पत्रिका रुटद्वारा चासो विकास गर्नुहोस्
१. चासो विकास गर्न हामी कसरी पत्रिका रुट चलाउन सक्छौं?
१ सेवकाईमा भेटिने थुप्रै व्यक्तिहरू हामीसँग कुरा गर्न अप्ठ्यारो मान्दैनन् र हाम्रा साहित्यहरू पनि खुसीसाथ स्वीकार्छन् तर नियमित रूपमा बाइबल अध्ययन गर्न भने हिचकिचाउँछन्। उनीहरूको चासो विकास गर्ने एउटा तरिका पत्रिका रुटद्वारा हो। पत्रिका प्रस्तुत गर्नुहुँदा पत्रिका लिने व्यक्तिको नाउँ तथा ठेगाना, तिनीसित भेट भएको मिति, तिनले राखेका अंकहरू अनि छलफल गरिएको शास्त्रपदका साथसाथै त्यस व्यक्तिलाई चासो लाग्ने कुरा याद गर्नुभयो भने लेखेर राख्नुहोस्। पत्रिकाको हरेक नयाँ अंक आउनसाथ पत्रिका रुटको व्यक्तिलाई मनपर्ने बुँदाहरू खोज्नुहोस् र तिनीकहाँ जानुहुँदा ती देखाउनुहोस्। (१ कोरि. ९:१९-२३) समयमा, हाम्रा पत्रिकाहरूमा पढेको कुनै न कुनै कुराले उनीहरूको चासो जाग्न सक्छ र अझ बढी सिक्न उनीहरूलाई घचघच्याउन सक्छ।
२. मानिसहरूले अहिल्यै यहोवाको खोजी गर्नु किन अत्यन्त जरुरी छ र उनीहरूलाई मदत गर्न हामी थप के गर्न सक्छौं?
२ यद्यपि, पत्रिका पढेकै भरमा मात्र अधिकांश मानिसहरू यहोवाका सेवकहरू बन्दैनन् भन्ने कुरा हामीलाई थाह छ। मानिसहरूले अहिल्यै यहोवाको खोजी गर्नु अत्यन्त जरुरी भएकोले उनीहरूलाई मदत गर्न हामी थप के गर्न सक्छौं? (सप. २:२, ३; प्रका. १४:६, ७) पत्रिका पुऱ्याउन गएपिच्छे होसियारीपूर्वक छानेको शास्त्रपद पढेर हामी उनीहरूको चासो विकास गर्न सक्छौं।
३. (क) हामी कसरी एउटा-शास्त्रपद चलाउने छलफल तयारी गर्न सक्छौं? (ख) तपाईंको इलाकाका मानिसहरू कुन कुरालाई लिएर बढी चिन्तित छन्?
३ एउटा-शास्त्रपद चलाउने छलफल: आफ्नो पत्रिका रुटका मानिसहरूबारे सोच्नुहोस् र हरेकको खास आवश्यकताअनुसार एउटा-शास्त्रपद चलाउने केही छलफल तयार पार्नुहोस्। (फिलि. २:४) उदाहरणका लागि, यदि कसैले मृत्युको कारण हालै आफ्नो प्रियजन गुमाएको छ भने, पुनःभेटमा गएपिच्छे मरेका मानिसहरूको अवस्था र पुनरुत्थानको आशाबारे बाइबलले के भन्छ त्यस विषयमा छलफल गर्न सक्नुहुन्छ। एउटा-शास्त्रपद चलाउने छलफलको लागि तयारी गर्न रीजनिङ पुस्तकको “मृत्यु” र “पुनरुत्थान” भन्ने प्रमुख विषयअन्तर्गतको विषयवस्तु चलाउन सकिन्छ। त्यसपछि बिरामी, वृद्धावस्था र मृत्यु कसरी पूर्णतया नामेट हुनेछन् भन्ने जस्ता सम्बन्धित विषयहरूमा थप छलफल गर्न सकिन्छ। हाम्रो लक्ष्य भनेको त्यस व्यक्तिको चासो जगाउने विषय पत्ता लगाउनु र त्यसबारे बाइबलमा के भनिएको छ सो क्रमिक रूपमा देखाउनु हो।
४. शास्त्रपदहरू चलाउँदा त्यसबारे अरूलाई बुझ्न मदत गर्नु किन महत्त्वपूर्ण छ र हामी कसरी यसो गर्न सक्छौं?
४ बुझ्न मदत गर्नुहोस्: साधारणतया यस्तो छलफल सरल अनि संक्षिप्त हुनु राम्रो भए तापनि छानिएको शास्त्रपद पढ्नु मात्र पर्याप्त छैन। मानिसहरूले सुसमाचार नबुझोस् भनेर शैतानले उनीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिएको छ। (२ कोरि. ४:३, ४) बाइबलबारे थाह भएका मानिसहरूलाई समेत बाइबलका कुराहरू बुझ्न मदत चाहिन्छ। (प्रेरि. ८:३०, ३१) तसर्थ, ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भाषण दिनुहुँदा जस्तै गरी पदबारे व्याख्या गर्न र त्यसलाई उदाहरण दिएर बुझाउन समय निकाल्नुहोस्। (प्रेरि. १७:३) मानिसहरूले आफ्नो जीवनमा परमेश्वरको वचनको व्यावहारिक महत्त्व बुझेका छन् कि छैनन् सो पक्का गर्नुहोस्।
५. पत्रिका रुट भेटले कसरी बाइबल अध्ययनको रूप लिन सक्छ?
५ यदि कुनै मानिसलाई आफूले सिकिरहेको कुरा मनपऱ्यो भने, पुनःभेट गरेपिच्छे दुई वा तीनवटा बाइबल पद समावेश गर्न बिस्तारै छलफलको समयावधि बढाउनुहोस्। चाहनुहुन्छ पुस्तिका अथवा ज्ञान पुस्तक प्रस्तुत गर्ने मौका खोज्नुहोस्। यस प्रकार, पत्रिका रुट भेटले अन्तमा बाइबल अध्ययनको रूप लिन सक्छ।