किन प्रचार गरिरहने?
१ के तपाईंको समुदायमा राज्य प्रचार कार्य गर्न थालेको धेरै वर्ष भइसक्यो? (मत्ती २४:१४) यदि त्यसो हो भने, मण्डलीको इलाकामा प्राय-प्राय प्रचार भइसक्यो जस्तो लाग्ला। अहिले प्रचार गर्दा तपाईंले भेट्नुहुने अधिकांश मानिसहरू राज्य सन्देशप्रति भावशून्य भएजस्तो देखिएला। तैपनि, येशूका साँचो चेलाहरूबारे आइजायाज् प्रोफेसी खण्ड २ पुस्तकको पृष्ठ १४१ मा के भनिएको छ ध्यान दिनुहोस्: “कुनै-कुनै ठाउँमा सेवकाईमा तिनीहरूले गरेको काम र प्रयत्नको तुलनामा परिणाम नगण्य देखिएला। तैपनि, तिनीहरू धैर्यधारण गर्छन्।” तर किन प्रचार गरिरहने?
२ यर्मियालाई सम्झनुहोस्: मानिसहरूले हाम्रो कुरा सुन्छन् कि सुन्दैनन् भन्ने कुरामा प्रचार कार्यप्रतिको हाम्रो धैर्यता निर्भर हुनुहुँदैन। थोरैले मात्र तिनले सुनाएको सन्देश सुने तर धेरैले त्यसको विरोध गरे तापनि यर्मियाले एउटै इलाकामा ४० वर्षसम्म प्रचार गरे। यर्मिया किन लागिरहे? किनभने तिनले परमेश्वरले दिनुभएको काम गरिरहेका थिए र भविष्यमा हुने घटनाको ज्ञानले तिनलाई साहसपूर्वक बोल्न करमा पाऱ्यो।—यर्मि. १:१७; २०:९.
३ हाम्रो परिस्थिति पनि त्यस्तै छ। येशूले “हामीलाई जनतामा प्रचार गर्न, र परमेश्वरले ठहराउनुभएका, जिउँदा र मरेकाहरूका न्यायकर्त्ता उहाँनै हुनुहुन्छ भन्ने सबूत दिनालाई आज्ञा गर्नुभएको छ।” (प्रेरि. १०:४२) हामीले सुनाउने सन्देश, सुन्नेहरूको लागि जीवन र मृत्युको सवाल हो। सुसमाचारप्रति तिनीहरूले देखाएको प्रतिक्रियाको आधारमा मानिसहरूको न्याय गरिनेछ। त्यसकारण, हाम्रो जिम्मेवारी भनेको हामीलाई जे आज्ञा गरिएको छ, त्यही गर्नु हो। मानिसहरूले सुन्न इन्कार गरे तापनि आफूले गर्नुपर्ने काममा निरन्तर लागिरहेको खण्डमा यसले हामीलाई उनीहरूप्रतिको हाम्रो प्रेम र यहोवाप्रतिको भक्ति देखाउने मौका दिन्छ। तर कुरा यति मात्र होइन।
४ हामीले लाभ उठाइरहेका छौं: क्षेत्रमा प्रतिक्रिया जस्तोसुकै होस्, परमेश्वरको इच्छा गरिरहेको खण्डमा अरू कुनै पनि कुराबाट प्राप्त हुन नसक्ने आन्तरिक शान्ति, सन्तुष्टि र आनन्द पाइन्छ। (भज. ४०:८) हाम्रो जीवन सार्थक र उद्देश्यपूर्ण हुन्छ। सेवकाईमा हामी जति धेरै भाग लिन्छौं, त्यति नै हाम्रो मन अनि हृदय परमेश्वरको नयाँ संसारमा जीवन बिताउने आशा र आनन्दमा केन्द्रित हुन्छ। यी धर्मशास्त्रीय प्रतिज्ञाहरूमा ध्यान दिंदा हाम्रो आध्यात्मिकता बढ्छ र यहोवासँगको हाम्रो सम्बन्ध बलियो हुन्छ।
५ हाम्रो प्रचार क्रियाकलापको तत्काल नतिजा नदेखे तापनि व्यक्तिविशेषको हृदयमा सत्यको बीउ रोपिएको हुन सक्छ र त्यो यहोवाले तोक्नुभएको समयमा अंकुराउनेछ। (यूह. ६:४४; १ कोरि. ३:६) यहोवाका जनहरूको स्थानीय वा विश्वव्यापी प्रयासद्वारा अझ कति जनाले परमेश्वरको राज्यबारे सिक्नेछन्, त्यसबारे हामी कसैलाई पनि थाह छैन।
६ पहिलेको भन्दा अझ बढी उत्कट ध्यान दिएर हामीले येशूको यो निर्देशन पालन गर्नुपर्छ: “होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ। औ जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’ ” (मर्कू. १३:३३, ३७) त्यसैकारण, यहोवाको महान् र पवित्र नाउँ महिमित पार्ने काममा भाग लिंदा उहाँको हृदयलाई आनन्दित तुल्याउँदै हामी सबै परमेश्वरको राज्यको सुसमाचार घोषणा गरिरहौं।