“परमेश्वरको वचनका शिक्षकहरू” जिल्ला अधिवेशनमा सिकेका कुराहरूलाई के तपाईं व्यवहारमा उतार्दै हुनुहुन्छ?
१ गत जिल्ला अधिवेशनमा उपस्थित हुने व्यक्तिहरूले परमेश्वरको वचनका शिक्षकहरू हुने आफ्नो लक्ष्य पूरा गर्न यहोवाका साक्षीहरू कटिबद्ध भएको देख्न सके। (मत्ती २८:१९, २०) अधिवेशनबाट घर फर्कनुभएपछि, के-कस्ता निर्देशनहरू तपाईंले आफ्नो जीवन अनि क्षेत्र सेवकाईमा लागू गर्ने अठोट गर्नुभयो?
२ प्रेरित धर्मशास्त्र सिकाउन उपयोगी हुन्छ: पहिलो दिनको विषयले २ तिमोथी ३:१६ लाई जोड दियो। मुख्य भाषणले “परमेश्वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित” हुन हामीले परमेश्वरको वचनलाई उच्च मान्यता दिनुपर्छ, कुनै पनि मानव विचार तथा संस्कारभन्दा यसलाई बढी कदर गर्नुपर्छ अनि सदैव यसलाई प्रयोग गरिरहनुपर्छ भनेर देखायो। सेवकाईमा मदतको लागि पवित्र आत्मा र यसको सर्वश्रेष्ठ फल प्रेम खेती गर्न हामीले दिनहुँ प्रार्थना पनि गर्नैपर्छ। अनि हामीलाई सेवकहरूको रूपमा प्रशिक्षित गर्न यहोवाको पार्थिव संगठनले प्रबन्ध गरेका मण्डलीका सबै सभाहरूको हामीले सदुपयोग गर्नैपर्छ।
३ “आफू पनि सिक्दै अरूलाई पनि सिकाउँदै” शीर्षकको पहिलो दिनको गोष्ठीले हामी (१) मसीही नैतिकताको सबै पक्षमा परमेश्वरको व्यवस्थाअनुसार चल्ने, (२) लगनशील भई अध्ययन गर्ने बानीलाई कायम राख्ने र (३) शैतानले नाजायज फाइदा उठाउन सक्ने हाम्रो मन अनि हृदयको अवस्था तथा मनोवृत्ति हटाउने सम्बन्धमा उदाहरणीय हुनुपर्ने कुरालाई स्पष्ट पाऱ्यो। त्यसपछि, हामीले आफ्नो परिवारलाई अश्लीलताको महामारीबाट जोगाउने केही व्यावहारिक तरिकाहरू सिक्यौं। यौनसम्बन्धी दृश्यहरू आकलझुकल पनि नहेरेर आमाबाबुहरूलाई असल उदाहरण बसाल्न अनि छोराछोरीले इन्टरनेट चलाउँदा र टेलिभिजन हेर्दा निरीक्षण गर्न आग्रह गरियो। शुक्रबारको कार्यक्रमबाट तपाईंले कुनचाहिं बुँदा व्यवहारमा उतार्न सुरु गर्नुभयो?
४ उक्त दिनको अन्तिम भाषणले यहोवाको ज्योतिलाई कदर गर्ने हाम्रो दृढतालाई अझ बलियो बनाउन, परमेश्वरका विश्वासी अभिषिक्त जनसित घनिष्ठ हुन र यहोवाका जनबीच शान्ति बढाउन प्रोत्साहन दिइयो। के तपाईंले नयाँ विमोचित पुस्तक आइजायाज् प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड खण्ड २ पढ्नुभयो?
५ अरूलाई सिकाउन योग्य: दोस्रो दिनको मूल विषयको शास्त्रपद २ तिमोथी २:२ थियो। बिहानको गोष्ठी सुन्नुहुँदा के तपाईंले (१) योग्य व्यक्तिहरूलाई खोज्ने, (२) तिनीहरूको चासो बढाउने र (३) ख्रीष्टले आज्ञा गर्नुभएका सबै कुराहरू तिनीहरूलाई पालन गर्न सिकाउने सम्बन्धमा दिइएका सुझाउहरूलाई ध्यान दिनुभयो? घरधनीलाई धर्मशास्त्रबाट कमसेकम एउटा पद मात्र भए पनि देखाउने र पुनःभेटको लागि आधार तयार पार्ने सम्बन्धमा आफूले सिकेका कुराहरू के तपाईं व्यवहारमा उतार्दै हुनुहुन्छ?
६ अपराह्नको कार्यक्रमले महान् शिक्षक, येशूको अनुकरण गर्नुपर्ने महत्त्वलाई जोड दियो। कुन-कुन तरिकामा तपाईं उहाँजस्तै हुने प्रयत्न गर्दै हुनुहुन्छ? उक्त दिनको दोस्रो गोष्ठीबाट सिक्नुभएअनुसार, ‘ईश्वरतान्त्रिक शिक्षाबाट अझ पूर्ण लाभ उठाउन’ तपाईं के गर्न सक्नुहुन्छ? व्यक्तिगत अध्ययन अनि मण्डलीका सभाहरूको दौडान लामो समयसम्म ध्यान दिइरहन तपाईंले कस्ता सुझाउहरू व्यवहारमा उतार्नुभयो?
७ निस्सन्देह, बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन नामक आगामी प्रबन्धले हामीलाई वक्ता र परमेश्वरको वचनका शिक्षकहरूको हैसियतमा हाम्रो योग्यतालाई बढाउन मदत दिनेछ। बाइबलकालीन समयका परमेश्वरका विश्वासी सेवकहरूको बोल्ने योग्यताहरूका विशेष पक्षलाई ध्यान दिइनेछ। नयाँ पुस्तकको हरेक पाठमा पेटीहरू दिइएका छन्, जसले हामीले के गर्नुपर्छ, यो किन महत्त्वपूर्ण छ, यो कसरी गर्नुपर्छ भन्ने कुरा छोटकरीमा बताउँछ। त्यसमा व्यावहारिक अभ्यासहरू पनि समावेश गरिएका छन्। आफ्नो असाइनमेन्ट प्रस्तुत गर्दा बहिनीहरूले २९ वटा भूमिकाहरूमध्येबाट रोज्न सक्नेछन्। समयमा घोषणा गरिएका परिवर्तनहरूअनुसार स्कूलको ढाँचामा हेरफेर गरिनेछ। हरेक हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलबाट पूरापूर लाभ उठाउनको लागि के तपाईंको अध्ययन र तयारी गर्ने राम्रो तालिका छ?
८ समयको हिसाबले शिक्षकहरू हुनुपर्ने हो: हिब्रू ५:१२ ले अधिवेशनको अन्तिम दिनको लागि श्रोताहरूको मनस्थिति तयार पाऱ्यो। “मलाकीको भविष्यवाणीले हामीलाई यहोवाको दिनको लागि तयार बनाउँछ” विषयक बिहानको गोष्ठीले परमेश्वरलाई यथासक्य सेवा चढाउन र सबै प्रकारका विश्वासघाती व्यवहारलाई घृणा गर्न आग्रह गऱ्यो किनभने यसो गर्दा हामी यहोवाको महा र भयानक दिनमा बाँच्न सक्नेछौं। “यहोवाको अख्तियारको आदर गर्नुहोस्” शीर्षकको नाटकले कसरी पुरातन कोरह अनि तिनका समर्थकहरू घमण्ड, महत्त्वाकांक्षा, डाह अनि गलत कुराप्रतिको वफादारीले गर्दा स्वयम् यहोवाको विरोध गर्नतर्फ लागे भन्ने कुरालाई सशक्त ढंगमा प्रस्तुत गऱ्यो। त्यसपछिको भाषणले वर्तमान समयमा परिवार अनि मण्डलीभित्र इश्वरीय अधीनता स्वीकार्नुपर्ने आवश्यकतालाई जोड दियो। “सबै जातिलाई कसले सत्य सिकाइरहेको छ?” शीर्षकको जनभाषणले यो काम यहोवाका साक्षीहरूले गरिरहेका छन्, बाइबल सच्चाइ सिकाइरहेका छौं भनी दाबी गर्ने मसीहीजगत्ले होइन भनेर प्रमाण प्रस्तुत गऱ्यो।
९ स्पष्टतः आफ्नो वचनका असल शिक्षकहरू बन्न यहोवाले हामीलाई प्रशिक्षण दिइरहनुभएको छ। ‘आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होसियार रहेर आफूलाई र सुन्नेलाई समेत उद्धार गर्दै’ आफूले सिकेका कुराहरू व्यवहारमा उतारौं।—१ तिमो. ४:१६.