दिने कोसिस गर्नुहोस् र छलफलमा भाग लिंदा प्राप्त हुने आनन्द अनुभव गर्नुहोस्।
५ आउनुहोस्, यशैयाको पुस्तकमा भएको बहुमूल्य सन्देशलाई हामी सबै मिलेर उत्सुकतासाथ जाँच गरौं। यसले हामीलाई हरेक दिन यहोवाले दिनुहुने मुक्तिको आशामा आनन्दित भएर बाँच्न सिकाउँछ!—यशै. ३०:१८.