परिवारका सम्पूर्ण सदस्यले कसरी पूरापूर सहयोग गर्छन्—बाइबल अध्ययन गर्दा
१ सत्यले पारिवारिक जीवनलाई अझ अर्थपूर्ण अनि उद्देश्यपूर्ण बनाउँछ। तर त्यसो भन्दैमा यहोवाको सेवामा सजिलै सफल हुन सकिन्छ भन्ने छैन। आध्यात्मिक तवरमा बलियो परिवार बनाउन समय र श्रम चाहिन्छ। यस सन्दर्भमा परिवारका सदस्यहरूले एकसाथ मिलेर काम गर्नु अत्यन्त जरुरी छ। तीन भाग भएको यस शृङ्खलाबद्ध लेखको यो पहिलो अंक हो र यसले अध्ययन गर्ने असल बानी विकास गर्न परिवारले कसरी पूरापूर सहयोग गर्न सक्छन्, त्यसतर्फ ध्यान खिंच्नेछ।
२ दिनहुँ बाइबल पढेर: हितोपदेश २४:५ “ज्ञानी मानिसको सामर्थ बढ्छ,” भन्छ। ( नयाँ संशोधित संस्करण) नियमित तवरमा परमेश्वरको वचन पढेर हासिल गरेको ज्ञानले जोकसैलाई आफ्नो आध्यात्मिकतामा शैतानले गर्ने हमलाको प्रतिरोध गर्ने आन्तरिक शक्ति दिन्छ। (भज. १:१, २) के तपाईं पारिवारिक रूपमा एकसाथ बाइबल पढ्नुहुन्छ? ईश्वरतान्त्रिक सेवकाई स्कूल तालिकामा वर्षभरि हरेक हप्ताको लागि “बाइबल पढाइको थप तालिका” दिइएको छ। त्यसअनुसार चल्न परिवारले एकसाथ कम्तिमा १० मिनेट निकाले पुग्छ। बाइबल र दिनहुँ धर्मशास्त्र जाँच्नुहोस् छलफल गर्न बिहान चिया खाँदा, साँझ खाना खाइसकेपछि वा सुत्नु अघि कुन समय उपयुक्त हुन्छ, छान्नुहोस्। यसलाई आफ्नो परिवारको दैनिक रुटिनमा समावेश गर्नुहोस्।
३ हरेक हप्ता एकसाथ अध्ययन गरेर: पारिवारिक बाइबल अध्ययन परिवारले हप्ताभरि गर्ने कामको विशेषता हुनुपर्ने हो। परिवारका प्रत्येक सदस्यले उत्सुकतासाथ भाग लिएर अध्ययनलाई समर्थन गर्नुपर्छ। अध्ययन गर्ने विषयवस्तु, दिन र समय छान्नुका साथै अध्ययन कति बेर गर्ने आदिबारे व्यवस्था मिलाउँदा परिवारका शिरले परिवारका आवश्यकताहरू ध्यानमा राख्नुपर्छ। हप्ताभरि गरिने काममा पारिवारिक अध्ययनलाई पहिलो स्थानमा राख्नुहोस्। यसरी “बढी महत्त्वपूर्ण कुराहरूलाई पक्का” गर्नुहोस्।—फिलि. १:१०, ११, NW.
४ घरमा पनि अक्सर व्यापारसम्बन्धी फोन आइरहने हुँदा एक जना बुबाले पारिवारिक अध्ययनको बेला फोनको लाइन छुटाउँथे। ग्राहकहरू घरैमा आउँदा तिनीहरूलाई अध्ययनमा समावेश हुन आमन्त्रित गरिन्थ्यो वा अध्ययन नसकुञ्जेल पर्खन अनुरोध गरिन्थ्यो। पारिवारिक अध्ययनमा कुनै पनि कुराले बाधा नपुऱ्याओस् भनेर बुबा पक्का गर्न चाहन्थे। यसले गर्दा छोराछोरीमाथि अमेट छाप बस्यो। अनि तिनको व्यापारमा पनि उत्तरोतर प्रगति भयो।
५ आध्यात्मिक गतिविधिमा परिवारका सम्पूर्ण सदस्यले सहयोग गर्दा कत्ति रमाइलो हुन्छ! पारिवारिक बाइबल अध्ययनमा पूरापूर सहयोग गर्न हामीले विश्वासी भई प्रयास गऱ्यौं भने यहोवाको आशिष् पाउनेछौं।—भज. १:३.