अविलम्बी भाव कायम राख्नुहोस्!
१ पृथ्वीमा आफ्नो पिताको काम पूरा गर्ने समय सीमित छ भन्ने कुरा येशूलाई थाह थियो। (यूह. ९:४) तसर्थ, उहाँले आफ्नो सेवकाई अविलम्बी भावसहित गर्नुभयो र आफ्ना चेलाहरूलाई पनि त्यसै गर्ने प्रशिक्षण दिनुभयो। (लूका ४:४२-४४; ८:१; १०:२-४) उहाँका लागि भौतिक सुखसुविधाहरू सर्वमहत्त्वपूर्ण कुरा थिएनन्। (मत्ती ८:२०) यसरी यहोवाले उहाँलाई दिनुभएको काम उहाँले पूरा गर्न सक्नुभयो।—यूह. १७:४.
२ सीमित समय: “सारा संसारमा” सुसमाचार प्रचार गर्ने समय पनि सीमित छ। (मत्ती २४:१४) हामी अन्तको पनि आखिरी समयमा बाँचिरहेका छौं भनी बाइबल भविष्यवाणीले प्रकट गर्छ। अब चाँडै “परमेश्वरलाई नचिन्नेहरू[ले], हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरू[ले] . . . अनन्त विनाशको सजाय भोग्नेछन्।” (२ थिस्स. १:६-९) त्यो न्यायको समय अचानक आउनेछ। (लूका २१:३४, ३५; १ थिस्स. ५:२, ३) मानिसहरू उनीहरू बाँचिरहेको खतरनाक अवस्थाबारे सजग हुनु जरुरी छ। समय छँदै यहोवाको अनुग्रह खोज्न उनीहरूलाई मदत गर्ने जिम्मेवारी हाम्रो हो।—सप. २:२, ३.
३ यथासक्दो गर्ने: “समय अल्प . . . छ” भन्ने कुरा बुझेको कारण परमेश्वरका सेवकहरूले प्रचारकार्यलाई प्राथमिकता दिन्छन्। (१ कोरि. ७:२९-३१; मत्ती ६:३३) सेवकाईमा आफ्नो सहभागिता बढाउन कतिले पैसा कमाउने सुअवसर अथवा अन्य व्यक्तिगत अभिलाषाहरू स्वेच्छापूर्वक त्यागेका छन्। (मर्कू. १०:२९, ३०) अरू कतिपयचाहिं परीक्षाहरूको भेल नै आइपरे तापनि “प्रभुको काममा प्रशस्त हुँदै” गइरहेका छन्। (१ कोरि. १५:५८) थुप्रैले नडग्मगाईकन दशकौंदेखि जनसमक्ष सुसमाचार घोषणा गरिरहेका छन्। (हिब्रू १०:२३) राज्य गतिविधिलाई अघि बढाउन गरिने यस्ता सबै त्यागहरूको यहोवा अत्यन्तै कदर गर्नुहुन्छ।—हिब्रू ६:१०.
४ यहोवाको उपासनामा हाम्रो जीवन केन्द्रित गर्दा त्यसले हामीलाई यहोवाको दिन मनमा राख्न मदत गर्छ र यस उपासनामा प्रचारकार्य पनि समावेश छ। यसले हामीलाई शैतानको संसारमा नअलमलिन मदत गर्छ र पवित्र आचरण कायम राख्ने हाम्रो सङ्कल्पलाई सुदृढ पार्छ। (२ पत्रु. ३:११-१४) साँच्चै, अविलम्बी भावसहित सेवकाईमा लाग्दा त्यो हाम्रो र हाम्रो कुरा सुन्ने दुवैको लागि जीवनदायी साबित हुन सक्छ।—१ तिमो. ४:१६.