सामूहिक साक्षीकार्यले आनन्द ल्याउँछ
१ सत्तरी जना चेलाहरूलाई प्रचार गर्न पठाउनुहुँदा, येशूले तिनीहरूलाई भन्नुपर्ने कुरा सिकाउनुभयो, दुई-दुई जनाको समूह बनाउनुभयो र तिनीहरूले प्रचार गर्नुपर्ने इलाकाबारे जानकारी दिनुभयो। यसले गर्दा तिनीहरूले अझ बढी आनन्द बटुल्न सके। (लूका १०:१-१७) त्यस्तै गरी आज, सामूहिक साक्षीकार्यले परमेश्वरका जनहरूलाई प्रचारकार्यको लागि सुसज्जित, व्यवस्थित र प्रोत्साहित हुन मदत गर्छ।
२ प्राचीनहरूले नेतृत्व लिन्छन्: सबैलाई प्रचारकार्यमा नियमित रूपमा भाग लिन मदत गर्ने सन्दर्भमा प्राचीनहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। सेवा निरीक्षकले मध्यहप्ताको सेवाका लागि प्रबन्धहरू मिलाउन नेतृत्व लिन्छन्। विशेष गरी सप्ताहन्तमा आफ्नो समूहको लागि प्रचार गतिविधिको व्यवस्था मिलाउने काम हरेक पुस्तक अध्ययन निरीक्षकको हो। कहिलेकाहीं क्षेत्र सेवाको लागि सम्पूर्ण मण्डली भेला हुँदा, जस्तै प्रहरीधरहरा अध्ययनपछि भेला हुँदा हरेक पुस्तक अध्ययन निरीक्षकले आफ्नो समूहका आवश्यकताहरूलाई ध्यान दिनुपर्छ।
३ “शिष्ट रुपले र नियमपूर्वक”: क्षेत्र सेवाको लागि सभा सञ्चालन गर्ने जिम्मेवारी पाएका व्यक्तिले सभा समयमा सुरु गर्नुपर्छ र १० वा १५ मिनेट मात्र लिनुपर्छ। तिनले समापन प्रार्थना गर्नुभन्दा अगाडि नै समूह र इलाका (माथि उल्लेख गरिएझैं, पुस्तक अध्ययन निरीक्षकहरूले नै यो काम सम्हालेमा यसो गरिरहनु पर्दैन) छुट्याएमा बेस हुन्छ। यसो गर्दा प्रकाशकहरू क्षेत्रमा भेला भइरहनु पर्दैन। किनभने यसरी भेला हुँदा हाम्रो कामको महत्त्व मात्र घट्दैन तर हाम्रो काम मन नपराउने व्यक्तिहरूको पनि सजिलै ध्यानाकर्षण हुन्छ। यो पावलको सल्लाहअनुरूप पनि छ: “सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्नू।” (१ कोरि. १४:४०) यी सभाहरूमा उपस्थित हुने सबैले समयमा आएर, नेतृत्व लिने व्यक्तिलाई पूर्णतया सहयोग गर्नुका साथै समूह छुट्याइसकेपछि तुरुन्त क्षेत्रमा गइहालेर यस प्रबन्धलाई सफल बनाउन योगदान पुऱ्याउनुपर्छ।
४ एकतामा बाँधिने: सामूहिक रूपमा साक्षी दिने प्रबन्धले हामीलाई मण्डलीका अन्य व्यक्तिहरूसित चिनजान बढाउने अत्युत्तम मौका प्रदान गर्छ। कसैसित सँगै काम गर्न पहिल्यै प्रबन्ध मिलाउनुमा कुनै आपत्ति नभए तापनि, अग्रिम प्रबन्ध नमिलाएर क्षेत्र सेवाका लागि आयोजना गरिने सभाहरूमा उपस्थित हुनु पनि हाम्रो लागि इनामदायी नै हुन सक्छ। राम्रोसित चिनजान नभएका कसैसित काम गर्न हामीलाई अह्राइन सक्छ, जसले हामीलाई आफ्नो प्रेममा “ठूला मनका” हुन मदत गर्न सक्छ।—२ कोरि. ६:११-१३.
५ सामूहिक साक्षीकार्यले हामीलाई प्रोत्साहन दिनुका साथै “सत्यको सहकर्मी[को]” रूपमा एकतामा बाँध्छ। (३ यूह. ८) हामी सामूहिक साक्षीकार्यमा पूरापूर भाग लिन सकौं!