प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अगस्त pp. ३-५
  • हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राखौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राखौं
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • उपासनास्थलको निर्माण तथा हेरविचार
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • के तपाईं आफ्नो राज्यभवनको आदर गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००१
  • हाम्रो उपासनास्थल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • राज्यभवनको स्याहारसम्भार गर्न हामी कसरी सघाउन सक्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 अगस्त pp. ३-५

हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राखौं

१. राज्यभवनले कस्तो उद्देश्‍य पूरा गर्छ?

१ विश्‍वभर यहोवाका साक्षीहरूको ९४,००० भन्दा बढी मण्डलीहरू छन्‌। अधिकांश मण्डलीहरू बाइबल अध्ययन र मसीही सरसंगतिको लागि राज्यभवनमा भेला हुन्छन्‌, जसले शुद्ध उपासनाको स्थानीय केन्द्रको रूपमा काम गर्छ।

२. राज्यभवनलाई सफासुग्घर र चिटिक्क राख्नु किन महत्त्वपूर्ण छ?

२ नियमित तालिकाअनुसार सरसफाइ: राज्यभवनको स्याहार-सम्भार गर्ने काम हाम्रो पवित्र सेवाको एउटा अत्यावश्‍यक भाग हो। आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ६१-२ यसो भन्छ: “राज्यभवनलाई आर्थिक रूपमा सहयोग गर्नुलाई मात्र होइन तर यसलाई सफा, चिटिक्क र राम्रो अवस्थामा राख्नको लागि स्वयम्‌सेवकको रूपमा गरिने सेवालाई पनि भाइहरूले एउटा सुअवसर ठान्‍नुपर्छ। राज्यभवनको भित्र बाहिर दुवैले यहोवाको संगठनको उचित प्रतिनिधित्व गर्नुपर्छ।” हरेक हप्ता धेरै चोटि राज्यभवन प्रयोग गरिने हुँदा नियमित सरसफाइ तथा स्याहार-सम्भारको आवश्‍यकता पर्छ। साधारणतया राज्यभवनमा सभाका लागि उपस्थित हुने मण्डली(हरू)का स्वयम्‌सेवकहरूले यसको हेरचाह गर्छन्‌। बाइबल समयमा जस्तै, आज यहोवाका साक्षीहरू पनि हाम्रो उपासना स्थललाई ‘मरम्मत र सुदृढ पार्न’ लगनशील हुनुपर्छ।—२ इति. ३४:१०.

३. राज्यभवनको सरसफाइ कसरी आयोजना गरिन्छ र क-कसले यस सुअवसरमा भाग लिन सक्छन्‌?

३ राज्यभवन सरसफाइको साप्ताहिक तालिका सूचनापाटीमा टाँस्नुपर्छ। सबै पुस्तक अध्ययन समूहहरूले सरसफाइ गर्नुपर्ने कुराहरूको सूची हेरेर पालै-पालो हरेक हप्ता भवन सफा गर्नुपर्छ। सक्ने जति सबै जनाले राज्यभवनलाई सफासुग्घर अनि चिटिक्क राख्ने साप्ताहिक सुअवसरमा भाग लिनु आवश्‍यक छ। आमाबाबुको सुपरिवेक्षणमा छोराछोरीहरूले पनि सफाइकार्यमा भाग लिन सक्छन्‌ र तिनीहरूलाई यस सुअवसरको मूल्यांकन गर्न सिकाउन सकिन्छ। विशेष गरी, एकभन्दा बढी मण्डलीले एउटै राज्यभवन प्रयोग गर्दा राम्रो आपसी सहयोग अत्यावश्‍यक छ किनभने यसो गरेको खण्डमा हाम्रो उपासनाको यस अभिन्‍न पक्षको हेरविचार थोरै व्यक्‍तिको काँधमा मात्र पर्नेछैन।

४. राज्यभवनको सरसफाइ गर्दा के-कसो गर्नुपर्ने हो, सो मण्डलीलाई थाह हुनको लागि के गर्न सकिन्छ?

४ सफाइका सरसामानहरू राखिने ठाउँमा गर्नुपर्ने कामकुराहरूको सूची टाँसेर राख्न सकिन्छ। यस सूचीमा बढारकुँढार गर्ने काम, झ्यालहरू सफा गर्ने, टेबुल पुछ्‌ने, फोहोर फाल्ने टोकरी खाली गर्ने, भुइँ पुछ्‌ने र ऐना सफा गर्ने कामलगायत हप्ताभरि गर्नुपर्ने कामहरूबारे बताइएको जानकारी हुनुपर्छ। कुनै-कुनै काम, जस्तै—काठका फर्निचरहरूमा पालिस लगाउने र कुर्सी, पर्दा, पंखा तथा बिजुली बत्तीहरूको पूरै सफाइ त्यति धेरै चोटि गर्नु नपर्ने हुन सक्छ। सरसफाइ गर्न प्रयोग गरिने सबै प्रकारका रासायनिक पदार्थहरू केटाकेटीहरूले भेट्‌न नसक्ने ठाउँमा राख्नुका साथै स्पष्टसित लेखेर राख्नुपर्छ। हरेक रासायनिक पदार्थ कसरी प्रयोग गर्नुपर्छ भन्‍ने कुराको संक्षिप्त जानकारी पनि दिनुपर्छ।

५. सुरक्षा कत्तिको महत्त्वपूर्ण छ र बेला-बेलामा कस्ता कुराहरूको जाँच गर्नुपर्छ? (पृष्ठ ४ मा दिइएको पेटी हेर्नुहोस्‌।)

५ राज्यभवनको सुरक्षा सर्वमहत्त्वपूर्ण कुरा हो। (व्यव. २२:८) यस सन्दर्भमा, दुर्घटनाहरू हुन नदिन बेला-बेलामा जाँच गर्नुपर्ने बुँदाहरू पृष्ठ ४ को पेटीमा दिइएका छन्‌।

६. राज्यभवनको स्याहार-सम्भार गर्ने कामको कसरी समन्वय मिलाइन्छ?

६ राज्यभवनको स्याहार-सम्भार गर्ने: राज्यभवन मर्मत-सम्भारको सुपरिवेक्षण गर्ने जिम्मेवारी प्राचीनहरूको निकायको हो। साधारणतया, यस कामको समन्वय मिलाउन एक जना प्राचीन वा सेवकाई सेवक नियुक्‍त गरिन्छ। तिनले राज्यभवनको दैनिक कामकुराको प्रबन्ध मिलाउँदै यसलाई सफा अनि राम्रो अवस्थामा राख्नुका साथै सफाइ सामग्रीहरू पर्याप्त मात्रामा भए नभएको सबै बन्दोबस्त मिलाउँछन्‌। भवनमा वा भवन वरपर कुनै पनि किसिमको खतरनाक स्थिति नहुनु महत्त्वपूर्ण छ। दुई वा त्योभन्दा बढी मण्डलीहरूले एउटै भवन प्रयोग गर्दा, भवन तथा जग्गाजमिनको हेरचाह गर्ने प्रबन्ध मिलाउनका लागि प्राचीनहरूको निकायले सञ्चालनसमिति नियुक्‍त गर्छन्‌। यस समितिले प्राचीनहरूको निकायको निर्देशनअन्तर्गत रहेर काम गर्छन्‌।

७. (क) राज्यभवनलाई राम्रो अवस्थामा राखिएको छ कि छैन, सो पक्का गर्न हरेक वर्ष के गरिन्छ? (ख) बेला-बेलामा कस्ता कुराहरूप्रति ध्यान पुऱ्‍याउनु आवश्‍यक छ? (पृष्ठ ५ मा दिइएको पेटी हेर्नुहोस्‌।)

७ राज्यभवनको विस्तृत निरीक्षण वर्षैपिच्छे गरिन्छ। आवश्‍यक ध्यान चाहिने कुनै पनि कुराहरूको विस्तृत हेरविचार गर्न प्रबन्धहरू मिलाउने जिम्मेवारी प्राचीनहरूको हो। आवश्‍यक मर्मत तथा स्याहार-सम्भार गर्न सहयोगका लागि प्रकाशकहरूको मदत माग्न सकिन्छ। साना-साना कुराहरूको हेरविचार गर्नसमेत सबै जना सजग हुनुपर्छ र ध्यान दिनुपर्ने कुराहरूको ख्याल तुरुन्त गरिहाल्नुपर्छ।

८. ठेकदारलाई काम दिनु आवश्‍यक परेमा कस्तो प्रक्रिया अपनाउनुपर्छ?

८ मण्डलीको कोष बुद्धिमानीसाथ प्रयोग गर्ने: राज्यभवन तथा यसको जग्गामा गरिने प्रायजसो कामहरू स्वयम्‌सेवकहरूले गर्छन्‌। तिनीहरूले देखाउने आत्मत्यागी प्रयास प्रेमको सर्वोत्कृष्ट अभिव्यक्‍ति हो र यसले खर्च कटौती गर्न निकै मदत गर्छ। राज्यभवनको भित्र र बाहिर व्यापक जीर्णोद्धार गर्न ठेकदारलाई काम दिनु आवश्‍यक परेको खण्डमा, सर्वप्रथम प्राचीनहरूको निकायले गर्नुपर्ने कामकुराहरूको र/वा आवश्‍यक सरसामग्रीहरूको लिखित विस्तृत विवरण तयार पार्छन्‌। सरसामग्रीहरूको आवश्‍यकता बुझेर अनुमानित मूल्य निर्धारण गर्न सकियोस्‌ भन्‍ने हिसाबले यस सूचीको एक प्रति विभिन्‍न बोलपत्रदाताहरूलाई दिइन्छ। थुप्रै सम्भाव्य बोलपत्रदाताहरूबाट अनुमानित मूल्य निर्धारण गरिएको लिखित पत्र प्राप्त गरिसकेपछि प्राचीनहरूले उपयुक्‍त प्रस्ताव छान्‍नेछन्‌। एक जना भाइले नै काम गर्ने प्रस्ताव राखेका छन्‌ वा तोकिएको दररेटमा आवश्‍यक सरसामग्रीहरू आपूर्ति गरेका छन्‌ भने पनि यही प्रक्रिया लागू गर्नुपर्छ।

९. मण्डलीका कोषहरू उचित तरिकाले प्रयोग गरिएको छ भनी पक्का गर्न के गरिन्छ?

९ एकभन्दा बढी मण्डलीले एउटै राज्यभवन प्रयोग गर्दा, सञ्चालनसमितिले एउटा छुट्टै कोष खडा गर्छ र प्राचीनहरूको हरेक निकायलाई मासिक रूपमा लिखित आर्थिक रिपोर्ट बाँड्‌छ। यसो गर्दा कोषहरूको खर्च कुन किसिमले भइरहेको छ भन्‍ने जानकारी प्राचीनहरूलाई दिइन्छ। मण्डलीका कोषहरू उचित तरिकाले खर्च गर्ने जिम्मेवारी प्राचीनहरूको हो।

१०. व्यापक स्याहार-सम्भार वा जीर्णोद्धार आवश्‍यकता परेको खण्डमा के गर्न सकिन्छ?

१० व्यापक स्याहार-सम्भार र जीर्णोद्धार: राज्यभवनको सञ्चालन वा स्याहार-सम्भारको सन्दर्भमा, सञ्चालनसमितिले केही ठूलो काम गर्नु आवश्‍यक ठानेको खण्डमा समितिले निर्देशनका लागि यस मामिलालाई प्राचीनहरूको निकायकहाँ पठाउँछन्‌। व्यापक स्याहार-सम्भार र जीर्णोद्धारको आवश्‍यकता पर्नेछ वा उक्‍त मण्डलीमा सभाका लागि भेला हुने मण्डली(हरू)को मदत आवश्‍यक पर्नेछ भन्‍ने कुरा निधो भएमा, प्राचीनहरूले सल्लाह-सुझावका लागि शाखा कार्यालयसित सम्पर्क राख्नुपर्छ। सम्भव भए, एकभन्दा बढी मण्डलीले आ-आफ्नो तर्फबाट आर्थिक सहयोग दिनु बेस हुन्छ। सायद मण्डलीहरू मिलेर पुरानो भवनलाई नै विस्तार गर्न वा अर्को ठूलो भवन बनाउन सक्छन्‌, जसबाट अहिले र आउँदा वर्षहरूमा थुप्रै मण्डलीहरूले लाभ उठाउन सक्छन्‌।

११. राज्यभवनमा सभाहरूको लागि उपस्थित हुने सुअवसरको लागि हामी कसरी मूल्यांकन देखाउन सक्छौं?

११ राज्यभवनमा सँगै भेला हुने सुअवसरको हामी कत्ति मूल्यांकन गर्छौं! हामी कहिल्यै हाम्रा सभाहरूलाई बेवास्ता गर्न वा त्यसलाई हल्कासित लिन चाहँदैनौं। हाम्रो राज्यभवनको हेरविचार गर्ने सन्दर्भमा पूरापूर भाग लिएर हाम्रै प्रोत्साहनको लागि सबैले यस प्रबन्धको सफलतामा योगदान पुऱ्‍याउन सक्छन्‌। यसले शुद्ध उपासनालाई बढवा दिन्छ र यहोवाको नाउँको आदर गर्छ। आउनुहोस्‌, हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राख्ने संकल्प गरौं।

[पृष्ठ ४-मा भएको पेटी]

सुरक्षा जाँचका बुँदाहरू

◻ आगो निभाउने उपकरणहरू पायक पर्ने ठाउँमा राख्नुपर्छ र वर्षैपिच्छे स्याहार-सम्भार गर्नुपर्छ।

◻ बाहिर जाने ढोका तथा भऱ्‍याङहरू स्पष्टसित चिनिने, उज्यालो र सजिलै जान सकिने अनि रेलिङहरू सुरक्षित हुनुपर्छ।

◻ स्टोर रूम तथा शौचालयहरू सफा, व्यवस्थित हुनुपर्छ र अत्यधिक प्रज्वलनशील सामग्री र व्यक्‍तिगत सरसामान तथा फोहोरमुक्‍त हुनुपर्छ।

◻ छाना तथा पानीका नालहरू नियमित तवरमा जाँच गर्नुका साथै सफा गरिरहनुपर्छ।

◻ फुटपाथ र गाडी पार्क गर्ने ठाउँ उज्यालो हुनुपर्छ र चिप्लिने वा खस्ने कुनै पनि किसिमको खतरा हुनु हुँदैन।

◻ विद्युतीय तथा हावा आवतजावत हुने प्रणालीहरू जाँच गर्नुपर्छ र त्यसको राम्रो स्याहार-सम्भार गर्नुपर्छ।

◻ पानी चुहुन्छ भने, ओसको गम्भीर समस्या उत्पन्‍न हुन नदिन चाँडै टालटुल गरिहाल्नुपर्छ।

◻ भवनमा कोही पनि नभएको बेला ताला मारेर राख्नुपर्छ।

[पृष्ठ ५-मा भएको पेटी]

भवन तथा जग्गाको हेरविचार

◻ बाहिर: के छाना, भित्ता, रंगरोगन, झ्याल र राज्यभवन लेखिएको संकेतपाटी राम्रो अवस्थामा छन्‌?

◻ जमिन: के राज्यभवनको जग्गाका ठाउँहरू सफासुग्घर छन्‌? के मान्छे हिड्‌ने बाटो, बार र कम्पाउन्ड राम्रो अवस्थामा छन्‌?

◻ भित्र: के कार्पेट, पर्दा, कुर्सी, बिजुली बत्ती र धारा, रङ राम्रो अवस्थामा छन्‌?

◻ उपकरण: के बिजुली, ध्वनि प्रणाली, पंखा र हावा आवतजावत गर्ने प्रणालीले राम्रोसँग काम गरिरहेका छन्‌?

◻ बाथरूम: के शौचालयहरू सफा, दुर्गन्धरहित र राम्रो अवस्थामा छन्‌?

◻ मण्डलीका कागजात: कानुनी कागजातहरू नवीनतम र सही राख्नु आवश्‍यक छ। के सम्पत्ति लिखत, कर तिरेको रसिद र अन्य महत्त्वपूर्ण कागजपत्रहरू व्यवस्थित ढंगमा फाइल गरेर राखिएका छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने