प्रश्न पेटी
◼ के हामीले घरधनीलाई भेटेपिच्छे विश्वव्यापी कार्यको लागि आफ्नो औकातअनुसार दिइने अनुदान स्वीकार्छौं भनेर तिनलाई बताइरहनुपर्छ?
पर्दैन। डिसेम्बर १९९९ हाम्रो राज्य सेवकाई-को “बुद्धिमानीसाथ हाम्रो साहित्य प्रयोग गर्नुहोस्” भन्ने लेखमा यसो भनिएको थियो: “कुनै कुनै परिस्थितिहरूमा हाम्रो विश्वव्यापी कामको लागि अनुदानको विषयमा कुरा उठाउनै अप्ठ्यारो हुन सक्छ।” यस सन्दर्भमा सही निर्णय गर्नु आवश्यक छ। हाम्रो काम व्यापारिक गतिविधि नभई पूर्णतया बाइबल शैक्षिक कार्य हो भन्ने कुरा मानिसहरूले स्पष्टसित बुझेको हामी चाहन्छौं। हामीले चन्दा मागिरहेका छैनौं।
साधारणतया पहिलो भेटमा इच्छुक व्यक्तिलाई साहित्य प्रस्तुत गर्दा नै स्वैच्छिक अनुदानले हाम्रो कामलाई कसरी समर्थन गर्छ भनेर स्पष्ट पार्नु राम्रो हुन्छ। चासो देखाउने वा हाम्रो साहित्य पढ्न रुचि देखाउने व्यक्तिहरूलाई मात्र साहित्य दिन्छौं भन्ने कुरा मनमा राख्यौं भने, यस पक्षमा ध्यान दिन सजिलो हुनेछ।
यस्ता थुप्रै इच्छुक व्यक्तिहरू पछिका भेटहरूमा स्वैच्छिक अनुदान दिन अग्रसर हुन्छन्। अन्य कतिपयले चाहिं साहित्यको मूल्य सोध्न सक्छन्। हाम्रो काम व्यापारिक होइन र इच्छुक व्यक्तिहरूलाई हामी हाम्रो साहित्य निश्शुल्क दिन्छौं भनेर संक्षिप्तमा बताउन सक्छौं। विश्वव्यापी कार्यलाई समर्थन गर्न चाहने व्यक्तिहरूले आफ्नो औकातअनुसार स्वैच्छिक अनुदान दिन सक्छन् भनेर उनीहरूलाई थाह दिन सकिन्छ। हामीले पुनःभेट गर्ने व्यक्तिले यसो गर्दैन भने उपयुक्त भएअनुसार समय-समयमा हामी विश्वव्यापी कार्यलाई समर्थन गर्ने कुरा उठाउन सक्छौं।
इच्छुक व्यक्तिहरूलाई हामी निश्शुल्क साहित्य दिने भए तापनि हाम्रो साहित्य छाप्दा र वितरण गर्दा खर्च लागेको छ भन्ने कुरा हामीले मनमा राख्नुपर्छ। परमेश्वरको आत्माले उहाँका सेवक तथा क्षेत्रमा भेटिने इच्छुक व्यक्तिहरूलाई विश्वव्यापी कार्यको सबै पक्षमा लाग्ने खर्चहरू बेहोर्न स्वैच्छिक अनुदान दिन उत्प्रेरित गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।
◼ प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का व्यक्तिगत प्रतिहरू कसरी प्राप्त गर्न सकिन्छ?
केही समयअगाडि सम्पूर्ण भाषाको प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-को ग्राहक बन्ने प्रबन्ध स्थगित गरिएको हुनाले सबै प्रकाशकहरूले आ-आफ्नो पत्रिकाहरू स्थानीय मण्डलीबाटै लिनुपर्छ। ब्रेल पत्रिकाहरू चाहिं अपवादमा पर्छन् र यसको साँच्चै आवश्यकता भएका व्यक्तिहरूलाई यी पत्रिकाहरू निश्शुल्क पठाइन्छ। मण्डलीहरूले कङ्ग्रिगेशन रिक्वेस्ट (M-202) फाराम प्रयोग गरेर विदेशी भाषाको र ठूलो अक्षरमा छापिएका संस्करणहरू मगाउन सक्छन् भन्ने कुरा कृपया याद राख्नुहोस्।
तपाईंको इलाकामा बसोबास गर्ने कसैले नियमित रूपमा पत्रिका मगाएको खण्डमा कृपया यसबारे तुरुन्तै ध्यान दिन सजग हुनुहोस् ताकि एउटै पनि अंक नछुटोस्। बहिष्कार भएका व्यक्तिहरूले आफ्नो व्यक्तिगत प्रयोगका लागि पत्रिका वा अन्य साहित्यहरू राज्यभवनका पत्रिका तथा साहित्य काउण्टरबाटै लिन सक्छन्। प्रकाशकहरूले बहिष्कार भएका व्यक्तिहरूलाई पत्रिकाहरू पुऱ्याउनु पर्दैन।
मण्डलीको प्रकाशकले पत्रिका रुटमार्फत पत्रिका पुऱ्याउन नसक्ने व्यक्तिहरूको ग्राहक बन्ने निवेदनलाई मात्र भारत शाखाले रेकर्ड गरेर राख्नेछ। मण्डलीको सेवा समितिले अन्यथा पत्रिकाहरू प्राप्त गर्न नसक्ने कुनै व्यक्तिको ग्राहक बन्ने निवेदन बुझाएको खण्डमा, सचिवले यो ग्राहक बन्ने निवेदन मण्डलीको सेवा समितिद्वारा होसियारीसाथ जाँचबुझ गरिनुका साथै स्वीकृत गरिएको हो भन्ने एउटा सानो नोट समावेश गर्नुपर्छ।
यसको मतलब के हो भने, व्यक्तिगत ग्राहक बन्नको लागि प्रकाशकहरूले शाखा कार्यालयलाई पत्र लेख्नु हुँदैन। प्रकाशकहरू वा इच्छुक व्यक्तिहरूले ग्राहक बन्ने विषयमा गरेको कुनै पनि किसिमको यस्ता निवेदनहरू मण्डलीलाई नै फिर्ता पठाइनेछ।