के तपाईंले सही रिपोर्ट दिने प्रयास गरिरहनुभएको छ?
१ थुप्रै बाइबल विवरणहरूमा निश्चित संख्या दिइएको छ, जसले गर्दा घटित घटनाको सजीव वर्णन बुझ्न सकिन्छ। उदाहरणका लागि, गिदोनले केवल ३०० जना मानिसहरूको मदतद्वारा मिद्यानीहरूको फौजलाई परास्त गरे। (न्याय. ७:७) यहोवाको स्वर्गदूतले १,८५,००० अश्शूरी सिपाहीहरूलाई मारे। (२ राजा १९:३५) सा.यु. ३३ पेन्तिकोसमा लगभग ३,००० मानिसहरूले बप्तिस्मा लिए र त्यसको लगत्तै विश्वासीहरूको संख्या बढेर प्रायः ५,००० पुग्यो। (प्रेरि. २:४१; ४:४) यस विवरणबाट परमेश्वरका पुरातन सेवकहरूले पूर्ण तथा सही रेकर्ड संकलन गर्न निकै मेहनत गरेका थिए भन्ने कुरा स्पष्ट हुन्छ।
२ आज यहोवाको संगठनले हामीलाई हरेक महिना क्षेत्र सेवकाईसम्बन्धी गतिविधिको रिपोर्ट दिने निर्देशन दिन्छ। यस प्रबन्धलाई वफादार भई सहयोग गरिरह्यौं भने, प्रभावकारी ढंगमा प्रचारकार्यको निरीक्षण गर्न योगदान पुऱ्याइरहेका हुन्छौं। रिपोर्टले सेवकाईको कुन-कुन पक्षमा ध्यान दिनुपरेको छ वा क्षेत्रका कुन-कुन भागमा धेरै कामदारहरू चाहिएका छन् भन्ने कुरा प्रकट गर्न सक्छ। मण्डलीमा, क्षेत्र सेवाको रिपोर्ट हेरेपछि प्राचीनहरूलाई कस-कसले आफ्नो सेवकाई अझ बढाउन सक्छन् र कस-कसलाई मदतको खाँचो छ, त्यो कुरा थाह पाउन मदत गर्छ। अनि राज्य प्रचार कार्यमा भएको प्रगतिको रिपोर्टले सम्पूर्ण मसीही भ्रातृत्वलाई प्रोत्साहन दिन्छ। के तपाईंले सही रिपोर्ट दिएर आफ्नोतर्फबाट सहयोग गरिरहनुभएको छ?
३ तपाईंको व्यक्तिगत जिम्मेवारी: महिनाको अन्तमा, के तपाईंलाई सेवकाईमा तपाईंले के-के गर्नुभयो भनेर सम्झिन गाह्रो हुन्छ? हुन्छ भने, क्षेत्र सेवकाईमा भाग लिएपिच्छे आफ्नो गतिविधिको रेकर्ड राखे कसो होला? यसको लागि कसै-कसैले क्यालेण्डर नभए दैनिकी प्रयोग गर्ने गर्छन्। कतिपयले चाहिं आफूसित खाली क्षेत्र सेवा रिपोर्ट फाराम बोक्ने गर्छन्। महिनाको अन्त हुने बित्तिकै आफ्नो रिपोर्ट पुस्तक अध्ययन निरीक्षकलाई बुझाउनुहोस्। अथवा, तपाईं चाहनुहुन्छ भने, आफ्नो रिपोर्ट राज्यभवनको रिपोर्ट बाकसमा खसाल्न सक्नुहुन्छ। रिपोर्ट दिन बिर्सिनुभयो भने, पुस्तक अध्ययन निरीक्षकले सोध्न आओस् भनी पर्खेर बस्नुको सट्टा तपाईं नै अघि सरेर तिनीसित तुरुन्त सम्पर्क राख्नुहोस्। नबिर्सिकन आफ्नो रिपोर्ट बुझाउने प्रयास गर्दा त्यसले यहोवाले गर्नुभएको प्रबन्धप्रति आदर झल्काउनुका साथै रिपोर्ट बटुलेर तालिकाबद्ध गर्ने जिम्मेवारी पाएका भाइप्रति मायालु चासो देखाइरहेका हुन्छौं।—लूका १६:१०.
४ पुस्तक अध्ययन निरीक्षकको भूमिका: सजग अनि मायालु गोठालोको हैसियतमा, पुस्तक अध्ययन निरीक्षकले महिनाभरि नै आफ्नो समूहको गतिविधिमा चासो लिन्छन्। (हितो. २७:२३) तिनलाई हरेक प्रकाशकले नियमित रूपमा, अर्थपूर्ण र आनन्दपूर्वक सेवकाईमा भाग लिइरहेका छन् कि छैनन् थाह हुन्छ अनि तिनले पूरै महिना सेवकाईमा भाग नलिएकाहरूलाई यथाशीघ्र मदत गर्छन्। कहिलेकाहीं त प्रोत्साहनका दुई शब्द र व्यावहारिक सल्लाह वा आफूसँगै क्षेत्र सेवकाईमा जान निमन्त्रणा दिनु मात्र पनि पर्याप्त हुन्छ।
५ महिनाको अन्तमा, समूहका सबैले आ-आफ्नो गतिविधिको रिपोर्ट दिने आफ्नो जिम्मेवारी राम्ररी पूरा गरेका छन् कि छैनन्, त्यसबारे पुस्तक अध्ययन निरीक्षकले पक्का गर्नेछन्। किनभने यसो गर्दा सचिवले अर्को महिनाको छ तारिखसम्ममा शाखा कार्यालयलाई मण्डलीको सही रिपोर्ट पठाउन सक्नेछन्। महिना मर्नुअघि आफ्नो समूहलाई रिपोर्टबारे सम्झाउनु र पुस्तक अध्ययन गर्ने ठाउँमा रिपोर्ट फाराम उपलब्ध गराउनु बेस हुन सक्छ। आफ्नो गतिविधिबारे रिपोर्ट दिने सन्दर्भमा कोही-कोही भुलक्कड छन् भने, तिनले उपयुक्त सम्झौटा तथा प्रोत्साहन दिन सक्छन्।
६ समयमै हाम्रो क्षेत्र सेवा रिपोर्ट बुझाउँदा त्यसले क्षेत्रमा भएका गतिविधिहरूबारे सही रिपोर्ट बनाउन योगदान पुऱ्याउँछ। हरेक महिना आफ्नो गतिविधिको रिपोर्ट समयमै बुझाएर के तपाईं आफ्नोतर्फबाट सहयोग गर्नुहुनेछ?