“टुहुराहरूलाई” मायालु चासो देखाउनुहोस्
१ यहोवा “टुहुराका बुबा” हुनुहुन्छ। (भज. ६८:५) उहाँ टुहुराहरूको हित चाहनुहुन्छ भन्ने कुरा पुरातन इस्राएल राष्ट्रलाई उहाँले दिनुभएको यस आज्ञामा झल्कन्छ: “विधवा अथवा टुहुरालाई दुःख नदेओ। यदि तिनीहरूले कुनै किसिमले मेरो पुकारा गरे भने म निश्चय तिनीहरूको पुकारा सुन्नेछु।” (प्रस्थ. २२:२२, २३) परमेश्वरको व्यवस्थामा यस्ता व्यक्तिहरूलाई भौतिक तवरमा मदत गर्ने प्रबन्ध पनि समावेश थियो। (व्यव. २४:१९-२१) मसीही प्रबन्धअन्तर्गत, साँचो उपासकहरूलाई “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह” गर्ने सुझाव दिइएको छ। (याकू. १:२७) एक्लो आमाबुबा वा धार्मिक विश्वासको कारण विभाजित परिवारमा हुर्केकाहरूप्रति हामी कसरी यहोवाको मायालु चासो अनुकरण गर्न सक्छौं?
२ आध्यात्मिक प्रशिक्षण: यदि तपाईं एक्लो आमा वा बुबा हुनुहुन्छ अथवा तपाईंको पति वा पत्नीको बेग्लै विश्वास छ भने, आफ्ना छोराछोरीसित नियमित तवरमा गृह बाइबल अध्ययन सञ्चालन गर्नु चुनौतीपूर्ण हुन सक्छ। तर उनीहरूलाई सन्तुलित र परिपक्व जवानहरू बनाउन नियमित तथा अर्थपूर्ण बाइबल अध्ययन गर्नु एकदमै महत्त्वपूर्ण छ। (हितो. २२:६) उनीहरूसित दिनहुँ आध्यात्मिक विषयवस्तुबारे कुराकानी गर्नु पनि अत्यावश्यक छ। (व्यव. ६:६-९) कहिलेकाहीं तपाईं निरुत्साहित हुनुहोला तर हरेस नखानुहोस्। “[तपाईंका छोराछोरीलाई] प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न यहोवासित बल र निर्देशन माग्नुहोस्।—एफि. ६:४.
३ धर्मशास्त्रीय जिम्मेवारीहरू सम्हाल्न केही मदत चाहनुहुन्छ भने, तपाईंका आवश्यकताहरूबारे प्राचीनहरूलाई बताउनुहोस्। उनीहरूले व्यावहारिक सुझावहरू दिन सक्लान् वा तपाईंको परिवारको लागि राम्रो आध्यात्मिक तालिका बसाल्न मदत गर्न सक्छन्।
४ अरूले कसरी मदत गर्न सक्छन्: प्रथम शताब्दीमा, धार्मिक तवरमा विभाजित परिवारमा हुर्के तापनि तिमोथी यहोवाको जोसिलो सेवक भए। निस्सन्देह, तिनकी आमा र बज्यैले युवावस्थामा तिनलाई पवित्र लेखोटहरू सिकाउन गरेको लगनशील प्रयत्नले गर्दा पनि यस्तो हुन सकेको हो। (प्रेरि. १६:१, २; २ तिमो. १:५; ३:१५) तथापि, तिनले अन्य मसीहीहरूलगायत पावलको संगतिबाट धेरै लाभ उठाए, जसले तिमोथीलाई “प्रभुमा मेरा प्यारा र विश्वासी छोरा” भनेका थिए।—१ कोरि. ४:१७.
५ त्यस्तै गरी आज, आध्यात्मिक तवरमा परिपक्व भाइबहिनीहरूले मण्डलीका टुहुरा केटाकेटीहरूप्रति मायालु चासो देखाउनु कत्ति लाभदायी हुन्छ! के तपाईंलाई उनीहरू प्रत्येकको नाउँ थाह छ? के तपाईं मसीही सभा तथा अन्य जमघटहरूमा उनीहरूसित कुराकानी गर्नुहुन्छ? क्षेत्र सेवकाईमा सँगै जान उनीहरूलाई निम्तो दिनुहोस्। तपाईं आफ्नो पारिवारिक अध्ययन वा स्वास्थ्यकर मनोरञ्जनमा कहिलेकाहीं उनीहरूलगायत उनीहरूका एक्लो वा समान विश्वास भएको आमाबुबालाई पनि निम्त्याउन सक्नुहुन्छ होला। यी जवानहरूले तपाईंलाई आफ्नो साथीको रूपमा हेर्न थालेपछि, उनीहरूलाई तपाईंको उदाहरण तथा तपाईंले दिनुभएको प्रोत्साहन हृदयंगम गर्न सजिलो हुन्छ।—फिलि. २:४.
६ टुहुरा केटाकेटीहरूप्रति यहोवाले गहिरो चासो लिनुहुन्छ र उनीहरूलाई सच्चाइ अँगाल्न मदत गर्ने हाम्रो मायालु प्रयासलाई उहाँले आशिष् दिइरहनुभएको छ। एक्लो आमाबुबा वा विभाजित परिवारमा हुर्केका धेरैले यस्तो प्रोत्साहन पाएर अहिले विश्वासपूर्वक अग्रगामी, सेवकाई सेवक, प्राचीन, परिभ्रमण निरीक्षक अथवा बेथेल परिवारका सदस्यहरूको हैसियतमा सेवा गरिरहेका छन्। स्वर्गमा हुनुहुने हाम्रो पिताको अनुकरण गर्दै हामी सबै टुहुराहरूप्रतिको स्नेहमा “ठूला मनका” हुने तरिकाहरू खोज्न सकौं।—२ कोरि. ६:११-१३.