हामी पारिवारिक आनन्द पुस्तक अध्ययन गर्नेछौं
अक्टोबर ६, १९९७ मा सुरु हुने हप्तादेखि मण्डली पुस्तक अध्ययनमा पारिवारिक आनन्दको रहस्य पुस्तक अध्ययन गरिनेछ भन्ने जान्न पाएर तपाईंहरू पक्कै हर्षित हुनुहुनेछ। आनन्दित पारिवारिक जीवनको लागि यसमा व्यवहारिक शास्त्रीय मार्गदर्शनहरू छन्। यो पुस्तकको सामूहिक अध्ययन हामी कोही पनि छुटाउन चाहन्नौं। यसका लागि तयार पारिएको अध्ययन तालिकाले पुस्तकका प्रत्येक अनुच्छेद र बाइबल पद गहिरिएर केलाउने मौका दिनेछ।
पहिलो अध्यायमा उद्धृत नगरिएका शास्त्रपदहरू कम भएकोले पहिलो हप्तामा पूरै अध्याय अध्ययन गरिनेछ। अध्याय १५ पनि त्यसैगरि एकै चोटि सिध्याइनेछ। तथापि, अन्य सबै अध्यायहरूलाई दुइ भाग गरिनेछ र आधा आधा गरेर अध्ययन गरिनेछ। यसो गर्दा उल्लिखित सबै शास्त्रपद पढ्ने र छलफल गर्ने मौका मिल्छ। साथै प्रत्येक अनुच्छेदमा उद्धृत शास्त्रपदलाई कसरी सदुपयोग गर्न सकिन्छ राम्ररी बुझ्ने पर्याप्त समय मिल्नेछ।
प्रत्येक अध्यायको अन्तमा भएको शिक्षण पेटीलाई छलफल गर्नु अध्ययनको एउटा विशेषता हुनेछ। त्यसकारण, पेटीमा भएका प्रश्न र उल्लिखित शास्त्रपद छलफल गर्न पनि यथेष्ट समय छुट्याउनुपर्छ।
अध्ययन सञ्चालनको निम्ति मण्डली पुस्तक अध्ययन सञ्चालकले विशेष ध्यान दिएर तयारी गर्न आग्रह गरिन्छ। साथै आफ्नो समूहका नयाँ व्यक्तिहरूलगायत अरू सबैलाई राम्ररी तयारी गर्न, अध्ययनमा नियमित रूपले उपस्थित हुन र भाग लिन प्रोत्साहित गर्न पनि आग्रह गरिन्छ।—हाम्रो सेवकाई ७४-६.