मण्डली पुस्तक अध्ययन —हामीलाई किन यो चाहिन्छ?
१. मण्डली पुस्तक अध्ययन प्रबन्धको सुरुवात कसरी भयो?
१ सन् १८९५ मा, त्यतिबेला बाइबल स्टुडेन्ट्स भनेर चिनिने यहोवाका साक्षीहरूका अध्ययन समूहहरू बाइबल अध्ययन गर्ने डन सर्कल्स्को रूपमा चिनिए। मिलेनियम डन-का खण्डहरूलाई अध्ययनमा प्रयोग गरिन्थे। पछि, यी अध्ययन समूहहरूलाई बाइबल अध्ययन गर्ने बिरियन सर्कल्स् भनियो। (प्रेरित १७:११) अक्सर थोरै व्यक्तिहरूको समूह आफूलाई पायक पर्ने साँझ निजी घरमा भेला हुन्थे। यी सभाहरू मण्डली पुस्तक अध्ययनको सुरुवात थियो।
२. पुस्तक अध्ययनमा “प्रोत्साहनको आदानप्रदान” गर्ने सन्दर्भमा हामी कसरी योगदान पुऱ्याउन सक्छौं?
२ प्रोत्साहन तथा मदत: पुस्तक अध्ययनहरू सामान्यतया सानो-सानो समूहमा सञ्चालन गरिने हुँदा, उपस्थित व्यक्तिहरूले टिप्पणीहरूद्वारा आफ्नो विश्वास प्रकट गर्ने धेरै सुअवसर पाउँछन्। यसो गर्दा “दुवैको विश्वासबाट आपसमा . . . प्रोत्साहनको आदानप्रदान” हुन्छ।—रोमी १:१२, NW.
३, ४. पुस्तक अध्ययनको प्रबन्धले हामीलाई कसरी आफ्नो सेवकाई पूरा गर्न मदत गर्छ?
३ पुस्तक अध्ययन निरीक्षकको सिकाउने तरिकालाई नियालेर हेर्दा हामी ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न’ मदत पाउँछौं। (२ तिमो. २:१५) विषयवस्तुको धर्मशास्त्रीय आधारलाई तिनी कसरी जोड दिन्छन्, ध्यान दिएर हेर्नुहोस् र सिक्नुहोस्। अध्ययन गरिंदै गरेको प्रकाशनको लागि उपयुक्त छ भने, बाइबल मात्र चलाएर तिनले मुख्य बुँदाहरूलाई समापनको पुनरावृत्तिद्वारा प्रकाश पार्न सक्छन्। तिनको असल उदाहरणले मसीही सेवकाईमा हाम्रो शिक्षणकला विकास गर्न हामीलाई मदत गर्न सक्छ।—१ कोरि. ११:१.
४ साप्ताहिक पाठ सञ्चालन गर्नुको अलावा पुस्तक अध्ययन निरीक्षकले प्रचारकार्यमा पनि नेतृत्व लिन्छन्। सेवा निरीक्षकको सहयोग लिएर तिनले क्षेत्र सेवाका लागि व्यावहारिक प्रबन्धहरू मिलाउँछन्। तिनी सुसमाचार प्रचार गर्ने तथा चेला बनाउने आफ्नो मसीही दायित्व पूरा गर्न समूहका सबैलाई मदत गर्ने प्रयास गर्छन्।—मत्ती २८:१९, २०; १ कोरि. ९:१६.
५. पुस्तक अध्ययनमार्फत कस्तो व्यक्तिगत मदत पाउन सकिन्छ?
५ पुस्तक अध्ययन निरीक्षकले समूहका प्रत्येक व्यक्तिको आध्यात्मिक हितप्रति चासो राख्छन्। मण्डलीका सभाहरू तथा क्षेत्र सेवामा अरूसित काम गर्दा तिनले यस्तो चासो देखाउँछन्। आध्यात्मिक प्रोत्साहन दिन भाइहरूको घर जाँदा पनि तिनले यसो गर्छन्। आवश्यक परेको बेला आध्यात्मिक मदत माग्न पुस्तक अध्ययन निरीक्षककहाँ जान सबैले सजिलो महसुस गर्नुपर्छ।—यशै. ३२:१, २.
६. (क) कुनै-कुनै मुलुकका हाम्रा भाइहरू सानो-सानो समूहमा भेला भएर कसरी सुदृढ भएका छन्? (ख) पुस्तक अध्ययनको प्रबन्धबाट तपाईंले कसरी व्यक्तिगत रूपमा लाभ उठाउनुभएको छ?
६ एक-अर्कालाई सुदृढ बनाउने: परमेश्वरका जनहरूको गतिविधिमाथि प्रतिबन्ध लागेका मुलुकहरूमा भाइहरू अक्सर सानो-सानो समूहमा भेला हुने गर्छन्। एक जना भाइले विगतका कुरालाई यसरी स्मरण गरे: “हाम्रा मसीही गतिविधिहरूमाथि प्रतिबन्ध लगाइएको भए तापनि सम्भव हुने बित्तिकै लगभग १० देखि १५ जनाको समूहमा हामी हाम्रा साप्ताहिक सभाहरू सञ्चालन गर्थ्यौं। सभाहरू अनि हाम्रो बाइबल अध्ययन तथा अध्ययनपछि गरिने संगतिबाट हामीले आध्यात्मिक बल प्राप्त गऱ्यौं। हामी आफ्ना अनुभवहरू एक-आपसमा सुनाउने गर्थ्यौं र यसो गर्दा हामी सबैले एकै खाले सङ्घर्ष गरिरहेका रहेछौं भन्ने कुरा बुझ्न हामीलाई मदत मिल्यो।” (१ पत्रु. ५:९) त्यस्तै गरी हामी पनि मण्डली पुस्तक अध्ययनको प्रबन्धलाई पूरापूर सहयोग गरेर एक-अर्कालाई सुदृढ पार्न सकौं।—एफि. ४:१६.